|

काठमाडौँ : २३ दिन लामो पैदल यात्रापछि फागुन १० गते काठमाडौँ आएका मिटरब्याज पीडितहरू निरन्तर आन्दोलनरत छन्। आन्दोलनमा हुँदा समेत साहुमहाजनले पैसा कहिले दिने भन्दै फोन आउने गरेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्।

एकातिर सरकारले अहिलेसम्म सुनुवाइ नगरेको पीर छ त अर्कोतिर साहुको फोनको चिन्ता।

अब जेसुकै भए पनि मिटरब्याज पीडितहरू न्याय नपाएसम्म काठमाडौँ नछाड्ने अडानमा छन्। खाली खुट्टामा हिँड्दा उठेका ठेला फुटेर बनेका घाउबाट रगत बगाउँदै भए पनि दैनिक काठमाडौँमा प्रदर्शन गरिरहेका छन्। सरकारी टोलीसँग दुईपटकसम्म वार्तामा बसे पनि सफल हुन सकेको छैन।

काठमाडौँ आएका अधिकांश मिटरब्याज पीडितहरू गाउँकै साहुमहाजनबाट लिएको ऋणले उठिबास बनाएको भन्दै सरकारसँग जाली तमसुक खारेज गर्न माग गरेका छन्। अधिकांश पीडितले ऋण लिएको ४ देखि ६ वर्षमा दोब्बर तेब्बर ऋण पुग्ने र हरेक वर्ष बुझाउँदा पनि ऋण नघट्ने उल्टै साहुले घरजग्गा लुट्ने गुनासो गर्दै आएका छन्।

उनीहरूले साहुले जाली तमसुक बनाएर भएको एक कट्ठा जमिन समेत हडपेकाले न्यायका लागि काठमाडौँ आएको तर सरकारको पारा देख्दा न्याय पाउने आशा मरेको बताए। उनीहरूले ऋणको दोब्बर पैसा फिर्ता गर्दा पनि साहुले जग्गा खाने र जग्गा फिर्ता माग्दा उल्टै ऋण लिएको भन्दा बढी पैसा माग्ने गरेको गुनासो छ।

आन्दोलनमा सहभागी दाङका मिटरब्याज पीडितले राज्यले पीडितको माग सम्बोधनभन्दा पनि राजनीति गर्ने काम भइरहेको बताए। उनले काठमाडौँ आएर ढोका ढकढकाए पनि न्याय पाउने अवस्था नदेखिएको दाबी गरे। पीडितले सरकारसँगको वार्तामा पनि विभिन्न पार्टीको खेल भइरहेको बताए।

उनले वार्ताको माध्यमबाट समस्याको समाधान नहुने भएकाले न्याय पाउने आशा मर्दै गएको बताए। पीडितले न्याय पाउने आशाले बसिरहेको भन्दै खानेबस्ने खर्चले पिरोलेको बताए। तैपनि न्याय नपाएसम्म काठमाडौँ नछोड्ने उनले बताए।

सुनसरीका मिटरब्याज पीडित बेलाल अनसारीले पूर्व मेचीदेखि पैदल हिँडेर काठमाडौँ आएको ३२ दिन भएको र स्वास्थ्यमा समस्या देखिन थाल्दा समेत सरकारले बेवास्ता गरेको दुखेसो पोखे। उनले काठमाडौँमा बस्न धेरै समस्या रहेको गुनासो गरे। उनले मिटर ब्याज पीडितले यति धेरै कष्ट भोग्दा पनि सरकारले समस्या बुझ्न नचाहेको बताए।

उनले आन्दोलनमा हुँदा समेत पैसा कहिले दिने भन्दै साहुमहाजनको फोन आउने गरेको जानकारी दिए। अनसारीले सरकारले मिटरब्याज पीडितलाई दिने न्यायको सन्देश लिएर मात्रै आउने जवाफ दिएको बताए।  

मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता शत्रुधन कुशवाह यादवले सरकारले मिटरब्याज पीडितको माग सम्बोधन गर्न आनाकानी गरिरहेको बताए। उनले सरकारले ६ बुँदे माग सम्बोधन गरे पीडितहरू तत्काल घर फर्कने जानकारी दिए। उनले पीडितहरूको सरकारसँग धेरै ठूलो माग नभएको भन्दै जाली तमसुक खारेज, बढी लगेको पैसा फिर्ता लगायतमा माग रहेको स्पष्ट पारे।

सिराहा जिल्लाका तिलकबहादुरको पनि उस्तै गुनासो छ। उनले पनि न्याय माग्न काठमाडौँ आएको र न्याय नपाएसम्म घर नफर्कने बताए। न्याय पाउने आशाले अगुवाहरूसँगै आएको बताए।

त्यसैगरी कैलाली टीकापुरकी लक्ष्मी शाहले मिटरब्याजीले घरजग्गा लिलाम गरेकाले न्यायका लागि आन्दोलनमा आएको बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.