बैठकमा डेढ सय बढी सहभागी हुने

|

काठमाडौं : नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य र ७५ जिल्लाका इन्चार्जहरु काठमाडौं आएका छन्। दुई चरणमा सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा र आउने निर्वाचनको योजना निर्माणका लागि नेकपा माओवादी केन्द्रले साउन दुई गतेदेखि आयोजना गरेको केन्द्रीय सचिवालयको बिस्तारित बैठकका लागि जिल्लाबाट इन्चार्जहरु काठमाडौं आउने क्रम शुरु भएको हो।

९९ जना सचिवालय सदस्य र जिल्ला इन्चार्जहरु गरी १५० जना सचिवालय बैठकमा सहभागी हुने पार्टी कार्यालयका मुख्य सचिव प्रल्हाद बुढाथोकीले जानकारी दिए। कतिपय जिल्ला इन्चार्जहरु सचिवालय सदस्य र कतिपय पोलिटव्यूरो सदस्य हैसियतका छन्। 

बैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचन पछि बसेको माओवादी केन्द्र हेडक्वार्टर समितिको वैठकले पार्टीको अपेक्षा अनुरुप नै नतिजा आएको निष्कर्ष निकालेको थियो। दोस्रो चरणको निर्वाचन पछि बसेको माओवादी केन्द्रको बैठकले निर्वाचनमा माओवादीको पक्षमा जनलहर सिर्जना हुन नसकेको हुनाले अपेक्षाकृत नतिजा नआएको निष्कर्ष निकालेको थियो।

त्यसैगरी, पार्टी र संगठन पद्धतिगत ढंगले परिचालन नभएको, कतिपय स्थानमा अन्तर्घात भएको, एकीकृत र प्रभावकारी ढंगले चुनावी अभियान सञ्चालन गर्न नसकेको र बिरोधीले छरेका भ्रम चिर्न नसकेको जस्ता कारणले चुनावमा सोचेजस्तो प्रतिफल पाउन नसकेको माओवादी वैठकको निष्कर्ष थियो। पहिलो चरणमा चुनाव भएका २८३ स्थानमध्ये ४६ स्थानमा र दोश्रो चरणमा चुनाव भएका ३३४ स्थान मध्ये ३८ स्थान गरी जम्मा ८४ स्थानमा जित हात पारेको थियो।

असार तेस्रो साता पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा बसेको हेडक्वार्टर बैठकले चुनावमा अपेक्षाकृत नतिजा नआएपछि जिल्ला इन्चार्जहरु सहितको बिस्तारित बैठक आयोजना गरेर गम्भीर समीक्षा गर्नुपर्ने निर्णय नै गरेको थियो।

के के छन् एजेन्डा?

तीन दिनसम्म बस्ने भनिएको सचिवालयको बिस्तारित बैठकमा भएको चुनावको समीक्षा र आउने चुनावको लागि योजना बनाइने हेडक्वार्टर सदस्य तथा ४ नं. प्रदेशका सदस्य देव गुरुङले जानकारी दिए।

समीक्षाका साथै संगठन निर्माण र परिचालनलाई कसरी लैजाने भन्ने बिषयमा छलफल गरिने पार्टी कार्यालयका मुख्य सचिव वुढाथोकीले बताए। उनले भने ‘दुई नम्बर प्रदेशको स्थानीय निर्वाचन, प्रदेश निर्वाचन लगायतका आउने चुनावका लागि निर्वाचन परिचालन समिति बनाउने र चुनावी नतिजा राम्रो बनाउनका लागि योजना निर्माण गरिनेछ।’

बैठकमा अध्यक्ष प्रचण्डले लिखित प्रस्ताव पेश गर्ने नगर्ने बारे केही छलफल नभएको बुढाथोकीले बताए। सोमबार बिहान ११ बजे पार्टी कार्यालय पेरिशडाँडामा बस्ने बैठकमा सुझाव पेश गर्न धेरैजसो जिल्लाबाट इन्चार्ज र मुख्य नेताहरु काठमाडौं आएका छन्। कतिपय भने आउने क्रममा नै छन्। बैठकमा सहभागीको लागि खाने बस्ने व्यवस्था स्वयं आफैले गर्नुपर्ने माओवादीले बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.