शिक्षक महासंघ भन्छ : त्यस्तालाई कारबाही गर्नुपर्छ

|

काठमाडौँ : पछिल्लो समय प्रविधिको विकाससँगै वार्षिक परीक्षामा नयाँ शैलीबाट चिट चोर्ने गरेकाे पाइएको छ। पहिला कापीमा चिट लेखेर लैजाने गरिएकोमा अहिले भने मोबाइलको माध्यमबाट चिट चोर्ने गरिएको फेला परेकाे हाे। 

कक्षा-१२ को परीक्षा वैशाख १४ गतेदेखि देशैभर एकैसाथ यतिखेर चलिरहेको छ। यही वेला फेसबुक म्यासेन्जरमा ग्रुप बनाए चिट चोर्ने गरेको फेला परेको छ। विद्यार्थीको अनैतिक कार्यमा शिक्षकहरूले प्रमुख साथ दिइरहेका छन्।

दाङको तुलसीपुर उपमहानगरपालिकाले परीक्षा केन्द्रको अनुगमन गरेका वेला परीक्षा हलबाट पहिलो चरणमा २४ वटा मोबाइल बरामद गर्‍याे। तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले भने, ‘दोस्रोपटक अनुगमन गर्दा २ वटा मोबाइल बरामद गर्‍याैँ’, उनले भने, ‘समाचारमा आए जस्तो ४३५ मोबाइल बरामद गरिएको होइन,यो चाहिँ अतिरञ्जित गर्न खोजियो, खासमा २६ वटामात्रै बरामद गरिएको हो।’

उनका अनुसार अनुगमनको क्रममा शिक्षकहरूले नै फेसबुक म्यासेन्जरमा ग्रुप बनाई प्रश्नका उत्तर पठाउने गरेको फेला परेको छ। त्यस ग्रुपमा परीक्षार्थीलाई समेत जोडिएको छ। 

‘परीक्षार्थीहरूले उक्त म्यासेन्जर ग्रुपमा शिक्षकहरूले पठाएको प्रश्न उत्तरपुस्तिकामा सारिरहेका थिए, त्यही वेला हामीले फेला पार्‍यौँ’, उनले भने। उनका अनुसार ज्ञानज्योति मावि, महेन्द्र मावि, गुरुजजुर मावि लगायत परीक्षाकेन्द्रबाट म्यासेन्जरमा चिट चोर्दाचोर्दै मोबाइल बरामद गरिएको हो। उनले परीक्षा नसकुञ्जेल अनुगमनलाई तीव्र बनाउने जानकारी दिए।

१२ को परीक्षाका वेलामात्र नभई यसअघि भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पनि म्यासेन्जर ग्रुप नै बनाएर चिट चोर्ने काम भएको थियो। खोटाङमा एसइई परीक्षामा म्यासेन्जर ग्रुप बनाएर चिट चोरिरहेका तीनजना परीक्षार्थीलाई प्रहरीले नियन्त्रण लिए परीक्षाबाटै निष्काशन गरेको थियो।

प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की र डिएसपी पुरुषोत्तम खड्का लगायतले अनुगमन गर्दा उनीहरूले म्यासेन्जरमा ‘क्लास टेन एसइई ग्रुप’ बनाई मोबाइलबाट प्रश्नपत्रको फोटो पठाउने र बाहिरबाट उत्तरको फोटो आएपछि उत्तरपुस्तिकामा लेख्ने गरिरहेका थिए।

२ जना शिक्षकलाई कारबाही

तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख भण्डारीले त्यसरी म्यासेन्जर ग्रुप बनाएर चिट चोराउने दुईजना शिक्षकलाई कारबाही भइसकेको जानकारी दिए। ‘ग्रुप बनाएर प्रश्नको उत्तर लेख्ने दुईजना शिक्षकलाई प्रमाणसहित कारबाही भइसकेको छ’, उनले भने। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने कक्षा १२ को परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार यो वर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार ९१४ छात्रा र एक लाख ९३ हजार ९३३ जना छात्र गरी तीन लाख ९० हजार ८४७ परीक्षार्थी सहभागी छन्। 

त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख ६५० विद्यार्थी सहभागी छन्। परीक्षाका लागि बोर्डले देशभर एक हजार ५२५ परीक्षा र देशबाहिर जापानमा एक गरी कुल एक हजार ५२६ परीक्षा केन्द्रमा निर्धारण गरेको छ।

किन शिक्षक र विद्यार्थीले अपनाउँदै छन् यो शैली ?

तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख भण्डारी शिक्षकहरूले नै यसरी चिट चोराउन सहयोग गर्ने गरेकाले परीक्षा तयारीभन्दा पनि यस्तो कार्यमा ध्यान दिएको बताउँछन्।

उनले भने, ‘नपढे पनि यसरी चोर्दा राम्रो नतिजा आउँछ, शिक्षकहरूले पनि सहयोग गर्छन् भन्ने विद्यार्थीहरूको मानसिकता भयो, शिक्षकहरूले नै पढाउनुभन्दा यस्तै अमर्यादित काम सिकाउने गरे। त्यसैले पछिल्लो समय चिट चोर्न यस्तो शैली अपनाएका छन्,यस्तो काम तुरुन्त बन्द गरिनुपर्छ।’

उनका अनुसार विद्यालयलाई गुणस्तरीय र धेरै विद्यार्थीलाई पास गराएर चर्चा कमाउन पनि शिक्षकहरू यस्तो काम  गर्छन्। ‘केहीले त विद्यार्थीहरूसँग आर्थिक डिल नै गरेर पनि सहयोग गरेका होलान्’‚ उनले भने। 

परीक्षामा नक्कली विद्यार्थी खडा

केही विद्यालयका प्रधानाध्यापकहरूले भने कक्षा १२ को परीक्षामा नक्कली विद्यार्थी खडा गरी परीक्षा दिलाउन खोजेको पाइएको छ। त्यही आरोपमा धुम्बाराहीस्थित प्रोलिफिक इङलिश बोर्डिङ सेकेण्डरी स्कुलका प्रिन्सिपल गोपालबहादुर महतलाई प्रहरीले पक्राउ परिसकेको छ। 

उनलाई आफ्नै विद्यालयबाट नक्कली परीक्षार्थी खडा गरेर कक्षा १२ को परीक्षा दिलाउन खोजेको आरोप छ। परीक्षाका लागि आफ्नो भाइ सहित ५ जनाको नाममा नक्कली परीक्षार्थी खडा गरेको पाइएको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएको थियो। लोकबहादुर भण्डारीले स्कुलले आफ्नो फोटोको दुरुपयोग गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए।

शिक्षक महासंघ भन्छ : गैरकानुनी काम गर्नेलाई कारबाही गर्नुपर्छ 

नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले शिक्षकहरूले फेसबुक म्यासेन्जर ग्रुप बनाई चिट चाेराउने जस्ताे गैरकानुनी काम गर्न नहुने र त्यस्तो काम नगर्न आग्रह गरे।

उनले भने, ‘यो सरासर बदमासी हो, यस्तो गैरकानुनी काम गर्नुहुँदैन,बरु विद्यार्थीहरूलाई शिक्षकले राम्रोसँग कक्षाकोठामा सिकाउने हो।’ यसरी गैरकानुनी काम गर्ने शिक्षकहरूलाई कानुन अनुसार कारबाही हुनुपर्ने उनले माग गरे।  

बोर्डले भन्यो : मोबाइल प्रयोग गरे कारबाही

राष्ट्रिय परीक्षा बोर्डले अहिले भइरहेको कक्षा १२ परीक्षामा मोबाइलको प्रयोग गरेको पाएपछि अबदेखि त्यस्तो कार्य नगर्न निर्देशन दिएको छ। त्यसरी अनियमित काम गर्ने परीक्षार्थीहरू समेतको मोबाइल जफत गरी कारबाही गर्ने चेतावनी दिएको छ।

बोर्डका अनुसार १२ को वार्षिक परीक्षालाई मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गर्न परीक्षा हलमा केन्द्राध्यक्षबाहेक अन्य कसैलाई पनि मोबाइल लैजान पूर्णतः निषेध गरिएको छ।

सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘निषेध गरिएकोमा निर्देशनविपरीत केही परीक्षा केन्द्रमा मोबाइलको अनधिकृत प्रयोग भएको पाइएकाले त्यसतर्फ बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ।’ केही परीक्षा केन्द्रमा मोबाइल प्रयोग गरी अनियमित काम गर्ने परीक्षार्थी समेतको माेबाइल जफत गरी कारबाही गरिएको बोर्डले जनाएको छ।

‘अब उप्रान्तसमेत परीक्षा केन्द्रमा मोबाइल लैजान पूर्णतः निषेध गरिएको ब्यहोरा सम्बन्धित सबैका लागि जानकारी गराइएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न तहबाट हुने अनुगमनका क्रममा परीक्षाको मर्यादाविपरीत कसैले मोबाइल साथमा राखेको वा प्रयोग गरेको पाइएमा नियमानुसार कारबाही हुने ब्यहोरा पुनः जानकारी गराइएको छ, साथै केन्द्राध्यक्षज्यूहरूले सोहीअनुसार गर्न गराउनुहुन निर्देशन गरिन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.