काठमाडौं : कुनै व्यक्तिले आफैँले बनाएको मन्दिरमा पस्न पाएन भने के हुन्छ? कसैको शुभसाइतका लागि दमाहा बजाउने व्यक्तिमाथि तल्लोस्तरको व्यवहार गरिन्छ भने के हुन्छ? मान्छेलाई जातकै आधारमा सम्मान नदिँदा के हुन्छ?
स्वाभाविक रूपमा विद्रोह सुरू हुन्छ/हुनुपर्छ। तर, वर्षौँदेखि जातीय विभेद भोगेका व्यक्तिहरू आफूमाथिको विभेदलाई स्वीकार गर्न विवश बने। उनीहरूलाई यो विभेद हो भन्ने नै चेतनासमेत भर्न दिइएन।
नेपालमा जात व्यवस्था कालान्तरमा विभेदको व्यवस्थामा स्थापित बन्यो। फलस्वरूप नेपाली समाज सभ्य समाजको चिनारीबाट विमुख हुनु परेको छ।
समय उस्तै रहेन। देशमा जातीय विभेदको ठूला ठूला बहस भए/ भएका छन्। कानूनले पनि विभेदलाई बर्जित गरेको छ। आजको दिनमा जातीय विभेद रोक्न केही हदसम्म समाजमा सकारात्मक परिवर्तनको नयाँ सिरा देखा परे पनि, विभेद पूर्णरूपले हटिसकेको भने छैन।
एउटा मान्छे जन्मका आधार उच्च र नीच हुन सक्दैन। यही विषयलाई समेटेर जेठ १० गते नेपाली सिनेमा पुजार सार्की प्रदर्शन हुँदैछ। सिनेमाका लेखक विकास सुवेदी भने यो सिनेमाले जातीय विभेद हटाएर समतामूलक समाजको निर्माणमा नयाँ ‘डिस्कोर्स’ तयार पार्न भूमिका खेल्ने सुनाउँछन्।
बिहीबारको बिहानको भेटमा सुवेदीले पुजार सार्कीको लेखन र यसका पछाडिको रहस्य सुनाए।
पोखराको उत्तरी क्षेत्रमा पर्छ, कास्कीकोट। धेरै वर्ष पहिले त्यहाँ कोही व्यक्ति ब्राह्मण समुदायमा जन्म लिए। जात व्यवस्था नै कसैलाई हेप्न बनाइएको हो सोच्ने ती व्यक्तिले आफूलाई मन परेकी दलित युवतीलाई बिहे गरे।
समाजले उनको थर फेरिदयो। उनी ब्राह्मणबाट पुजार सार्कीमा परिणत भए। उनको जीवनको उतारचढाव देखेका सुवेदीले पुजारको यो कदमलाई सभ्य समाजको निर्माणका लागि ठूलो विद्रोह देख्छन्।
'जुन चेतनाबाट म हुर्केँ। त्यसबेला पुजारको उक्त कामलाई मैले महत्त्व दिइनँ। समाजको धरातलीय अवस्था र आफ्नो विस्तार ज्ञान र विवेकले हेर्दै जाँदा म पुजारप्रति एकदमै प्रभावित बन्दै गएँ।' तत्कालीन समयमा समाजले पुजारको विद्रोहलाई कसरी बुझ्यो भन्दा पनि आजको दिनमा समाजको बहुसंख्यक मानिसहरूले कसरी बुझ्छन् भन्ने कुरा महत्त्वपूर्ण रहेको बताउँछन् उनी।
कास्कीलाई कुलमण्डन शाहको राज्य तथा कश्यप ऋषिको तपोभुमिका रूपमा चिनिन्छ। तर, त्यही स्थानमा जन्मिएका पुजारले तत्कालीन समयमा विद्रोह गरेको कुरा हामीले भुल्ने नहुने उनले सुनाए। सभ्य समाजको निर्माण पुजारहरूको पनि भूमिका ऐतिहासिक छ। कास्की पुजारको जिल्ला पनि हो भन्ने चिनाउन पनि यो सिनेमा निर्माण गरेको सुवेदीले बताए।
नेपालमा राणाशासनको युग सकियो। पञ्चायत सकियो। विस्तारै राजाको युग पनि समाप्त भयो। गणतन्त्रमा प्रवेश गरिसक्दा पनि दलितले खेप्नुपर्ने विभेदका बाछिटा सुक्न सकेका छैनन्। ठूला ठूला राजनीतिक आन्दोलनमा दलितका मुद्दा उठाइएको छ। जसले केही जागरणको काम त गर्यो तर अहिले दलितको मुद्दा दलितको मात्र हो भन्ने नयाँ भाष्य निर्माण हुन थालेको छ। 'यो दलितको समस्या हो त ?’, सुवेदी प्रश्न गर्छन्?
सभ्य, मानवीय तथा समतामूलक समाजको निर्माण गर्ने हो भने जातीय विभेद हामी सबैको सामूहिक मुद्दा हो। जबसम्म हामीले जातीय विभेदको मुद्दालाई यो दृष्टिकोणबाट हेरिँदैन, तबसम्म दलित मुक्तिको कुराको अन्त्य हुन नसक्ने उनको बुझाइ छ।
कुनै पनि मुद्दामा लेख्दा उक्त विषयको उठान, उडान र अवतरण मुख्य चुनौती हुने गर्दछ। यस विषयमा आफूले सक्दो मिहीन ढंगले अध्ययन गरेको पनि सुवेदीको भनाइ छ।
'यो विषयमा सिनेमा बन्ने भएपछि दलित आन्दोलनमा लागेको धेरै अध्येताहरूलाई भेटेको छु। उहाँहरूले यो सिनेमालाई मन पराइदिनुभएको छ। मैले उठाउन खोजेको मुद्दा ठीक रहेछ भन्ने लागेको छ’, उनले भने।
यसअगाडि सुवेदीले कर्णालीको कथामा आधारित 'प्रकाश’ सिनेमा लेखेका थिए। यसपाली भने आफ्नै घर गाउँको कथालाई सिनेमामा समेटेका छन्। पुजार सार्की सिनेमाका लागि नभइ पुस्तकका लागि लेखेका थिए उनले। अन्ततः सिनेमा बनेको उनले सुनाए।
पुस्तक लेखकको माध्यम हो भने सिनेमा निर्देशकको माध्यम हो। कल्पनामा दृश्य निर्माण गर्नु सबैभन्दा सहज काम हो। जसमा कुनै प्रविधिको प्रयोग गर्नुपर्दैन। तर सिनेमा प्रविधिले निर्माण गर्ने विषय रहेका लागि जटिल काम हो। लेखकले निर्माण गरेको दृश्य ठ्याक्कै प्रविधिमा अटाउन नसकिने सुवेदीले बताए।
'लेखकले भन्न खोजेको कुरा सिनेमाको केन्द्रमा भएकाले खुशी छु। मेरो शब्दले दृश्य प्राप्त गरेको छ। यसमा निर्देशक दिनेश राउतले एकदमै धेरै मिहिनेत गर्नुभएको छ’, सुवेदीले भने। सिनेमाका लागि निर्माता सुवास भुसालले ठूलो भूमिका खेलेको सुवेदीले सुनाए।
सिनेमा वैचारिक हिसाबले ‘ह्याप्पी इण्डिङ’ हो भने चरित्रहरूको जीवनमा के कस्तो फेरबदल आए भन्ने कुरा चाहिँ सिनेमा नै हेर्नुपर्ने उनले बताए। गण्डक क्षेत्रको भाषाशैलीलाई सिनेमामा अटाइएको छ। कास्कीकोटमा नै सिनेमा खिचिएको छ। कथा भने २०४६ साल अगाडिको हो।
सारमा यो कुनै एक स्थानको एक व्यक्तिको कथा नभइ जातीय विभेदले आक्रान्त नेपाली समाजको साझा कथाका रूपमा बुझ्न सुवेदी आग्रह गर्छन्। पुरातनवादी सोचमा जकडिएको समाजमा पुजारहरूले कसरी विद्रोह गर्छन् र विभेद हटाउन उनीहरूले कस्ता कस्ता मूल्य चुकाएछन् भन्ने कुरा पनि सिनेमामा देखाउन खोजेको उनले बताए।
आर्यन सिग्देल, प्रदीप खड्का, अञ्जना बराइली, परीक्षा लिम्बुलगायत कलाकारको अभिनय रहेको सिनेमाको केही दिन अगाडि ट्रेलर सार्वजनिक भएको थियो। त्यहाँकोएक अंश-
'आजट यो मन्दिराँ कुनै दमाइले दमाहा बजाउँदैनन्। तिमीहरूका पुजाँ गर्न हामीले शुभसाइत अर्दिन पर्नी? व्यवस्था बद्लो..., यिनका ठूला जाता ध्वाँस।'
तपाईंको ईमेल गोप्य राखिनेछ ।