|

दमौली : तनहुँको दमौलीस्थित बुल्दीखोलामा आज आयोजित बृहत् सरसफाइ अभियानमा नेपाली सेनाको टोली एक हजार केजीभन्दा बढी फोहर सङ्कलन गरी प्रथम भएको छ। 

युवा अभियान्ता सुदीप गफ्फारको सक्रियतामा सञ्चालित सरसफाइ अभियानमा धेरै फोहर सङ्कलन गर्ने व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) लाई पुरस्कृत गरिएको छ।
    
व्यास नगरपालिका–१ करङकाठदेखि व्यास नगरपालिका–३ सेतीबुल्दी दोभानसम्म भएको सरसफाइ अभियानमा सेनाले एक हजार २४ किलो फोहर सङ्कलन गरेको थियो। त्यस्तै व्यास नगरपालिका–२ स्थित पुलजीप टोल विकास संस्थाले नौ सय ४० दशमलव सात किलो फोहर सङ्कलन गरी दोस्रो स्थान हासिल गरेको छ। 

प्रथम भएको समूहलाई नगद १० हजार र प्रमाणपत्र तथा दोस्रो भएको समूहलाई नगद पाँच हजार र प्रमाणपत्र प्रदान गरिएको छ। विद्यालयस्तरीय बालबालिकाबीच भएको उक्त प्रतिस्पर्धामा न्यू मनकामना बोर्डिङ स्कूल प्रथम र कन्काइ ग्लोबल एकेडेमी दोस्रो भएको छ । 

मनकामनाका विद्यार्थी समूहले छ सय ४५ दशमलव नौ  र कन्काइका विद्यार्थी समूहले पाँच सय १६ दशमलव नौ किलो फोहर सङ्कलन गरेका थिए। उनीहरुलाई क्रमशः चार हजार र दुई हजार नगद प्रदान गरियो। त्यसक्रममा कूल ५४ समूहको सहभागिता रहेको थियो ।

बुल्दीखोला दिनप्रति दिन प्रदूषित बन्दै गएकाले सरसफाइ अभियान सञ्चालन गरिएको अभियान्ता गफ्फारले जानकारी दिए। खोला सरसफाइसँगै प्रतियोगिात्मक रुपमा सञ्चालन गरिएको यस अभियानले सरसफाइ गर्नुपर्छ भन्ने सन्देश दिन खोजिएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.