यो बर्खामा पनि आउने छैन पानी
यो बर्खामा पनि आउने छैन पानी
काठमाडौँ : मेलम्ची खानेपानी आयोजनाको दातृनिकाय एसियाली विकास बैंक (एडीबी)ले दीर्घकालीन व्यवस्थापनका लागि सरकारलाई मेलम्ची खानेपानीको हेडवर्क्स सार्न सुझाव दिएको एक वर्ष पुग्न लागेको छ। एडीबीले मेलम्ची आयोजनाको सम्भावित जोखिमबारे दुई वर्ष समय लगाएर अध्ययन गरेपछि गत असोजमै अहिले भएको ठाउँभन्दा करिब एक किलोमिटर माथि सार्न सुझाव दिएको थियो।
एडीबीको प्रारम्भिक रिपोर्टले २०७९ जेठमै हेडवर्क्स सार्नुपर्ने देखिएको जनाएको थियो तर हालसम्म सरकारले सार्ने वा नसार्ने निर्णय लिन नसक्दा अन्योल छाएको छ। जसकारण अब कहिलेदेखि दीर्घकालीन रूपमा मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा आउँछ भन्ने यकिन छैन।
मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले सरकारले अहिलेसम्म केही निर्णय नलिँदा हेडवर्क्स सार्न केही प्रक्रिया अघि बढ्न नसकेको जानकारी दिए।
हाल अस्थायी रूपमा खानेपानी आइरहेको छ। आयोजना प्रमुख रत्न लामिछानेका अनुसार हाल मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी उपत्यकामा आइरहेको छ। कहिलेकाहीँ १८ करोड लिटरसम्म पनि आउने गरेको छ।
‘हेडवर्क्स’ तत्काल नसार्न संसदीय उपसमितिको सुझाव
यता संसद्को पूर्वाधार विकास समितिअन्तर्गतको खानेपानी उपसमितिले भने तत्काल मेलम्ची खानेपानीको हेडवर्क्स नसार्न सुझाव दिएको छ। राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको अनुगमन गरेको थियो।
उपसमिति संयोजक प्रतिनिधिसभा सदस्य उर्मिला माझीको नेतृत्वको टोलीले आयोजनाको हेडवर्क्स र अन्य संरचनाको स्थलगत निरीक्षण गरी आयोजनालाई सुझाव दिएको हो। संयोजक माझीले विस्तृत अध्ययन नगरी तत्काल हेडवर्क्स सार्ने निर्णयमा नपुग्न सुझाव दिएको बताइन्।
आयोजनाको लागत खर्च बढिरहेको, बाह्रै महिना काठमाडौँमा पानी पठाउन सक्ने अवस्था नरहेको, लार्के र याङ्ग्रीको पानी तत्काल आउने सम्भावना पनि नदेखिएको अवस्थामा हेडवर्क्स सार्न हतार गर्नुभन्दा पुरानै हेडवर्क्सलाई पुनः सञ्चालनमा ल्याउन थप उपायको खोजी गर्नु उचित हुने सुझाव टोलीले दिएको सांसद माझीले बताइन्।
समिति भन्छ : दीर्घकालीन रूपमा ल्याउन हेडवर्क्स सार्नुपर्छ
मेलम्ची खानेपानी विकास समितिले भने उपत्यकामा दीर्घकालीन रूपमा मेलम्चीको पानी ल्याउन हेडवर्क्स सार्नुपर्ने जनाएको छ। समितिले खानेपानी उपसमितिले तत्काल मेलम्ची खानेपानीको हेडवर्क्स नसार्न दिएको सुझाव खास अर्थ नरहेको टिप्पणी गरेको छ।
समितिका प्रवक्ता पन्त भन्छन्, ‘खानेपानी उपसमितिले बाहिर हेरेर हेडवर्क्स नसार्न सुझाव दिएको हो तर एडीबीले लामो समयसम्म विज्ञहरूद्वारा अध्ययन गरेर हेडवर्क्स सार्न सुझाव दिएको हो, तैपनि जोखिम चाहिँ छ।’
एडीबीले गरेको अध्ययनमाथि सरकारले पुनः अध्ययन गरेको थियो। यसका लागि पुल्चोक इन्जिनियरिङ क्याम्पसलाई पठाइयो। उक्त अध्ययनले पनि हेडवर्क्स सार्नुपर्ने सुझाव दिएको उनको भनाइ छ। २०७८ सालमै मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढी पहिरोबारे एडीबीले अध्ययन गरेको थियो। ‘दीर्घकालीन रूपमा पानी ल्याउन हेडवर्क्स सार्नैपर्छ तर सरकारले हालसम्म केही निर्णय गर्न सकेन’, उनले भने।
आयोजना प्रमुख लामिछानेले पनि पहिलेको मुख्य द्वार र संरचना रहेको हेडवर्क्स सञ्चालन गर्दा जोखिम कायम हुने भएकाले नौ सय मिटरमाथिको सहज स्थानबाट मुहान बनाई सुरुङमार्फत मूल टनेलमा पानी पुर्याउने विषयमा सरकारलाई प्रस्ताव गरेको तर निर्णय नभएकाले कार्यान्वयन गर्न नसकिएको बताए।
खानेपानी मन्त्रालयका प्रवक्ता मीना श्रेष्ठले हालसम्म सरकारबाट केही निर्णय नआएको जानकारी दिइन्। ‘समितिसँगको छलफलमा हेडवर्क्स सार्ने भनेर सरकारलाई प्रस्ताव गरिएको थियो’, उनले भनिन्, ‘तर पछि केही जानकारी आएको छैन।’
पटक पटक पानी बन्द, यो बर्खामा पनि बन्द गरिँदै
मेलम्ची खानेपानी आयोजना शुरु भएको दुई दशक बितिसक्दा पनि उपत्यकावासीले अझै दीर्घकालीन रूपमा प्यास मेट्न पाएका छैनन्। सन् २००१ मा शुरु भएको आयोजना दुई दशकपछि अर्थात् पहिलोपटक २०७८ चैत १५ गते काठमाडौं उपत्यकामा पानी वितरण थालिएको थियो।
तर २०७८ साल असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुर्यायो। क्षति भएको ९ महिनापछि अर्थात् २०७९ वैशाख ११ गते अस्थायी रूपमा फेरि पानी काठमाडौं ल्याइयो।
सरकारले पहिला जस्तो बाढीबाट क्षति हुन नदिन भन्दै २०७९ जेठ १७ गते मेलम्चीको पानी ल्याउन बन्द गरेको थियो। बर्खा सकिएपछि पनि समयमा पानी आउन सकेन। बन्द गरेको ६ महिनापछि मात्र मेलम्चीको पानी काठमाडौं आयो। क्षति मर्मतपछि गत मंसिर २३ गतेदेखि पानी वितरण भएको थियो। फेरि मेलम्ची खानेपानी विकास समितिले गत बर्खामा पनि मेलम्चीको पानी ल्याउन संरचना मर्मत गर्ने भन्दै गत जेठ ५ गतेदेखि १५ गतेसम्म अर्थात् १० दिन पानी पठाउन बन्द गर्याे।
उक्त संरचना मर्मतपछि पानी उपत्यकामा आयो। विकास समितिले बर्खामा पनि पानी आउने जनाएको थियो तर क्षति हुन नदिन भन्दै पुनः बन्द गरियो। नभन्दै गत वर्षको बाढीले पनि आयोजनामा क्षति पुर्यायाे। क्षति मर्मतपछि अहिले भने पानी वितरण भइरहेको छ।
अब यो वर्षको वर्षात शुरु हुनुअगावै पुनः पानी बन्द गरिने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए। उनले भने, ‘अब दीर्घकालीन रूपमा व्यवस्था नभएसम्म अस्थायी रूपमा मात्रै पानी ल्याइने हो।’ यस वर्षको वर्षात शुरु हुन लागेको छ। उनको भनाइमा अब उपत्यकावासीले एक महिना मात्रै पानी पिउन पाउनेछन्।
वर्षेनि क्षति मर्मतमा १८ करोड खर्च
मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता पन्तका अनुसार अस्थायी रूपमा मात्रै ल्याउन मर्मतमा वर्षेनि ८ करोड रुपैयाँ सकिन्छ। दुईपटक क्षति मर्मतमा भने ३० करोड रकम खर्च भएको छ।
उनले भने, ‘पहिलोपटक बाढीले क्षति पुर्याएका वेला अस्थायी रूपमा मर्मत गर्दा १८ करोड सकियो, पछि भने कम क्षति भयो।’ उनका अनुसार गएको बर्खामा फेरि बाढीले आयोजनामा धेरै क्षति भयो। उक्त मर्मतमा करिब १२ करोड लाग्ने अनुमान गरिएको थियो। बारम्बार मर्मतमा करोडौँ खर्च लाग्ने भएकाले पनि दीर्घकालीन रूपमा ल्याउन कार्य अगाडि बढाउनुपर्ने समितिले जनाएको छ।
हेडवर्क्स सार्दा कति खर्च र समय लाग्छ ?
एडीबीको सुझावअनुसार हेडवर्क्स सार्नुपरे तीन वर्षभन्दा बढी समय लाग्ने मेलम्ची खानेपानी विकास समितिको अनुमान छ। मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता पन्तका अनुसार हेडवर्क्स बनाउँदा सुरुङ पनि थप्नुपर्छ। यसका लागि समय लाग्छ।
‘सरकारले निर्णय लिए पनि तत्काल भने बन्दैन, परामर्श गर्नुपर्यो। यसको लामो प्रक्रिया छ,चारपाँच महिना त अध्ययन गर्नै लाग्छ’, उनले भने। उनले लागतको विषयमा एक अर्बभन्दा बढी लाग्ने बताए। ‘पहिला हेडवर्क्स निर्माण गर्दा एक अर्ब खर्च भएको थियो, पुनः नयाँ बनाउन त सुरुङ थप्नुपर्छ। त्यसैले योभन्दा बढी लागत लाग्छ’, उनले भने।
तपाईंको ईमेल गोप्य राखिनेछ ।