छानबिन समिति गठन गरे पनि प्रतिवेदन सधैँ गुपचुप
छानबिन समिति गठन गरे पनि प्रतिवेदन सधैँ गुपचुप
काठमाडौँ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले पुनः उत्तरपुस्तिका हराएपछि गठन गरेको छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाइसकेको छ।
उक्त प्रतिवेदनमा परीक्षा नियन्त्रण कार्यालय बल्खु (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीसहित सह-परीक्षा नियन्त्रक र जिम्मेवार शाखा प्रमुखहरूलाई कारबाही गर्न सिफारिश गरिएको छ।
तर कारबाहीका लागि सिफारिश गरिएका व्यक्तिहरूलाई कारबाही नगरिने र प्रतिवेदन गुपचुप राखिनेमा सर्वत्र आशंका गरिएको छ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले मिति २०८० वैशाखमा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत जनसङ्ख्या तथा स्वास्थ्य विषय (कोड नं ४२२) र शिक्षा शास्त्र सङ्कायतर्फको शिक्षाको आधार विषय (कोड नं ४१२) का उत्तर पुस्तिका हराएका थिए।
त्यसपछि उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न त्रिविले विश्वविद्यालयका पूर्वरजिस्ट्रार प्राडा चन्द्रमणि पौडेलको संयोजकत्वमा ३ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो।
समितिलाई उत्तरपुस्तिका हराएको घटना के कसरी भएको हो भन्ने विषयमा विस्तृत छानबिन गरी ३० दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको थियो। सोहीअनुसार छानबिन सकेर समितिले प्रतिवेदन बुझाएको हो। उत्तरपुस्तिका हराएका विषयको चैत २१ गते पुनः परीक्षा त्रिविले लियो।
उच्च स्रोतले भन्यो, ‘परीक्षा लिएको १३ महिना बितिसक्दा पनि नतिजा प्रकाशन भएन, उल्टै उत्तरपुस्तिका हराएपछि त्रिविले परीक्षा लियो, यो जस्तो अरू गम्भीर लापरबाही के होला? यसमा परीक्षा नियन्त्रक, शाखा प्रमुख,सह-नियन्त्रकहरू जिम्मेवार रहन्छन्, यसमा उनीहरूले चरम लापरबाही गरेको पाइयो। त्यसैले उनीहरूलाई कारबाहीको लागि सिफारिश गरिएको छ।’
पटक पटक हराउँछन् उत्तरपुस्तिका तर प्रतिवेदन भने सधैँ गुपचुप
त्रिविमा उत्तरपुस्तिका हराएको घटना यो पहिलो भने होइन। बारम्बार उत्तरपुस्तिका हराएकै कारण अब त त्रिविमा यस्ता घटना सामान्य जस्तै बनिसकेको छ।
कतिपय त्यस्ता घटना गुपचुप नै राखिन्छ। यसअघि स्नातक तह प्रथम वर्षको ‘फाउन्डेशन अफ एजुकेशन ४१२’ विषयको उत्तरपुस्तिका हराएको थियो। त्यसपछि आन्तरिक छानबिन थालिए पनि बाहिर यसबारे कुनै जानकारी आएन।
गत कात्तिकको पहिलो साता भएको स्नातक तह बीए प्रथम वर्षको जनसङ्ख्या विषयको उत्तरपुस्तिका पनि हराएपछि छानबिन गर्न राजनीतिक शास्त्र केन्द्रीय विभागका प्रमुख ईश्वरी कँडेलको संयोजकत्वमा छानबिन समिति बनेको थियो।
त्रिविले उत्तरपुस्तिका हराएपछि माघ (२०७८) मा सञ्चालन भएको व्यवस्थापन संकायको बिबिएस चौथो वर्षको रिसर्च मेथोडोलजी विषयको २०७ जना विद्यार्थीको पुनः परीक्षा २०७९ पुस २४ गते लिएको थियो। यतिमात्रै होइन प्रश्नपत्रसमेत हुबहु मिल्ने घटना हुँदै आएको छ।
त्रिविको मानविकी संकायले गत जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेष्टरको अर्थशास्त्रअन्तर्गतको ‘पब्लिक इकोनोमिक्स’ र जेठ २३ गते स्नातकोत्तर तहको राजनीति शास्त्रको पहिलो सेमेस्टरको ‘इन्टरनेशनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको भन्दै विवाद उत्पन्न भयो।
६० पूर्णाङ्कको उक्त विषयको परीक्षामा १३ प्रश्न अघिल्ला दुई वर्षका प्रश्नपत्रसँग हुबहु मिलेपछि त्रिविले छानबिन समिति गठनसमेत गर्यो तर प्रतिवेदन सार्वजनिक गरिएन र लुकाइयो।
शिक्षामन्त्री भन्छिन्- यस्ता घटनाबारे जानकार छौँ
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिविमा बारम्बार उत्तरपुस्तिका हराएको विषयमा जानकार रहेको बताएकी छन्।
त्रिविले उत्तरपुस्तिका हराएपछि उनले सामाजिक सञ्जालबाट भनेकी थिइन्, ‘नियमित जस्तो भइरहेका यस्ता घटनाहरूबारेमा हामी जानकार छौँ, यसबाट परीक्षार्थीहरूमा पर्ने मानसिक तनाव तथा विश्वविद्यालयमाथि उठ्ने प्रश्न र शंकाप्रति सबै सजग र संवेदनशील हुनै पर्छ।’
उत्तरपुस्तिका हराएका परीक्षार्थीहरूको पुनः परीक्षाबाट मात्र यस्ता समस्या समाधान नहुने उनले बताएकी छन्।
‘यस्ता घटनाहरू दोहोरिन नदिन घटना घट्नुको कारण पत्ता लगाएर सम्बन्धितहरूलाई उचित कारबाही र प्रक्रिया सुधार अनिवार्य हुन्छ,’ उनले उल्लेख गरेकी छन्।
उनले त्यस वेला नै त्रिवि सभा तथा कार्यकारी परिषदको सचिवालयले गठन गरेको समितिले निष्पक्ष, निर्भिक र परिणाममुखी कार्य गर्ने वातावरण बनाउन शिक्षा मन्त्रालयले हदैसम्मको सहयोग गर्ने प्रतिबद्धता जनाएकी थिइन् तर शिक्षामन्त्री श्रेष्ठ र त्रिवि उपकुलपति बरालको निर्देशन/सहयोगमा कारबाही हुन्छ या हुँदैन त्यो हेर्न बाँकी छ।
रजिष्ट्रार भन्छन्- प्रकृयाअनुसार जान्छौँ
उच्चस्तरीय समितिका संयोजक पौडेलले प्रतिवेदन त्रिविका उपकुलपति प्राडा केशरजंग बराललाई बुझाइसकेको जानकारी दिए।
‘हाम्रोतर्फबाट गर्नुपर्ने काम सकेर आवश्यक कारबाहीसहित ब्यक्तिको नाम नै किटान गरेर प्रतिवेदन बुझाएका छौँ, अब कारबाही गर्ने वा नगर्ने अब उहाँहरूकै कुरा हो, हाम्रो काम भने सकियो,’ उनले भने।
पछिल्लो समय त्रिविबाट बारम्बार उत्तरपुस्तिका हराएको घटना बाहिरिएपछि सम्बन्धित व्यक्तिहरू जिम्मेवार रहनुपर्ने उनको भनाइ छ।
‘मेरो कार्यकालमा यसरी एउटा पनि उत्तरपुस्तिका हराएको थिएन तर पछिल्लो समय हराइरहेको पाइयो। यो त्रिवि सम्बन्धित पदाधिकारीहरूको गम्भीर लापरबाही हो,’ उनले भने।
त्रिविका रजिष्ट्रार प्राडा केदारप्रसाद रिजालले प्रतिवेदन प्राप्त भइसकेको र आवश्यक कारबाहीको लागि प्रकृया अगाडि बढाउने प्रतिबद्धता जनाए। उनले थाहाखबरसँग भने, ‘प्रकृयाअनुसार जाने हो, त्यसैले कारबाहीको लागि प्रकृया अघि बढाउँछौँ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।