|

गुल्मी : गुल्मीमा ८७१ हेक्टरमा आलु खेती गरिएको छ भने १५० रोपनीमा सामूहिक रुपमा आलु खेती गरिएको छ।

जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर १ दिवु्रङको लुग्दीमा ३४ घरपरिवारले १४० रोपनी क्षेत्रफलमा सामूहिक आलु खेती गरेको वडाध्यक्ष घनश्याम खरेलले जानकारी दिए।

ग्रामीण समुदायलाई गाउँमै रोजगार र आत्मनिर्भर बनाउन सामूहिक आलु खेतीमा लगाइएको खरेलले बताए। 

गत वर्ष सामूहिक आलु खेतीबाट ४० लाख रुपैयाँ आम्दानी भएको र आफूहरु आलु  खेतीबाट सन्तुष्ट रहेको उद्यमशील कृषक समूहका अध्यक्षसमेत रहेका वडाध्यक्ष खरेलले जानकारी दिए। 

यस वर्ष ५२ लाख रुपैयाँभन्दा बढीको आलु उत्पादन हुने लक्ष्य लिएको खरेलले बताए। उनले एकल प्रयासले मात्र नहुने भएकाले सामूहिकतामा जोड दिएको बताए। उक्त स्थानमा एम एस ४२ नामको आलु खेती गरिएको छ।

आलु पकेट विकास कार्यक्रमअन्तर्गत १८ लाख र उद्यमशीलताअन्तर्गत समूहको १३ लाख ६८ हजार गरी कूल ३१ लाख ६८ हजार रुपैयाँ लगानी भएको चन्द्रकोट गाउँपालिकाका सूचना अधिकारी शिवप्रसाद ज्ञवालीले जानकारी दिए।

कृषकहरुलाई आर्थिक रुपमा आत्मनिर्भर र वयावसायिक बनाउन आफूहरुले प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष युवराज केसीले जानकारी दिए। 
गाउँमै रोजगारी सिर्जना गरी बसाइसराइको दर पनि घटाउने गरी पालिकाले योजना बनाएको उनको दावी छ।

जिल्लामा ८७१ हेक्टरमा आलु खेती

जिल्लामा ८७१ हेक्टर क्षेत्रफलमा आलु खेती गरिएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ। 

जिल्लाको चन्द्रकोट, मालिका, मदाने, सत्यवती, गुल्मीदरबार गाउँपालिका र मुसिकोट नगरपालिकामा व्यावसायिक रुपमा आलु खेती हुने गरेको ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले जानकारी दिए।

गत वर्ष जिल्लामा ८ हजार १ सय मेट्रिक टन आलु उत्पादन भएको र २ करोड ७१ लाख रुपैयाँ बराबरको आलु जिल्ला बाहिर बिक्री भएको भण्डारीले बताए। आलु खेतीका लागि ज्ञानकेन्द्रले प्राविधिक सहयोगका साथै अनुदान र प्रविधिहरु सहयोग गर्दै आएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.