|

विराटनगर : मन्त्रालय भागबण्डामा सहमति नहुँदा कोशी प्रदेशमा सकार विस्तार हुन सकेन।

आजै सरकार विस्तार गर्ने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तयारी रहेको थियो तर माओवादी केन्द्रबाट थप छलफलको माग भएपछि सरकार विस्तार पछि धकेलिएको हो।

सरकार विस्तारको सन्दर्भमा छलफलमा रहेकाले आज सरकार विस्तार नहुने माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए।
‘मन्त्रालय भागबण्डामा कुरा नमिलेको हो?’ भन्ने प्रश्नमा उनले भने, ‘नमिलेको पनि होइन छलफलमै छौँ।’

आफ्नो पार्टीले आर्थिक मामिला तथा योजना मन्त्रालय पाउनुपर्ने अडान राखेकोमा सहमति नजुटेपछि आज सरकार विस्तार हुन नसकेको माओवादी केन्द्रका प्रदेश इन्चार्ज हरिबोल गजुरेलले बताए।

गत वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री कार्कीले सोही दिन एमालेबाट रामबहादुर राना मगर र माओवादीबाट गणेश उप्रेतीलाई मन्त्री नियुक्त गरेका थिए। उनीहरू दुवैलाई हालसम्म कुनै विभाग तोकिएको छैन।

यता एमालेले आर्थिक मामिला मन्त्रालय सरकारको नेतृत्व गर्ने दलले नै राख्नु उपयुक्त हुने भन्दै भौतिक पूर्वाधार विकास मन्त्रालय लिन माओवादीलाई आग्रह गरेको छ। एमालेले आर्थिक मामिला आफूले लिने गरी यसअघि करिब सहमति भइसकेको भन्दै माओवादीभित्रको आन्तरिक छलफलका कारण आज सरकार विस्तार हुन नसकेको जनाएको छ।

माओवादीले निवर्तमान मुख्यमन्त्री केदार कार्कीको मन्त्रिमण्डलमा समावेश भएकाहरूलाई नै पुनः मन्त्रिमण्डलमा पठाउने तयारी रहेको छ।

यसअघि संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्कीको सरकारमा सहभागी भएकाहरू नै योपटक एमालेबाट अवसर पाउने भएका छन्।

नेकपा (एकीकृत समाजवादी) हाल प्रतिपक्षीमा बसेको छ। यसैगरी जसपा नेपालकी सांसद निर्मला लिम्बूले पनि आफूलाई मन्त्रिमण्डलमा समावेश गराउनुपर्ने दबाव दिइरहेको बताइएको छ। सोही कारण पनि एक मन्त्रालय खाली राख्नुपरेको एमाले स्रोत बताउँछ।

मुख्यमन्त्री कार्कीले गत वैशाख ३१ गते विश्वासको मत लिएलगत्तै एक हप्तामा मन्त्रिमण्डलले पूर्णता पाउने बताएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.