|

काठमाडौँ : सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय र पीडक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तत्काल राजीनामा, सबै नेपालीलाई निःशुल्क औषधि उपचारको व्यवस्था गर्नुपर्नेलगायत माग राख्दै अनशन शुरु गरेका प्राडा गोविन्द केसीले आफ्नो अनशन स्थगित गरेका छन्।

पशुपतिको मृगस्थलीमा गत वैशाख २९ गतेदेखि अनशन शुरु गरेका डा केसीको स्वास्थ्य बिग्रिएपछि उनलाई बुधवार (हिजो) बेलुका महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।

स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि आफूले हाललाई अनशन स्थगित गरेको डा केसीले जनाएका छन्। उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ‚ 'आज अनशनको छैटौँ दिन मेरो स्वास्थ्य अवस्था क्रिटिकल हुँदै गएको डाक्टरहरूले औँल्याएका छन्। साथै वर्तमान शासकहरूको नियतलाई दृष्टिगत गर्दै अनशन तोड्नुपर्ने हुन्छ। हत्या हिंसाको माध्यमबाट सत्तामा आएका दल र त्यस्तो पृष्ठभूमिमा रमेका रमाएकाहरूले शान्तिपूर्ण अहिंसात्मक सत्याग्रहको माग सुनुवाइ गर्छन् र शासकहरू संवेदनशील बन्छन् भन्ने कुरा सोच्नु मूर्खता हो। सामान्य शासकीय शिष्टाचारसमेत नभएका शासकहरू भएको देशमा जनताको समस्याप्रति गम्भीरता नदेखिनु सामान्य कुरा हो। अनैतिक शासकहरूको अगाडि नागरिकको नैतिक याचना फगत याचनाको रूपमा रहेको देखिएको छ। तसर्थ हाम्रो आन्दोलन जारी रहने प्रतिबद्धता गर्दै हाललाई सत्याग्रह स्थगन गरेको जानकारी गराउँदछु।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.