|

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आफ्नो माग लिखित रुपमा लिएर वार्ता गर्न आउन आग्रह गरेका छन्।

शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग सांसद झाले संसदीय छानबिन समिति गठनको सन्दर्भमा कांग्रेसका पदाधिकारीपिच्छेको धारणा आएको र उनीहरुको बोलीको विश्वास नभएको बताए। 

उनले कांग्रेसका नेताहरुसँग छलफलका लागि बस्दा नेतापिच्छेको फरक–फरक धारणा आउने गरेको भन्दै नेताहरुको मौखिक अभिव्यक्तिमा विश्वास गर्न गाह्रो भएको बताए। 

‘पाँचवटा गेटबाट ५ जना फरक पदाधिकारी छिर्नुहुन्छ‚ पाँचवटा फरक धारणा लिएर। हामीले २८ गतेदेखि दुई कुरा दोहोर्‍याइरहेका छौँ कि हामीलाई बोल्न दिनुस्‚’ उनले भने‚ ‘जहाँ संसदमा रेकर्डमा बस्यो ति तथ्यांकहरु त्यो तथ्यहरु, अभियोग, अपशब्दहरु हामी त्यहीँ स्पष्टीकरण दिन चाहन्छौँ। हाम्रो जवाफ पनि रेकर्डमा जाओस् भन्न चाहन्छौँ।’

सांसद झाले गृहमन्त्री रवि लामिछानेको नाम मुछिएको ३ वटा सहकारीको मात्रै छानबिन नगरी सरकारले संकटग्रस्त भनेर घोषणा गरेको १६ वटा सहकारीको छानबिन गर्नेगरी समिति बनाउनुपर्ने माग गरे।

‘दोस्रो कुरा समस्या त्यो तीनवटा सहकारीमा मात्र किन हेर्नुहुन्छ तपाईंहरु? सबैमा समस्या छ। सबै ३१ हजारलाई समेट्न नसकिएला तर सरकारले नै भनेको संकटग्रस्त १६ वटालाई समात्ने त हिम्मत राख्नुस्‚’ उनले भने‚ ‘तीनवटा सहकारीमा मात्रै छानबिन गरौँ भन्दै गर्दा प्रत्यक्षतः तीनओटामा मात्रै समस्या छ भनेर हामीले राजनीतिक कुण्ठा बोकेका छौँ र ती तीनवटामा नाम देखिएको छ, त्यहाँको मात्रै समस्या देखिएको छ। अरुमा केही समस्या छैन भन्न खोजेको हो‚ त्यो प्रष्ट रुपमा लिखित रुपमा भनिदिए भैहाल्यो नि।’

उनले रास्वपासँग केही माग भएमा लेटरहेडमा लेखेरै लिएर आउन आग्रह गरे।

‘अबदेखि नेपाली कांग्रेसलाई मेरो अनुरोध तपाईंहरुको सहमहामन्त्रीले एउटा कुरा, महामन्त्रीले अर्को, प्रमुख सचेतकले अर्को, उपसभापतिले अर्को कुरा गर्नुहुन्छ‚’ उनले भने‚ ‘त्यसैले हामीसँग केही माग छ भने लेटरहेडमा लिखित रुपमा लिएर आउनुस्। अब तपाईंहरुको मौखिक अभिव्यक्तिमा विश्वास गर्न गाह्रो छ।’

सांसद झाले गृहमन्त्री रवि लामिछानेले राजनीतिज्ञको रुपमा कुनै अपचलन नगरेको भन्दै विगतका केही व्यावहारिक कुरालाई जोडेर अभियोग लगाइएको दावी गरे। उनले अभियोग लागेकाहरु सबैमाथि छानबिन समिति बनाउन तयार हो भनि कांग्रेसलाई चुनौतीसमेत दिए।

‘हाम्रो पार्टीको नेतृत्वमा लागेको दाग राजनीतिज्ञको रुपमा गरेको अपचलन एकरत्ति पनि होइन। पहिलाका केही व्यावहारिक कुरामा मात्र उहाँहरुले जोडेर लगाएको अभियोग हो‚’ उनले भने‚ ‘राजनीतिज्ञको रुपमा यो देशलाई घात एउटा पनि गरेका छैनौँ‚ गर्ने पनि छैनौँ। समिति बनाउने हो भने सबैको बनाउन तयार हुने हो भनेर चुनौती पनि दिन्छौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.