|

काठमाडौं : यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हक अधिकार सुनिश्चित हुनुपर्ने मागसहित होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तराष्ट्रिय दिवस शुक्रबार मनाइएको छ। 

सन् १९९० मे १७ मा विश्व स्वास्थ्य संगठनले समलैंगिकतालाई मानसिक रोगको सूचीबाट हटाई समलैंगिकता हुनु प्राकृतिक प्रक्रिया हो भनी घोषणा गरिएको दिनको स्मरण गर्दै विश्वव्यापी रूपमा होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिन मनाइन्छ। 

फरक यौनिकता र लैंगिकताकै कारण यो समुदायले भोग्दै आइरहेको असमानता, हिंसा, चुनौती, कष्टकर भोगाइ र कठिन परिस्थितिहरूप्रति नीति निर्माता, मिडियाकर्मी, आमजनता, नागरिक समाज, सरोकारवाला संघसंस्था र अधिकारीहरूको ध्यानाकर्षण गराउनका लागि यो दिवसले प्रमुख भूमिका खेल्दछ।

संसारका सबै मानव जातिको समान र अपरिहार्य अधिकार स्वतन्त्रता, न्याय र शान्तिको आधार हो। मानव अधिकारको विश्वव्यापी घोषणापत्रले सबै नागरिकको मानव अधिकार र मौलिक स्वतन्त्रताको संरक्षण र रक्षा गर्नु हरेक राष्ट्रको कर्तव्य हो भनी सम्बोधन गरेको छ। 

मितिनी नेपालले सधैँको वर्षझैँ यो वर्ष पनि “कोही पनि नछुटून्, सबैका लागि समानता, स्वतन्त्रता र न्याय” भन्ने विश्वव्यापी नाराका साथ होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा विभिन्न कार्यक्रम गरेको छ। 

मितिनी नेपालले सरोकारवाला सरकारी निकाय, जनप्रतिनिधिलाई सँगै राखेर यौनिक तथा लैंगिक समुदायको कानुनी रक्षाका लागि पहल गर्दै आएको छ। 

मितिनी नेपालले सातैवटा प्रदेशमा रहेका २ सयभन्दा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई एउटै स्थानमा ल्याउने र समुदायका जोडीको आठ प्रेरणादायक कथा समेटिएको पुस्तक “कोही पनि नछुटुन्, सबैका लागि समानता, स्वतन्त्रता र न्याय” विमोचन गरेको छ। 

पुस्तकमा साझेदार गरिएका कथाहरूले वैवाहिक समानता नहुँदा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका जोडीहरूले व्यक्तिगत तथा सार्वजनिक जीवनमा भोग्दै आइरहेको संघर्ष र पहिचानको कथा साथै अन्य विविध मुद्दाहरूलाई समेटेको छ। 

समुदायभित्र पनि उमेर, जाति, वर्ग, भाषा, लिङ्ग, उत्पत्ति र भौगोलिक अवस्थाको स्थितिलाई कथामार्फत सम्बोधन गर्ने प्रयास गरिएको छ भने सबैका लागि समानता, स्वतन्त्रता र न्यायका लागि पहिचानको लडाइँ लड्न सन्देश पनि दिएको छ। 

यसका साथै लामो समयदेखि सँगै बस्दै आइरहनु भएका समुदायको एक जोडी चितवन निवासी मिलन बास्तोला र निर्मला बास्तोला तथा समुदायको सदस्यको रूपमा आफ्नो सन्तानलाई स्वीकार गर्नु भएको मोरङका राज चौधरीको परिवारलाई मितिनी नेपालले सम्मान गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.