|

हेटौँडा : बागमती प्रदेश सरकारले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूका नेतृत्वसँग आर्थिक वर्ष ०८१/८२ को बजेटका सन्दर्भमा छलफल गरेको छ।

कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आवश्यकता र ठाँउको भौगोलिकता हेरेर सन्तुलित र परिणाममुखी बजेट बनाउने बताए। 

बजेट बनाउने सन्दर्भमा छलफलबाट आएका सुझाव मार्गदर्शकका रुपमा रहने पनि उनको भनाई थियो। उनले छलफलमा राजस्वका बाटाहरु खोल्ने, खनिज पदार्थ उत्खननका लागि अध्ययन गर्नेलगायत प्रस्ताव गरे। 

कर बढी लिनेभन्दा पनि करको दायरा बढाउने उनले बताए। अनावश्यक भैरहेका चुहावट नियन्त्रण एवम् अनावश्यक लगानीसमेत रोक्ने उनको भनाई थियो। वितरणमुखीभन्दा पनि परिणाममुखी बजेटमा जोड दिने मन्त्री थपलियाले बताए। 

कार्यक्रममा नेपाली कांग्रेस संसदीय दलका नेता एवम् पूर्व आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले बाग्मती प्रदेशमा स्रोत कम रहे पनि धेरै काम गर्नुपर्ने बताए। 

पहिले बहुवर्षीय आयोजनाको स्रोत सुनिश्चित गरेर अरु बजेट बिनियोजन गर्न उनले आग्रह गरे। बजेट भावनामा भन्दा आवश्यकतामा बनाउन सुझाव दिए।

कार्यक्रममा नेकपा एमालेका प्रदेशसभा सदस्य डा. दिनेशचन्द्र देवकोटाले लाभको क्षेत्र छनोट गरि इको टुरिज्मलाई जोड दिन सुझाव दिए। ग्रिन इको टुरीजम, सांस्कृतिक टुरिज्मलगायत बजेटमा समावेश गर्न उनले आग्रह गरे। 

कृषि क्षेत्रमा किसान‌को हातमा पैसा पर्ने गरी लगानी गर्न पनि उनको सुझाव थियो। वन क्षेत्रलाई उद्यमशीलता र उत्पादनसँग जोड्नुपर्ने पनि उनको भनाइ थियो। 

विद्यार्थी र विद्यालयको व्यवस्थापन हुने कार्यक्रमको योजना ल्याउन पनि उनले सुझाव दिए। संघीयतालाई लक्षित गरी समाजवादउन्मुख अर्थतन्त्र छुने कार्यक्रमको शुरुवात गर्नुपर्ने पनि उनले बताए। लगानी बोर्ड स्थापना एवम् आर्थिक सम्भावनाका ढोकाहरु खोल्नुपर्ने उनको भनाइ थियो।

नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य युवराज चौलागाईंले योजना बनाउदा माग र आवश्यकता दुवै समेट्नुपर्ने बताए। खास खास क्षेत्रमा पर्यटन प्रवर्द्धन गरि लगानी गर्न सुझाव दिए। 

उनले युवा केन्द्रित कार्यक्रम ल्याएर देशमा बस्ने वातावरण बनाउन माग गरे। वैदेशिक रोजगारीबाट देशमा भित्रिएको रेमिटान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउने कार्यक्रम बनाउनुपर्ने बताए। 

राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता उद्धव थापाले प्रदेशको आम्दानी स्थायी बनाउने गरि बजेट बनाउनुपर्ने बताए। चुनावलक्षित भन्दा पनि जनताको अपेक्षाअनुसार उत्पादनमूलक बजेट बनाउन उनले सुझाव दिए।

एकीकृत समाजवादीका नेता कृष्णप्रसाद शर्मा खनालले राजस्व वृद्धिमा ध्यान दिन सुझाव दिए। उद्योग‚ कलकारखाना स्थापना गर्न प्रोत्साहन गर्न, अनावश्यक बजेट कटौती गर्न सुझाव दिए। बजेट सन्तुलन गरेर जनताको अपेक्षा पनि पूरा गर्न आग्रह गरे।

कार्यक्रममा नेपाली कांग्रेसका प्रमुख सचेतक गोविन्द लम्साल, नेकपा एमालेका प्रमुख सचेतक मधुसूदन पौडेल, नेकपा माओवादी केन्द्रका मुख्य सचेतक रत्नप्रसाद ढकाल, नेपाली कांग्रेसका प्रदेशसभा सदस्य कुन्दनराज काफ्ले, कन्चनचन्द्र वादे, पूर्वमन्त्री एवम् एकीकृत समाजवादीका प्रदेशसभा सदस्य बसन्त‚ नेकपा एमालेका प्रदेशसभा सदस्य ज्ञानबहादुर लामा, राप्रपाका प्रदेशसभा सदस्य कुमारी तामाङसहित मन्त्रालयका कर्मचारीहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा मन्त्रालयका सचिव कृष्णप्रसाद मैनालीले छलफल कार्यक्रमको विषयमा प्रकाश पारेका थिए। 

आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा प्रदेशभित्र परिचालन र प्रवर्द्धन गर्न सकिने तुलनात्मक लाभका क्षेत्रहरु, राजस्वका दर परिमार्जन, दायरा विस्तारलगायत विषय समेटिने गरी राजस्व वृद्धिसम्बन्धी, अनावश्यक चालु खर्च कटौती गर्दै सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने उपायहरु, बजेट कार्यान्वयनमा प्रदेश र स्थानीय तहबीचको समन्वय र अन्तरसम्बन्ध प्रभावकारी बनाउन सुझाव, बजेट सन्तुलित र मागमा आधारित बनाउन सुझाव लिन छलफल भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.