२०४० देखि गुल्मीको सरस्वती निम्न माध्यमिक विद्यालयमा कक्षा ७ को पढाइ पूरा गरी श्री जनसहयोग माध्यमिक विद्यालय भार्सेमा पढ्न जाँदा लगभग १ घण्टा ३० मिनट उकालो पार गर्नु पर्दथ्यो। बिहान ७.३० खाएको तातो खानाको दम कासीपोखरी पुग्दा कमजोर परिसकेको हुन्थ्यो।
अहिलेका बोर्डिङ स्कुलमा पढ्ने जस्ता विद्यार्थी भए त आम्वोटेपोखरा मै टिफिन खोल्थे होला तर हाम्रा पालामा त्यसरी खाजा लगेको जानिएन तर मौसम अनुसारका फल टन्नै खाइन्थ्यो फागुनमा किम्बु, चैत्रमा हाडेकाफल, दुर्गा काफल, वैशाख र जेठमा ऐँसेलु, असारमा चौतारी साउन लागेपछि बारीका काँचा भटमास, खनिया गिडिला, भदौमा मकै (भन्न त हुन्न नसोधी भाँचिन्थ्यो)। असार साउनमै आलुबखडा र खुपार्नी खाने अवसर मिल्थ्यो।
घरबाट कसैले पनि अहिले जस्तो खाजा बोकेर जाने गर्दैनथे। टिफिन बक्सको त जानकारी नै थिएन। हरिया मकै भाँचिहाल्न डर लाग्थ्यो लुकेर एक दुईवटा घोगा भाँचेर दौड्दा पारिपारि मानिसको परछाई देख्दा पनि सातोपुत्लो उड्थ्यो। दुर्भाग्य भार्सेमा त्यतिबेला बाँदर लाग्दैनथ्यो। नत्र बाँदरको निहुँ पारेर साथीहरुले अलि बढी नै मकै मर्काउथे होला।
मकै चाहिँ अलिअलि मात्र हो खेती मालिकलाई मर्का पर्ने गरी होइन। जे जसरी भए पनि अहिलेका जंकफुडभन्दा स्वस्थकर खाजा खाइन्थ्यो तर पैसा लगानी गरेर खाएको जानकारी छैन। कोही कता एक कर्मचारी र लाहुरेका छोराछोरीले सानपोखराका भट्टीमा गएर आलु र चिया खाएको देखिन्थ्यो।
उनीहरु होटलबाट निस्कँदा मुखजिब्रोको हाऊभाऊ हेर्दा पिरो वा तातो मुखमा पारेछन् भन्ने सहजै अनुमान गर्न सकिन्थ्यो। २०४१ सालतिर त जोहङ, हसरा र लिम्घामा हाइस्कुल खुलेपछि भार्से गएर पढ्ने प्रचलन नै हरायो।
भार्से पढ्दा जाडोमा कार्तिक र मंसिरमा हाफ टाइमपछि सबै भागिन्थ्यो ४ बजेसम्म बस्ने हिम्मत त कसैले गरेनन् जोहाङका विद्यार्थीहरूले। लिम्घेली साथिहरु भार्सेमै डेरागरी बस्नेहरुले ४ बजेसम्म पढे पनि अरुसबै चौथो वा पाँचौ घण्टीमा पर्किने र मौसमअनुसार माथि उल्लेख गरिएका फलफूल खाँदै घर झरिन्थ्यो।
आजकल बच्चाहरुलाई टिफिन खादा सायद ऐँसेलु जस्ता फलफूलको मतलव नै हुँदैन मध्येबानेश्वरमा बाटोमा कसैको पर्खालको डिलमा यस्तो लटरम्म किम्बु फलेर पाकेको हुन्छ कसैले खादैनन हुनतः सबैले रूखमा चढेर खाने गरेको भए त्यस्तो फलेको देखिँदैनथ्यो होला। जे होस शहरमा गाउँले पनको मिठास देख्न पाइँदैन।
सायद र समय सभ्यताले हामीलाई प्रकृति बिमुख गराएको पो हो कि। बजारमा पाइने चाउचाउ र स्याउ जति पनि खाइन्छ तर निशुल्क ऐँसेलु र काफल खाइँदैन।
आज वैशाख २९ को प्रसंग र परिवेश फरक छ। आज गोटीखेल जान भनेर हिँडियो टीकाभैरव जाँदा पारि महादेव खोलाको मुहानतिर पानी परेको थियो। सायद कच्ची बाटो हिलो र चिप्लोले गोटीखेल पुग्न पाइँदैन कि जस्तो लागेको त हो। नभन्दै भयो पनि त्यस्तै सरस्वती कुण्ड अर्थात् लेले बसपार्क पुग्दा पानीको तहरो नै पर्यो तै पनि जेनतेन जाऊँ न त भनेको अलि माथि पुगेर उल्टो बाटो समातिएछ। टिप्परले गिट्टी र माटो बोक्ने फराकिलो बाटो महादेवस्थानतिर पो लागिएछ। बाटो सही नै छ भनेर जाँदै गरेको एउटा ट्याक्सी चालकले यो गोटीखेल जाने बाटो हो नि?
भनेर सोधेँ खै हामी पनि त्यतै हिँडेको भनियो। अलिमाथि एकजना टिप्पर चालकलाई सोधेको त होइन यहाँबाट त खानीमा पुगिन्छ भने।
अब समस्या अघि सोधेको ट्याक्सीलाई यो बाटो होइन फर्काऊँ भन्न चाहेको न चालकले मुन्टो फर्काए न उनलाई सही बाटोमा ल्याउन सकियो अब फर्कौं भनेको त बाटो माथि लटरम्मै ऐँसेलुको बगैँचा देखियो लगभग २०० बोटमा लाखौँ ऐँसेलु पाकेर पहेँलपुर रहेछ। टप्पटप्प टिपेर खान थालियो कति खानु टोप्रा पनि कत्रा भने नवजात शिशुको चिलीमे टोपी जत्रा। लगभग ऐँसेलु खाँदाखाँदै १ घण्टा बित्यो अब त गोटीखेल हिँडेको भन्ने नै बिर्सियो।
यसरी लगभग ४० बर्ष पछि ऐँसेलुको उस्तै परिवेश भेटियो जुन दशकौ अघि गौँथली ओडारदेखि झुलेथुमसम्म देखिने गर्दथ्यो।
जाने गल्ली दोबाटोले झुक्यायो
ऐँसेलुका दानाले बालापन फर्कायो
ऐँसेलु नेपाल भारत श्रीलंका, पाकिस्तान, पोल्याण्ड, हंगेरी, चाइना, इरनडोनेशिया फिलिपिन्स, हवाली, जमाइका कोष्टारिकामा पाइने एउटा काँडायुक्त झाडी वनस्पति हो। यो बाह्रमास नै हरियो रहन्छ तर पुसतिर फूल लागेर ठाउँअनुसार चैत्रबाट जेठको दोस्रो हप्तासम्म पहेँलपुर रहन्छ।
ऐँसेलु, चौतारी, किम्बु, हाडे काफल मौसमी फलफूल हुन्। यी कालजयी फलफूलको बेमौसमी खेती गरेको पाइएको छैन। यिनलाई शीतगृहमा राखेर अरू बेलामा खाने व्यवस्था पनि हुँदैन संभवतः यही कारणले गर्दा आर्युवेदिक औषधि बेच्नेहरुले पनि यस्ता फलको गुण दोषका बारेमा धेरै लेखेका हुँदैनन।
त्यसैले ऐँसेलुका गुण दोष यस्ता छन् भनेर पूर्ण र विश्वासिलो अनुसन्धान भएको छैन। एक अध्ययनका अनुसार यसमा फाइवर र कार्बोहाइड्रेड प्रर्याप्त पाइन्छ। वनस्पतिको औषधीय गुण त पक्कै पनि होला तर फलको गुणको बारेमा गहन अध्ययन हुन अझै पनि बाँकी छ।
यसमा काँडा हुने भएकोले टिप्दा अलि सावधानी पुर्याउनुपर्छ प्रायः यो भिरालो ठाउँमा फल्ने हुँदा यसलाई सजिलोसँग टिप्न सकिँदैन। यसलाई कसैले घरेलु रुपमा खेतीपाती गरेका हुँदैनन् तसर्थ यसको जन्म तथा अन्त प्रकृतिको काखमा हुन्छ, मानिसले स्वाद मात्र लिने हो।
अंग्रेजीमा यसलाई Rubus elliptcus भनिन्छ। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण युनियन आइयुसिएनले ऐँसेलुलाई विश्वका १०० अति आक्रमक खराव प्रजातिको सूचीमा राखेको छ।
आधिकारिक रूपमा यसलाई खानयोग्य फलफूल र सजावटीय विरुवा भनेर १९६१ मा घोषणा गरिएको थियो। यसलाई केही नेशनल पार्क जस्तै हवालियन कृषि विभागले हानिकारक झारपातको सूचीमा राखेको छ ऐँसेलुलाई। केही नेशनल पार्कले यसका झाडीलाई उन्मूलन गर्ने अभियान नै चलाएका छन्।
यसको बिऊ चरा र किराहरुबाट सजिलै सर्ने हुनाले यसको फैलावट रोक्न गाह्रो छ र जरा जमिनमा तलसम्म गाडिएको हुनाले उखेल्न पनि गाह्रो छ। यसरी ऐँसेलु आफ्ना केही गुण र बैगुनका कारण चर्चामा रहेको एकपकारको विशाल झारपात हो।
अर्कोतर्फ फलफुलको वाइन बनाउनका लागि यसको खेती पनि गरिन्छ। नेपाल र सिक्किममा ऐँसेलुको वाइन राम्रै खपत हुने गरेको छ। ऐँसेलुका जरा पेट र टाउको दुख्दा खाने आयुर्वेदिक औषधिको रुपमा प्रयोग गरिन्छ भने यसको फल अपच भएको बेलामा खाना पचाउने गुण भएको औषधिको रुपमा पनि प्रयोग हुन्छ।
यसमा भिटामीन सि, बेटा कारोटिन, फेनोलिक्स आदि पाइन्छ। यसको जुस पनि बजारमा बिक्री हुन्छ। यसका फाइदा तथा बेफाइदा आइनेचुरलिष्ट अनलाइनबाट लिइएको हो।
यसरी हामी अधिकांश नेपालीको खुट्टाले हिँड्न सक्ने भएपछि र नसक्ने अवस्थाको बीचमा ऐँसेलु खाएका चाखेका पक्कै छौँ त्यसैकारणले यसबाट औषधि, वाइन तथा जुस बनाएर व्यापार गर्ने वा नेशनल पार्कहरुले झै खराव वनस्पतिको रुपमा व्याख्या गर्ने एउटा निष्कर्षमा पुग्न जरुरी छ।
आजसम्म यो विश्वमा लाभ मात्र भएको र हानि मात्र भएको कुनै चिज वनस्पति भेटिएको छैन। हाम्रा बाइलोजी ल्यावमा ऐँसेलुको पनि परीक्षण होस किनकि यो लाखौँ नेपालीको खाजा आज पनि हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।