काठमाडौँ : एनसिसिएस आमन्त्रमण उपत्यकाव्यापी टी–२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताको अन्त्यमा हुने भएको छ।
भक्तपुर जिल्ला क्रिकेट संघको आयोजनामा प्रतियोगिता १२ देखि १९ गतेसम्म हुने भएको हो। प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ३ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
आयोजक भक्तपुर जिल्ला क्रिकेट संघले आइतवार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिएको हो। प्रतियोगिताको सम्पूर्ण खेल मूलपानी क्रिकेट मैदानमा हुनेछन्।
पुरुषमा भक्तपुर क्रिकेट सेन्टर, भक्तपुर क्रिकेट एक्सिलेन्ट सेन्टर, बल पार्क स्पोटर्स इभेन्ट एण्ड एकेडेमी ललितपुर, ग्रेट हिमालयन क्रिकेट एकेडेमी ललितपुर, क्रिकेट एक्ससिलेन्ट सेन्टर काठमाडौँ र ओसिस क्रिकेट एकेडेमी काठमाडौँ सहभागी हुनेछन्।
पुरुषमा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।
महिलातर्फ काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला क्रिकेट संघको सहभागिता रहनेछ। प्रतियोगिता डबल राउण्ड रोविनका आधारमा हुनेछन् र लिगका शीर्ष २ टोलीले उपाधि यात्रा तय गर्नेछन्।
महिला र पुरुष दुवैतर्फका विजेताले २५/२५ हजार रुपैयाँ नगद र उपविजेताले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
प्रत्येक खेलका प्लेअर अफ दी म्याचले १५/१५ सय पुरस्कार पाउनेछन्। बेस्ट बलर, बेस्ट ब्याटर र प्लेअर अफ दी सिरिजले पनि पुरस्कार पाउने आयोजकले उल्लेख गरेको छ।
खेल प्रतिभा पहिचान गर्दै उनीहरूको प्रशिक्षण विकास र उपर्युक्त अनुकूल खेल वातावरण सिर्जना गर्न यो प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।