|

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले सदन अवरोध जारी राख्ने बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकपछि गरेको पत्रकार सम्मेलनमा उनले सोमवार तय भएको बैठकअगाडि नै छानबिन समिति गठन गरिनुपर्ने बताए। 

“संसद् ठीक ढङ्गले चल्नका निम्ति हामी चाहन्छौँ, भोलि विहान ११ बजे सदनको बैठकअगाडि हामीले संसदीय छानबिन समिति जुन उद्देश्यका लागि  माग गरिएको हो, त्यो उद्देश्यका लागि  समिति बनाउने गरी प्रधानमन्त्री, उपप्रधानमन्त्री  आउनुहुन्छ भन्ने विश्वास राख्छु”, उनले भने, “त्यसो हैन भने संसद्को कामकारबाही अघि बढ्दैन।”

उनले सरकारमाथि शङ्का भएपछि छानबिन समितिको माग गरेको स्पष्ट पारे। उपप्रधान एवं गृहमन्त्री लामिछानेले छानबिन समितिलाई प्रभावित पार्न खोजेको आशङ्का उनले व्यक्त गरे।

“संसद्ले छानबिन समिति बनाउँदै गर्दा उपप्रधान एवं गृहमन्त्री लामिछानेले ‘अवरोध’ गर्नुभएको छ, रोक्नुभएको छ, प्रभावित गर्न खोज्नुभएको छ”, उनले भने, “आज पनि संसदबाट उहाँले यो विषयवस्तुलाई आफैँ गृहमन्त्री हुँदै गर्दा त्यसको ओझलाई बुझेर बहकाउने प्रयास गर्नुभएको छ। यसबाट के प्रमाणित हुन्छ भने उहाँ संसदीय छानबिन समितिबाट डराउनुभएको छ।”

पत्रकार सम्मेलनमा उनले गृहमन्त्री लामिछानेले अनुसन्धान प्रभावित पार्न खोज्नुभएको आशङ्का व्यक्त गर्नुभयो। उहाँले पार्टीलक्षित भएर प्रतिशोध नराखेकोसमेत दावी गरे। 

“यहाँ कसरी प्रस्तुत गर्न खोजिएको छ भने हामी त नयाँ पार्टी, नयाँलाई प्रश्न गर्ने? हामी त आफ्नै पार्टीका नेतालाई प्रश्न गरेर आएको, आफ्नै नेतासँग लडेर आएको हो”, उनले भने, “यी तमाम विषयहरु हुँदै गर्दा यो विषय आज कुनै पनि अर्को व्यक्तिको हकमा भएको भए छानबिन र अनुसन्धान हुन्थ्यो।”

आज प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले विशेष समय र आकस्मिक समय कार्यसूचीबाट हटाएका थिए। सदनमा गृहमन्त्री लामिछानेले सम्बोधन गर्नुभएपछि बैठक स्थगन गरिएको थियो। 

बैठकमा आफ्नो धारणा राख्न नपाएपछि सांसद थापाले पत्रकार सम्मेलन गरेका थिए। सोमवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तयारी गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.