‘नधम्क्याउनुस्‚ कांग्रेस तर्सिने दल होइन’

|

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले धम्की दिएर तर्साउन नखोज्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिएको छ।

कांग्रेसले माओवादीलाई जंगलबाट संसदमा ल्याउने काम कांग्रेसले नै गरेको पनि उल्लेख गरेको छ। उसले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएर कांग्रेसलाई तर्साउन नखोज्न प्रधानमन्त्री प्रचण्डलाई चेतावनी दिएको छ।

सोमवार संसद भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकपछिको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले यस्तो चेतावनी दिएका हुन्। 

‘हतियार उठाएर यो सत्ता हतियारकै बलमा परिवर्तन गर्छु भनेर हिँड्नुभएको तपाईं र तपाईंको पार्टीलाई शान्तिमा रुपान्तरण गरेर एउटा राजनीतिक दलमा स्थापित गर्न का|ग्रेसको सहयोग र भूमिका छैन?‚’ उनले भने‚ ‘यस्तो गैरजिम्मेवारपूर्ण कुरा गर्ने। भोलिका दिनमा मूल्य चुकाउनुपर्ला? के चुकाउनुपर्छ? तपाईंहरु गैरजिम्मेवार भएर निरंकुशतातिर जाने। कांग्रेसविरुद्ध गैरजिम्मेवारपूर्ण ढंगबाट लाञ्छना लगाउन र बोल्न बन्द गर्नुस्। धेरै धम्क्याएर र तर्साएर कांग्रेस धम्किने पार्टी होइन।’

उनले प्रधानमन्त्री प्रचण्डले सदनमा विश्वासको मत लिने क्रममा कांग्रेसलाई धेरै सघाएको उल्लेख गरेको भन्दै कांग्रेसले पनि नेकपा माओवादी केन्द्रलाई पनि उत्तिकै सहयोग गरेको बताए। 

उनले कांग्रेसलाई माओवादीले भोटको राजनीति शुरु गरेपछि मात्रै सहयोग गरेको भए पनि कांग्रेसले जंगलमा हुँदादेखि माओवादीलाई सहयोग गरेको दावी गरे।

‘सम्माननीय प्रधानमन्त्रीजीले मैले नेपाली कांग्रेसलाई धेरै सहयोग गरेको छु। आज नेपाली कांग्रेसले जे गर्‍यो, त्यसका लागि इतिहासमा भोलिका दिनमा मूल्य चुकाउनुपर्ला भन्नुभयो। म उहाँलाई विनम्रताका साथ आग्रह गर्छु‚’ उनले भने‚ ‘तपाईंले त हामीलाई भोटको राजनीतिमा आइसकेपछि सहयोग गर्नुभएको हो, हामीले पनि गरेका हौँ। तपाईंलाई त जंगलबाट यहाँ राजनीतिमा ल्याउने कांग्रेस हो‚ बिर्सिनु भयो?’

उनले संसदमा आज भएका गतिविधि शोभनीय नरहेको कांग्रेसको ठहर रहेको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.