|

काठमाडौँ : राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मिशन–२०२६ अन्तर्गत दोस्रो चरणमा राष्ट्रिय टोली तयारीको विशेष प्रशिक्षणका लागि ५ खेल थपेको छ। यसअघि पहिलो चरणमा पनि ५ खेल समावेश गरिएका थिए।

मिसन–२०२६ अन्तर्गत पहिलो चरणको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकका लागि आज (सोमवार) यहाँ आयोजित उत्प्रेरणा कार्यक्रममा राखेपका सदस्यसचिव टङ्कलाल घिसिङले थपिएका खेलमा महिला कबड्डी, महिला भलिबल, भारोत्तोलन, कुस्ती र एथलेटिक्स रहेको जानकारी दिए। 

दोस्रो चरणमा ५२ जना खेलाडी र १० जना प्रशिक्षकलाई समावेश गरिएको छ।

कबड्डी र भलिबलमा १२/१२ जना, भारोत्तोलन र कुस्तीमा ५/५ जना तथा एथलेटिक्समा ४/४ पुरुष र महिला खेलाडीलाई समावेश गरिएको छ। 

पहिलो चरणमा कराते, तेक्वान्दो, उसु, जुडो र बक्सिङका ५० खेलाडी तथा १० प्रशिक्षक हाल तयारी प्रशिक्षणमा छन्। जापानमा हुने २०औँ एशियाली खेलकुदलाई केन्द्रमा राखेर तथा त्यसअगाडि हुने विभिन्न अन्तरराष्ट्रिय प्रतियोगितालाई समेत दृष्टिगत गरी राखेपले २०८० माघ १५ गतेदेखि मिसन–२०२६ अन्तर्गत पहिलो चरणमा ५ खेल समावेश गरी राष्ट्रिय टोली तयारीको विशेष प्रशिक्षण थालेको थियो।

गत वर्ष चीनमा सम्पन्न १९औँ एशियाली खेलकुदलगत्तै राखेपले २०औँ संस्करणका लागि तयारी शुरु गरेको हो।

सदस्यसचिव घिसिङले छोटो तयारीको भरमा खेलाडीबाट ठूलो उपलब्धिको अपेक्षा गर्नु जायज नहुने भएकाले १९औँ एशियाली खेलकुदलगत्तै राष्ट्रिय टोलीको तयारीको विशेष प्रशिक्षण आरम्भ गरिएको बताए।

नेपाली फिल्मका नायक राजेश हमालको उपस्थितिमा भएको उक्त उत्प्रेरणा कार्यक्रममा सदस्यसचिव घिसिङले एशियाली खेलकुदमा लक्ष्य पूरा गर्न नायकहरु खोजिरहेको बताए। खेलाडीमध्येबाट नै खेलकुदको नायक पाउने विश्वास उनले व्यक्त गरे।

उत्प्रेरणा कार्यक्रममा नायक हमालले विगतको कमीकमजोरीबाट पाठ सिकेर तयारीलाई अझ परिष्कृत गर्नुपर्ने उल्लेख गर्दै खेलाडीले जस्तोसुकै चुनौती पनि पार गर्न सक्छु भन्ने आत्मविश्वास पैदा गर्न सक्नुपर्ने धारणा राखे।

राष्ट्रिय टोली तयारीका निर्देशक दीपक विष्टले विगतमा अन्तरराष्ट्रिय प्रतियोगिताका लागि हुने छोटो अवधिको तयारीको अन्त्य गर्दै विगतभन्दा राम्रो उपलब्धि हासिल गर्न सदस्यसचिव घिसिङले चालेको कदमको प्रशंसा गर्दै एशियाली खेलकुदमा आफूले जित्न नसकेको स्वर्ण अहिलेको विशेष प्रशिक्षणमा रहेका खेलाडीले जित्ने विश्वास व्यक्त गरे।

उत्प्रेरणा कार्यक्रममा पहिलो चरणको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई खेल सामग्री प्रदान गरिएको थियो। सो अवसरमा डा ज्ञानेन्द्र शाहले खेलाडी र प्रशिक्षकलाई डोपिङसम्बन्धी जानकारी गराएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.