|

पर्वत : आइसिसी एसिया क्रिकेट नाम गरेको एक्स (ट्विटर ह्यान्डल) मा केही दिन अगाडि एक जना बालकको खेल कलाको प्रशंसा गर्दै पोस्ट आयो। जसमा पाँच वर्षका बालकले गरिरहेको ‘ब्याटिङ’ अभ्यासको भिडियो राखेर नेपालको पर्वत जिल्लाका ती बालकको ‘प्यासन’ देखाइएको छ। ती बालकको इच्छा आफू क्रिकेटर बन्ने र नेपाललाई विश्व क्रिकेटमा प्रतिनिधित्व गराउने रहेको पनि उक्त पेजमा लेखिएको छ।

ती बालक हुन पर्वतको महाशिला गाउँपालिका–५ काहुलेका झन्डै छ वर्षीय रोहन पौडेल। स्थानीय सगरमाथा प्राथमिक विद्यालयको कक्षा १ मा अध्ययनरत रोहनको ‘ब्याटिङ’ कलाका बारेमा धेरैले राम्रा प्रतिक्रियाहरू दिएका छन्। साढे ५ वर्षकै उमेरमा उनको ‘ब्याट’ चलाइले उनी क्रिकेटकै लागि जन्मिएका जस्ता देखिन्छन्। उनलाई क्रिकेटको नियमित अभ्यास गराउँदै आइरहेका आफ्नै काका २४ वर्षीय सुदीप पौडेलले अभ्यासका क्रममा फालिने ‘टेनिस बल’ लाई हरेक पटक ‘ब्याट’ ले प्रहार गर्ने गरेको देख्दा उनलाई खेलाडी नै बनाउने गरी अभ्यास गराइरहेको बताए।

काका सुदीपको पनि बच्चादेखिकै सपना क्रिकेटमा नेपाली राष्ट्रिय टोलीमा समावेश भएर अन्तर्राष्ट्रिय मैदानमा नेपालका तर्फबाट खेल्नु थियो। तर पारिवारिक व्यक्तिगत कारण आफ्नो सपना पूरा गर्न नपाएका उनले क्रिकेट अत्यधिक हेर्छन्। त्यसैका प्रभावले रोहनमा क्रिकेट मोह जागेको छ। कुनै दिन आफू नेपालको टोलीमा समावेश भएर देशका तर्फबाट क्रिकेट खेल्ने उनको भनाइ छ।

‘म क्रिकेट खेलाडी बन्न चाहन्थेँ तर विभिन्न कारणले गर्दा मैले मेरो सपना पूरा गर्न सकिन। पहिले सामान्य रूपमा उसका सीप हेर्दा उसमा त्यो पोटीयन्सालिटी देखियो। उसको उमेर सानो भए पनि उसको ब्याटिङ सीप राम्रो देखिएको छ’, रोहका काका सुदीप भन्छन्, ‘सुरुमा मैले गाउँमै काठको ब्याट बनाएपछि त्यसैले अभ्यास गराउँथे।  सामाजिक सञ्जालमा भिडियो राखेपछि उसको लागि काठमाडौँबाट स्पन्सरमा ब्याट पनि आएको छ। मैले नेपाली टीमलाई रिप्रिजन्ट गर्न नपाए पनि उसले भए पनि गर्न सकोस् भनेर उसलाई दैनिक अभ्यास गराइरहेको छु।’

गत शनिबारको चर्को गर्मीमा पर्वतकै कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा रहेको खेतमा गरामा केही विद्यार्थीहरू क्रिकेट खेल्दै थिए। चर्को गर्मीका कारण मानिसहरू घर बाहिर हिँडडुल गरेका देखिँदैनथे। तर पनि स्थानीय आइबल एकेडेमीमा अध्ययनरत गर्ने सहितका अन्य बालकहरू चर्को गर्मीमा निधारबाट पसिना चुहाउँदै अभ्यास गरिरहेका थिए। गर्मीकै कारण उनीहरूले शरीरको माथिल्लो भाग र खुट्टा नाङ्गो राखेका थिए। उनीहरूको खेल मोह कुनै व्यावसायिक खेलाडीको भन्दा कम थिएन।

एउटा साँघुरो गरामा ‘क्रिज’ बनाएका उनीहरूले ब्याटिङमा छक्का प्रहर गर्दा ५÷७ कान्ला तलसम्म बल पुग्थ्यो। ‘बलिङ’ मा रहेकाहरू नाङ्गो खुट्टाले कान्लामा हाम फाल्दै पुगेर ‘क्रिज’ मा बल फ्याँक्थे। उनीहरूलाई खेल्न पाउनुको मज्जाका अगाडि गर्मी र वातावरणको कुनै प्रभाव नै थिएन।

आइबल एकेडेमीको कक्षा ९ मा अध्ययनरत सचिन थापाले शनिवार मात्रै फुर्सद हुने भएकाले गर्मी सहेरै भए पनि खेल खेल्न पाउँदा आनन्द लागेको बताए। आफू नेपाली राष्ट्रिय क्रिकेट टोलीका दीपेन्द्रसिंह ऐरीको ‘फ्यान’ भएको बताउने उनले ऐरीको जस्तै ‘ब्याटिङ’ गर्न सकूँ भनेर अभ्यास गरिरहेको सचिनले बताए। ‘मलाई दीपेन्द्रसिंह ऐरीको ब्याटिङ मन पर्छ। म उहाँको फ्यान हो। अहिले अभ्यास गर्दै जाँदा भविष्यमा उहाँले जस्तै ब्याटिङ गर्न पो सकिन्छ कि!’ उनले भने, ‘खेल्नका लागि मैदान नै छैन। यही बाँझो गरो देखेर दाउराको स्टम्प बनाएर खेलेका छौँ। बल छोप्न त ऊ तल तल कान्लामा बसेका छन् साथीहरू।’

नेपाली क्रिकेटले पछिल्ला समयमा प्राप्त गरिरहेको सफलताका कारण पनि नेपालीहरूमा क्रिकेटको ‘क्रेज’ झन–झन बढ्दै गइरहेको छ। यो खेलका लागि फराकिलो मैदानको आवश्यकता हुने भए पनि ‘क्रेजी’ हरू खेत र बारीका केही मिटर चाक्ला पाटामै भए पनि खेलेर चित्त बुझाइरहेका छन्।

जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष हर्कमान गुरुङले साना–साना भाइबहिनीहरूले क्रिकेट अभ्यास गर्नका लागि पनि केही फराकिला मैदानहरू आवश्यक हुने बताउँदै उनीहरूले चुनौतीबीच नै खेल सिकिरहेको बताए। साना उमेरका भाइहरूमा पनि क्रिकेटको मोह जागेको देख्दा भविष्यमा नेपाली क्रिकेटको भविष्य अझै राम्रो बन्न सक्ने उनको भनाइ छ।

पर्वत सदरमुकाम कुश्मा बजारको बडागाउँमा रहेको बडागाउँ खेल मैदानमा सशस्त्र प्रहरी बलको ‘क्याम्प’ राखेपछि सदरमुकाममै समेत खेल मैदानको समस्या छ। जिल्ला स्तरमा कुनै निकायले औपचारिक रूपमा विभिन्न प्रतियोगिताहरूको आयोजना गर्दा सशस्त्र प्रहरी बलसँगको सहकार्यमा उक्त मैदानमा खेल खेलाइने गरेको भए पनि आफ्नै तरिकाले अभ्यास गर्न जानेहरूका लागि उक्त मैदानमा छिर्न अनुमति छैन। त्यसको विकल्पको रूपमा आकारमा निकै सानो भए पनि कुश्मा–ज्ञादी झोलुङ्गे पुल नजिकै रहेको सानो मैदानमै विद्यार्थीहरूले क्रिकेट अभ्यास गर्ने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.