|

विराटनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लागि काँग्रेसले सत्तास्वार्थभन्दा केहीमा ध्यान नदिएको बताएका छन्।

विराटनगर विमानस्थलमा कुरा गर्दै पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले सञ्चारकर्मीसँग कुराकानी गर्दै काँग्रेसमा सत्ता, सत्ता र सत्ताभन्दा केहीमा ध्यान नभएको र काँग्रेसले अरूको इज्जतमाथि बाहिर बाहिर घुमाई घुमाई हमला गर्ने गरेको बताएका हुन्।

काँग्रेससँग मिल्न विषयमा प्रश्न गर्दा उनले भने, ‘केका लागि मिल्ने, कसका लागि मिल्ने। स्थिरता भनेको सोचको एकता हो, प्रतिबद्धताको एकता हो। लोकतान्त्रिक मूल्य, मान्यतामा अडिने कुरामा एकता हो।’

अहिले प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रमलाई पनि काँग्रेसले रोक्न लागेको कारण सहमति, सहकार्य, स्थिरता विकासतिर काँग्रेसको रुचि नभएको उनको भनाइ थियो।

ओलीले बेलुका रातभरि डेढ वर्षलाई प्रधानमन्त्री भन्ने त्यो मानेपछि भोलिपल्ट बिहान भ्रष्टाचारी भन्ने तरिका ठिक नभएको भन्दै रास्वपाका रवि लामिछानेको बचाउ गरे।

काँग्रेसले आफूलाई समालेर लोकतान्त्रिक अभ्यास, मूल्य, मान्यतामा आउनुपर्नेमा उनले जोड दिए। काँग्रेस नमिलेको खण्डमा पनि सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउन सक्ने संकेत गरे।

आफूहरूले काँग्रेसलाई पेलेर जाने नभनेको तर गत जेठ ५ गते बेलुकाको सहमति ६ गते काँग्रेसले नै उल्ट्याएर अहिलेको परिस्थिति बनेको उनको भनाइ छ।

‘पेलेर जाने होइन। अघिल्ला दिन ५ गते बेलुका सहमति हुन्छ, ६ गते तोड्छ। यो कसले तोडेको ? सत्ता पक्षले अर्घेल्याइँ गरेको हो र ? त्यस्तो इस्यु भए अदालत गए भयो। काँग्रेसले आफूले जे भन्यो त्यही हुनुपर्छ भन्छ। अनि काँग्रेसले आफ्नो तर्फ आफ्नो मतियार भएर आफ्ना निम्ति काम गरेन भने जसलाई पनि मुख छाड्छ, गाली गर्छ, बेइज्जत गर्छ। इज्जत कसैको राख्दैन’, ओलीले भने, ‘संसदीय छानबिन समिति जेठ ५ गते बेलुका गरेको सहमतिअनुसार हो भने बन्छ।’

अहिले देशमा धेरै जटिल समस्या रहेको बताउँदै उनले सम्प्रदायिकताको कुरा, प्रतिगामी शक्तिहरू हौसिएका र बाह्य हस्तक्षेप बढ्दै गएको बताए।

यस्ता कुरालाई ध्यानमा राखेर राष्ट्रलाई एक ठाउँमा उभ्याउने, आधारभूत कुरालाई एक ठाउँमा राखेर स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा उनले जोड दिए। त्यो कुरा नेपाली काँग्रेसले बुझ्नै नसकेको र नबुझी बूढो भएको बताए।

बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीमा एकछिन सत्तामा नहुँदा छटपटिनु र पानीबाट निकालेको बगरको माछा जस्तो फट्याक फट्याक गर्नु उचित नभएको बताए। माछाले गाली, बेइज्जती गर्न नजानेको बताउँदै उनले काँग्रेसले त यता भेटे यतै टोक्छ, उता भेट्यो उतै टोक्ने बताए।

काँग्रेस र एमाले मिलेर अगाडि बढ्दा हुँदैन भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘संविधान बनाउन्जेल सहमति गरेर सुशील कोइराला प्रधानमन्त्री बन्नुभयो। त्यसपछि काँग्रेसले एमालेलाई दिने भनेको प्रधानमन्त्री दिएन। त्यसपछि काँग्रेसले राजनीतिमा बेइमानी शुरु गर्‍यो। चलिरहेको सहकार्य, संविधान जारी गरेपछि त्यसलाई स्थिरता र स्थायित्वमा लानका लागि संरचना थिएन, कानून थिएन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.