|

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ १३ गतेदेखि २६ जेठसम्म बालबालिकामा पोलियो रोगविरुद्धको आईपीभी (इनएक्टिभिटेड पोलियो भ्याक्सिन)  खोप अभियान सञ्चालन गर्ने भएको छ।

विशेषगरी विसं २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका १४ लाख ६० हजार ६१२ जना बालबालिकालाई अभियान सञ्चालन गरी पोलियोविरुद्धको आईपीभी खोप लगाउने तयारी भएको स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ। नेपालमा २०७१ सालदेखि आईपीभी खोप सञ्चालन गरिएको हो। बीचको दुई वर्ष रोकिए पनि त्यसपछिका वर्षहरूमा यो खोप नियमित खोप कार्यक्रममा पर्दै आएको छ।

सरकारले पोलियो रोगविरुद्ध दुईवटा खोप सञ्चालन गरेको छ। ओपिभी खोप नियमित खोप सेवाको माध्यमबाट ६ हप्ता, १० हप्ता र १४ हप्ताको उमेरमा लगाउनुपर्ने हुन्छ।

यसैगरी आईपीभी खोप १४ हप्ता र ९ महिनाको उमेरभित्र  दिइने गरिए पनि २०७३ सालमा पोलियोविरुद्धको आईपीभी खोप विश्व बजारमा अभाव भएको कारण दिन नसकिएको र विश्व स्वास्थ्य संगठनले अहिले पनि त्यस वेला जन्मेका बालबालिकालाई यो खोप लगाउन मिल्ने सुझाव दिएपछि पोलियोविरुद्धको आईपीभी खोप अभियान शुरु गर्न लागिएको महाशाखाका निर्देशक डा. विवेकलाल कर्णले बताए। 

‘त्यस वेला विश्वबजारमा यो खोप अभाव भएका कारण ती बालबालिका आईपीभी खोपबाट पाउनबाट वञ्चित थिए। खोपबाट वञ्चित बालबालिका पोलियोको जोखिममा हुनसक्छन्। त्यसैले हामीले यी बीचमा छुटेका बालबालिकालाई खोप दिने अभियान सञ्चालन गर्न थालेका हौँ’‚ परिवार कल्याण महाशाखा प्रमुख डा. कर्णले भने। 

त्यसो त नेपालले सन् २०१४ मै पोलियोमुक्त राष्ट्रको रूपमा प्रमाणपत्र पाइसकेको छ तर दक्षिण एशियाली मुलुकहरू पाकिस्तान र अफगानिस्तानमा अहिले पनि पोलियोका विरामी देखिएका कारण अझै पनि नेपालमा जोखिम कायमै रहेको सरोकारवालाहरू बताउँछन्। 

नेपालमा पछिल्लोपटक सन् २०१० मा रौतहटमा पोलियोका विरामी भेटिएका थिए। सन् २०१० पछि नेपालमा हालसम्म पोलियोका विरामी भेटिएका छैनन्। 

महाशाखाका खोप शाखा प्रमुख डा. अभियान गौतमले आईपीभी खोप शुरु गरिसकेपछि बीचमा यो खोप अभाव भएको भन्दै बीचमा छुटेका बालबालिकालाई विद्यालयमै गएर र बाँकीलाई स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामा बोलाएर दिइने जानकारी दिए। उनले भने, ‘यो अभियान १३ जेठदेखि २६ जेठसम्म सञ्चालन हुनेछ। त्यस अवधिमा कतिपय स्थानीय तहले आफ्नो समय मिलाएर अभियान सञ्चालन गर्न हामीले सुविधा पनि दिएका छौँ तर त्यस समयमा लगाउन छुटेका बालबालिकालाई भने यो खोप अनिवार्य लगाउन हामीले आग्रह गर्छौँ।’

डा. गौतमले अहिले बीचमा छुटेका बालबालिकालाई मात्रै खोप दिन लागिएको भन्दै यसअघि जन्मेर आईपीभी लिइसकेको र पछि जन्मेर सो खोप लिइसकेकाहरूले अहिले खोप लिन नपर्ने समेत स्पष्ट पारे। खोप अभियानका लागि ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेशन (गाभी)को ३२ करोड बढी  सहयोग गरेको डा. गौतमले बताए। 

अभियानका लागि ३४ हजार ३५४ खोपकेन्द्र तयार गरिएको छ। यस्तै अभियानमा ३४ हजार ३०६ जना स्वास्थ्यकर्मी र ६० हजार १३ जना स्वयंसेवक परिचालन गरिने महाशाखाले जनाएको छ।

बालबालिकाको उमेर १४ हप्ताको भएपछि यो खोप लगाउन सकिने बताइएको छ। पोलियोका ३ प्रकारमध्ये टाइप वन, टाइप टू र टाइप थ्रीमध्ये मुखबाट दिइने ओरल पोलियो भ्याक्सिन (टाइप वन र टाइप थ्री) मुखबाट खुवाइने पोलियो थोपा (ओपीभी) खोप नियमित रूपमा सञ्चालन भइरहेको छ।  

टाइप टू नेपालमा लामो समयदेखि नदेखिए पनि यसको मृत पोलियो परजीवी मिसिएको आईपीभी भ्याक्सिन लगाउन थालिएको थियो। विश्व स्वास्थ्य संगठनले नै सो खोप प्रयोग गर्न विश्व समुदायलाई आह्वान गर्दै आएको छ।

पोलियो रोग पोलियो भाइरसबाट हुने एक सरुवा रोग हो। यो रोग लागेमा हातखुट्टा लुलो र पक्षघात हुनुको साथै मृत्युसमेत हुनसक्छ। पोलियो रोग लागेपछि यसको उपचार सम्भव छैन। पोलियो रोगको संक्रमण रोक्ने एकमात्र प्रभावकारी उपाय भनेको तालिकाअनुसार पोलियो रोगविरुद्ध वेलैमा खोप‍ लगाउनु नै हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.