|

काठमाडौँ : देशका दुई प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले फेरि आमनेसामने भएका छन्। प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चाहँदा सत्तामा त नचाहँदा प्रतिपक्षीमा आलोपालो रहँदै आएका कांग्रेस–एमाले अहिले एकअर्काविरुद्ध आगो ओकलिरहेका छन्।

एकअर्काविरुद्ध यसरी आक्रामक हुनुका प्रमुख दुई कारण छन्– एउटा सहकारी ठगी र अर्को गिरिबन्धु टि–स्टेट प्रकरण। २१ फागुनमा प्रधानमन्त्री प्रचण्डले आफूसँगको सहकार्य तोडेर एमालेसँग हात मिलाएयता कांग्रेस कडा प्रतिपक्षीका रुपमा उभिएको छ। 

कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई नै निशाना बनाएर संसदीय छानबिन समिति माग गरिरहेको छ। तर सत्तारुढ दलहरू त्यसमा तयार छैनन्। यसकारण संघीय संसद्का दुवै सदन अवरुद्ध छन् भने केही महत्वपूर्ण कार्यसूची सरकारले पेलेर अघि बढाउँदै आएको छ। 

संवैधानिक व्यवस्थाअनुसार भोलि मंगलवार बजेट ल्याउनुअघि नै सदनलाई सामान्य अवस्थामा फर्काउन प्रधानमन्त्री प्रचण्ड स्वयं सक्रिय भए पनि दुवै पक्ष आ-आफ्ना अडानबाट टसमस नहुँदा निकास निस्कन सकेको छैन। 

बरु यही बीचमा गिरिबन्धु टि–स्टेट प्रकरण पुनः सतहमा आएपछि कांग्रेस-एमालेबीचको दूरी फराकिलो हुँदै गएको छ। यी दुई प्रकरणलाई लिएर खासगरी कांग्रेस–एमाले आमनेसामने भएका छन्।

सहकारी प्रकरण उठाउँदै आएको कांग्रेसले १ जेठको संसदीय दलको बैठकमार्फत सदनमा गिरिबन्धु प्रकरणलाई पनि उठाउने निर्णय गर्‍यो, जसले कांग्रेस–एमाले दूरी अझ बढाएको छ। 

यी नै दुई प्रकरणलाई लिएर अहिले यी दुई दलबीच जुहारी नै चलेको छ। गिरिबन्धु टि स्टेटको २४३ बिघाभन्दा बढी जग्गा सट्टापट्टा गर्न ओली नेतृत्वको तत्कालीन सरकारका पालामा बनेको कानुनलाई खारेज गरेको सर्वोच्चको फैसलाको पूर्णपाठमा खारेज गर्ने त्यो निर्णयलाई नीतिगत भ्रष्टाचार भनिएको छ।

यसलाई लिएर ओलीले २ जेठको संसदीय दलको बैठकमा कांग्रेसमाथि कमिशन खाएर ७० बिघा सट्टापट्टाको नाममा बिक्री गर्न दिएको आरोप लगाए।

ओलीको उक्त आरोपपछि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पटक–पटक त्यसको प्रतिवाद गरेका छन्। उनले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेलाई जोगाएर गिरिबन्धु प्रकरणमा एमाले अध्यक्ष ओलीलाई पनि जोगाउन खोजिएको टिप्पणी आइतवार गरेका थिए। शर्माले भनेका थिए, ‘रविलाई साथ दिएर गिरीबन्धुमा एमालेले रविको साथ लिनु छ।’

कांग्रेसका भ्रातृ संस्थाहरूले गरेको विरोध प्रदर्शनमा पनि ‘सहकारी ठग कहाँ छन्? गिरिबन्धु जहाँ छन्’ भन्ने नारा लेखिएका प्लेकार्ड बोकेका थिए। 

कांग्रेसको दबाबले एमाले रुष्ट बनेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अघिल्लोपटक बसेको बैठकमा पनि ओलीले सोही विषय उठाउँदै आक्रोश पोखेका थिए।

प्रधानमन्त्री प्रचण्डले सोमवार सत्तापक्ष र विपक्षी नेताहरूलाई बालुवाटारमा बोलाएर गरेको छलफलमा पनि एमाले नेताहरूले कांग्रेसले अनावश्यक आरोप लगाएको भन्दै माफी माग्नुपर्ने बताए। 

प्रधानमन्त्रीसँगको छलफलपछि एमाले उपाध्यक्ष विष्णु पौडेलले आक्रोशित हुँदै कांग्रेसले लिखित रुपमा नै माफी माग्नुपर्ने बताए। ‘कांग्रेसले यी आरोपप्रति लिखित रुपमा क्षमा माग्नुपर्दछ। सार्वजनिक रुपमा माफी माग्नुपर्दछ।’

कांग्रेसले गलत लाञ्छना लगाएकाले माफी नमागे एमाले त्यसको प्रतिवादमा उत्रिने चेतावनीसमेत उपाध्यक्ष पौडेलले दिए। ‘यस प्रकारका अभिव्यक्तिबाट नेपाली कांग्रेस पछि हट्दैन भने यस्ता अभिव्यक्तिका विरुद्धमा राजनीतिक रुपमा प्रतिवादमा एमाले उत्रन्छ’, उनले भने। 

एमालेले उपाध्यक्ष पौडेलको उक्त चेतावनीपछि कांग्रेसका नेताहरू विभिन्न माध्यममार्फत जवाफ फर्काइरहेका छन्। पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकपछि महामन्त्री शर्माले नै यसकाे जवाफमा नेपाल उत्तर कोरिया नभएकाे भन्दै ओलीलाई जवाफ फर्काएका छन्।

'संविधान बनाउँदा हामी सँगै थियौँ गलत आरोप लगाउन छुट छ भने सही प्रतिवाद गर्ने छुट कांग्रेससँग छ। किनभने यो उत्तर कोरिया होइन नेपाल हो', उनकाे जवाफ छ। 

सर्वोच्चले पूर्णपाठ सार्वजनिक गरेपश्चात ओलीले कांग्रेसमाथि हुँदै नभएको आरोप लगाएपछि कांग्रेसले तथ्यसहित प्रतिवाद गरेको उनले प्रष्ट पारे।  

सहकारी प्रकरण छानबिनका लागि प्रस्तावित संसदीय समितिको टिओआरका सन्दर्भमा पनि मुख्यगरी एमाले–कांग्रेसबीच नै आरोपप्रत्यारोप चलिरहेको छ। एमालेले कांग्रेस नै सहमतिको पक्षमा नरहेको आरोप लगाएको छ भने कांग्रेसले सहमति नहुनुको मुख्य दोष एमालेलाई दिएको छ। 

सोमवार बालुवाटारमा सहमति नजुटेपछि एमाले उपाध्यक्ष पौडेलले भने, ‘कांग्रेस कुनै सहमतिको पक्षमा छैन भन्ने कुरा पछिल्ला दिनका अभिव्यक्ति र घटनाक्रमले संकेत गरिरहेका छन्। विशेष गरिकन असामयिक, असान्दर्भिक, आधारहीन र पूर्वाग्रहपूर्ण आरोपहरू लगाउँदै राष्ट्रिय राजनीतिलाई बिथोल्न कांग्रेस लागिरहेको छ।’

यता, प्रधानमन्त्री प्रचण्डप्रति नरम देखिएको कांग्रेसले सत्तारुढ एमाले, रास्वपालगायतका दलका कारण टिओआरमा सहमति हुन नसकेको आरोप लगाएको छ।

‘आज साँझसम्म जसरी हुन्छ डेडलक अन्त्य गर्नेगरी प्रधानमन्त्री लाग्नुभएको छ। प्रधानमन्त्रीको पहलकदमी उपयुक्त छ’, कांग्रेस सह-महामन्त्री जीवन परियारले भने, ‘तर समग्र सत्तापक्षले समस्या समाधान गर्नेतर्फ अझै पनि अल्झाइरहेको देखिन्छ।’ 

प्रधानमन्त्रीलाई ‘हाइसन्चो’

दुई प्रमुख दलबीच दूरी बढ्दै गएपछि प्रधानमन्त्री प्रचण्डलाई भने हाइसन्चो भएको छ। तेस्रो दल भएर पनि ठूला दललाई पालैपालो उपयोग गरेर निरन्तर सत्तामा रहिरहन सफल प्रचण्डलाई कांग्रेस–एमालेबीच दूरी बढ्नु कुनै पनि कोणबाट अनुपयुक्त छँदै छैन। 

२१ फागुनमा प्रचण्डले समीकरण फेरेलगतै वैकल्पिक गठबन्धनको बनाउने प्रयासस्वरुप कांग्रेसले ओली र रवि लामिछानेलाई प्रधानमन्त्रीको अफरसमेत गरेको थियो। त्यसबीचमा एमाले कांग्रेस मिल्न सक्ने चर्चा पनि राजनीतिक वृत्तमा नचलेको होइन। 

त्यसवेला भने प्रचण्डले पनि डरसहितको आक्रोश व्यक्ति गरेका थिए। कांग्रेस र सत्तारुढ दलकै नेताहरूले दुई ठूला दल मिले भने हालत के होला भनेर प्रश्न गरेपछि उनले ३० फागुनको संसद् बैठकमा भनेका थिए, “हामी ठूला दलहरू मिल्यौँ भने के गर्छस् भनेर साथीहरूले भन्नुभयो। शुभकामना छ, मिल्नुस्। सबै मिल्नुस्। तपाईंहरू मिल्दा माओवादी केन्द्र प्रतिपक्षमा बस्छ।”

एमालेकै कतिपय नेताहरू कांग्रेससँग मिल्ने पक्षमा रहेको चर्चा समेत चलेको थियो तर अध्यक्ष ओलीलाई विश्वासमा लिएर प्रचण्डले त्यो असम्भव तुल्याए। 

केही समयअघि पनि सत्ता समीकरणमै रहेका दलहरू कांग्रेससँग मिलेर वैकल्पिक गठबन्धन बनाउन सक्रिय भएका थिए। तर जसपा नेपाल विभाजनसँगै उक्त सम्भावना पनि तुहियो र प्रचण्ड सरकार सुरक्षित हुन सफल भयो।

७ जेठमा कांग्रेस सांसदहरुको होहल्लाकैबीच चौथो पटक विश्वासको मत लिएका थिए। अहिले कांग्रेस–एमालेबीच बढ्दो तनावले प्रचण्ड सरकार थप बलियो बनेको छ।

किनभने संसद्को अहिलेको अंकगणित कांग्रेस–एमाले एकअर्कासँग टाढिएको अवस्थामा ३२ सिटे माओवादीलाई बाहिर राखेर अर्को सरकार बन्ने कुनै सम्भावना छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.