'कसैको मुडमा नियम बनाएर नागरिकलाई दु:ख दिनु गलत'

|

काठमाडौं : गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको दिनमा महिला ट्राफिक प्रहरीहरूले महिनावारीका ४ दिन सडकमा ड्युटी गर्न नपर्ने भन्दै सामाजिक सञ्जालमा एक स्टाटस लेखे। उक्त स्टाटसलाई धेरैले सकारात्मक प्रतिक्रिया दिए। उक्त नियम त्यही दिनदेखि सुरू भएको थियो।

तर, उनले त्यही स्टाटसमा अर्को निर्णय पनि लेखे, ‘मापसेलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूले स्वयंसेवकका रूपमा उहाँहरूको (महिला ट्राफिक) साटो सडकमा सघाउनु हुनेछ।'  उनको यो निर्णय पनि बुधबारदेखि  लागू भएको छ। तर, यो निर्णय भने विवादमा तानिएको छ।

मादक पदार्थ सेवन, लेन अनुशासन, ओभरस्पिड लगायतको कारबाहीमा परेकाहरूलाई सडकमा खटाउँदा उनीहरूको गोपनीयताको हनन भएको तथा यो कार्य कानुन र संविधानविपरीत भएको सर्वत्र टिप्पणी भएका छन्।

मुडअनुसार कानुन बनाउनु गलत छ : मानव अधिकार आयोग

कोही कसैले गल्ती गर्छ भने कानुनले निर्देश गरेअनुसार सजाय दिनुपर्ने राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता डा.टीकाराम पोखरेल बताउँछन्।

भोलिन्टियरको अर्थ स्वंयले आफ्नो कसैको सेवा गर्नु भन्ने हुने भन्दै उनले प्रहरीको मुडअनुसार नागरिकलाई सजाय दिनु गलत रहेको उनले बताए।

‘गल्ती गर्नेको पनि मानव अधिकारको कुरा हुन्छ। उसको गोपनीयताको कुरा हुन्छ’, उनले भने, ‘कसैले चाहेकै भरमा गल्ती गर्नेहरूलाई सिधै सडकमा ल्याएर भोलन्टिएर गर्न लगाउनु उचित होइन।'

 ‘सामाजिक संजालमा नियम बनाएर नागरिकमाथि थोपार्नु उचित छैन। कानुन बनाउने ठाउँ छन्। छलफल हुनुपर्छ। सही भए कानुन बनाउन सकिन्छ’, डा.पोखरेलले भने, ‘तर, शक्तिमा भएको व्यक्तिले मुडअनुसार सजायको नियम बनाउँदै जाने हो भने गलत नजिर बस्छ।'

'कानुनमै नभएको व्यवस्था लागू भयो'

अधिवक्ता दिनेश त्रिपाठीले गृहमन्त्रीले एउटा लहडले कानुन  निर्माण गर्न नमिल्ने जिकिर गर्छन्। 'यो लोकतन्त्र हो। हामीले कानुनको सर्वोच्चतालाई सम्मान गर्नुपर्छ। तर, व्यक्तिको लहडले कानुन निर्माण गर्न मिल्दैन', उनले भने। 

कुनै एक व्यक्तिले फेसबुकमा स्टाटस लेखेकै आधारमा नियम नबन्ने उनको जिकिर छ। 'यो राणाशासन वा पञ्चायती व्यवस्था होइन। यहाँ नीति नियम बनाउने निकायहरू छन्। नागरिकको सर्वोच्चतालाई सम्मान गरेर नियम कानुनहरू निर्माण हुनुपर्छ। प्रहरीको पछिल्लो कारबाही रोकिनुपर्छ।'

ट्राफिक नियम उल्लंघन गर्दा त्यसमा हुने सजायका आफ्नै कानुनी प्रक्रियाहरू रहेको अधिवक्ता राधिका अधिकारी बताउँछिन्।

उनका अनुसार हरेक मान्छेले जानेर वा नजानेर गल्ती गर्न सक्छ। तर,  त्यो गल्तीको सजाय कानुनमा व्याख्या गरिएको छ। तर,  कानुनमा हुँदै नभएको सजाय ल्याएर जनतालाई दु:ख दिनु शक्तिको दुरूपयोग हो।

‘हामीले सामाजिक संजालमा ट्राफिक भोलिन्टियर गरेका युवा जमात देखेका छौँ। उनीहरूले ठूलै अपराध गरे जसरी सामाजिकता भरिएको छ। उनीहरूको गोपनीयता हनन भएको छ’, उनले भनिन्, ‘राज्यले हरेक नागरिकको अधिकार सुनिश्चित गर्नुपर्छ। गोपनीयताको हकलाई सम्मान गर्नुपर्छ।'

हामीले आदेश पालना गरेका हौँ : प्रहरी प्रवक्ता

एकदिनमा मात्र उपत्यकामा  करिब १ हजार ३ सय २ जनालाई ट्राफिक नियम उल्लंघन गरेको भन्दै प्रहरीले तातो घाममा भोलेन्टियरको नाममा उभ्याएको छ। उक्त नियमले नागरिकहरूले सकारात्मक प्रतिक्रिया दिएका छैनन्।

यस विषयमा काठमाडौं उपत्यका ट्राफिक प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक जीवन श्रेष्ठले आफूहरूले आदेशको पालना गरेको बताए।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ को उपदफा १ अनुसार पहिलोपटक गल्ती गरे पाँच सय, दोस्रोपटक सोही गल्ती गरे एक हजार र तेस्रो वा त्यसभन्दा धेरै गल्ती गरे एक हजार पाँच सय रुपैयाँसम्म जरिवाना गर्ने अधिकार ट्राफिक प्रहरीसँग छ। त्यसबाहेक अन्य कारबाही गर्ने अधिकार कानुनले ट्राफिक प्रहरीलाई दिएको छैन। 

‘यो सही हो या गलत भन्ने हाम्रो धारणा छैन। हामीले माथिल्लो निकायबाट आएको आदेश पालना गरेका हौँ’, उनले भने।

कानुन र संविधान विपरीतको सजाय : सडकविज्ञ गजुरेल

सडक विज्ञ इञ्जिनियर आशीष गजुरेल पनि ट्राफिक प्रहरीले सुरु गरेको ट्राफिक भोलेन्टियर संविधान र कानुनविपरीत भएको टिप्पणी गर्छन्।  ‘ट्राफिकले जसरी नागरिकलाई सडकमा उतारेको छ। यो कानुनसम्मत छैन। जुन कुरा कानुनमा छैन। उक्त कार्य गर्नु अपराध हो’, उनले भने।

नागरिकको गोपनीयताको कुरा हुन्छ। उनीहरूको परिचय खुल्ने गरी पोसाक लगाएर सडकमा उतार्नु गलत रहेको उनको टिप्पणी छ।

हाम्रो गोपनीयता भंग भयो

माइतीघरमा ट्राफिक नियम उल्लंघन गरेर ट्राफिक भोलेन्टियर गरिरहेका एक युवाले आक्रोशित हुँदै यो खालको नियम  एकदमै गलत भएको टिप्पणी गरे।

‘हामीले अन्जानमा गरेको गल्तीको सजायस्वरूप कानुनी कारबाही भोग्न तयार छौँ। तर, कारबाही पनि सहनु र सडकमा पनि उतारेर हाम्रो गोपनीयता भंग गरिदिनु आपत्ति छ’, उनले थाहाखबरसँग भने।

सानो गल्तीमा पनि हामीले ठूलै अपराध गरे जसरी सडकमा उतार्नु, मिडियामा, सामाजिक सञ्जालमा हाम्रो तस्वीर अपराधि जसरी प्रस्तुत गर्नु निन्दनीय रहेको उनको भनाइ छ।

‘यो कार्यले पारिवारिक रूपमा मानसिक तनाव व्यहोर्नुपरिरहेको छ। बिना तालिम सडकमा उतार्दा थप सवारी दुर्घटनाको जोखिम छ’, उनले भने।  यो खालको ट्राफिक नियम तत्कालै बन्द गर्नुपर्ने उनको भनाइ छ

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.