|

नेकपा (एकीकृत समाजवादी)को महाधिवेशन आउन अब एक महिना पनि बाँकी छैन। पटक–पटक सरेको महाधिवेशन फेरि नधकेलिए असार १६–२० मा हुनेछ। 

महाधिवेशन नजिकिएसँगै लामो समयदेखि विवादको विषय बनेको पार्टीको मार्गदर्शक सिद्धान्त केलाई मान्ने भन्नेमा नेकपा समाजवादीमा कुरा मिलेको दाबी गरिएको छ। पार्टी अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाल नै यसबारे आमनेसामने हुँदै आएका थिए। 

अध्यक्ष नेपालले जनताको बहुदलीय जनवाद (जबज) पार्टीले नछोड्ने बताउँदा नेता खनालले भने जबज फालेर समाजवादको बाटोमा जानुपर्ने बताउँदै आएका थिए। अन्ततः नेता खनालकै अडानमा सहमति जुटेको पार्टी उपाध्यक्ष जयन्तीदेवी राईले दाबी गरिन्। 

राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिकी सभापति रहेकी उनै उपाध्यक्ष राईसँग पार्टी महाधिवेशन, पार्टीले लिने आगामी रणनीति, राष्ट्रिय राजनीतिमा नेकपा समाजवादीको भूमिकालगायतका समग्र विषयमा कुराकानी गरिएको छ। प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः  

पार्टीको महाधिवेशनको तयारी के कसरी भइरहेको छ, फेरि पनि सर्ने त होइन ? 

महाधिवेशन सर्दैन। अहिले हामी सबै यसैको तयारीमा व्यस्त छौं। भर्खरै दस्तावेज टुंग्याएर थप परिष्कृत बनाउन जिल्ला–जिल्लामा पठाएका छौं। आर्थिक पाटोको व्यवस्थापनमा पनि जुटिरहेका छौं। प्रतिनिधिहरू कसरी ल्याउने भन्ने चाहिँ टुंगिएको छैन। संगठन विभागको बैठकले केही वर्कआउट गरेर ल्याएपछि सचिवालयको बैठक बस्छ र यो विषय पनि टुंगिन्छ। निर्वाचन क्षेत्रका आधारमा वा पार्टी संगठित सदस्यको आधारमा वा दुवैबाट छानिएर आउन सक्ने गरी मापदण्ड तोकिन सक्छ। त्यसमा विभिन्न जनसंगठनबाट पनि छानिएर आउनुहुन्छ। 

नेतृत्वमा बलिया दुई आकांक्षी हुनुहुन्छ, कसरी टुंगिएला ? 

महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वको सवालमा बढी चासो राखिनु अस्वभाविक होइन तर यसतर्फ हाम्रो भने धेरै ध्यान गएको छैन। तपाईँले भनेजस्तो आकांक्षी दुबैजना हुनुहुन्छ। यद्यपि सम्मानित नेताले आधिकारिक रूपमा पार्टीमा भन्नुभएको चाहिँ छैन। 

वर्तमान अध्यक्ष स्वतः आकांक्षी हुनुहुने नै भयो। पुस्तान्तरणका कुरा पनि व्यापक रूपमा उठिरहेको छ तर जोसुकै भए पनि हामीले सकेसम्म सहमतिको आधारमा नै नेतृत्व टुंग्याउँछौं।

​भोलि हुँदै भएन भने चुनावी प्रक्रिया त छँदै छ तर पार्टीमा बढी नेताहरू सर्वसम्मत नै नेतृत्व चुनेर जानुपर्छ भन्नेमा हुनुहुन्छ। 

महाधिवेशनपछि नेकपा समाजवादीको मार्गदर्शन केलाई मान्छ ? जबज कि समाजवाद ? 

यसमा हाम्रो कुरा मिलिसक्यो। अहिले कुनै विवाद छैन। आजको हाम्रो कार्यदिशा भनेको समाजवाद निर्माणकै हो भन्नेमा हामी निरन्तरको छलफलपछि निष्कर्षमा पुगिसक्यौँ। 

अहिले जबज हाम्रा लागि हुनै सक्दैन। हिजो पनि न्यूनतम एउटा कार्यक्रम न थियो। जसबाट प्राप्त उपलब्धि ठिक छन्। राम्रा छन्। जनवादी क्रान्ति सम्पन्न गर्ने वेलासम्म त्यो ठिक थियो। त्यसको भूमिका थियो, महत्व थियो। अब भने जबजले मार्गनिर्देश गर्न सक्दैन, दिशा निर्देश गर्दैन। यसमा हामी एकमत छौं। 

भनेपछि अध्यक्ष नेपाल जबजबाट ब्याक हुनुभयो ?

हो। ब्याक हुनुपर्छ। किन पनि भने हामी किन एमालेभन्दा फरक त ? एमालेबाट किन विभाजित भयौँ ? भन्दा विचार, कार्यक्रम, आचरण, कार्यशैली सबै फरक भएर हो नि। त्यसकारण त्यहीँ रहेको विचारलाई फेरि अँगाल्ने हो भने किन फरक ?

नेताहरूबीच पनि प्रशस्त छलफल भएको छ। सचिवालय, केन्द्रीय कमिटी सबै तहमा छलफल भएरै हामी यो (समाजवाद) भनेर गएको हुनाले मलाई लाग्छ, यसमा अब नेताहरू पनि थप वादविवाद गर्नुहुन्न। 

पार्टी क्रमशः खिइँदै गएका वेला महाधिवेशनबाट पार्टी र जनतामा नयाँ ऊर्जा भर्छौँ भन्नुभएको छ, कसरी ? 

हामीले खाली दलहरूलाई मात्रै फाइदा पुग्ने कार्यक्रम होइन कि अब जनताको जीवन परिवर्तन गर्ने खालको कार्यक्रम ल्याउने हो। आर्थिक योजनाका कार्यक्रम, युवाहरूलाई विदेश पलायन रोक्ने कार्यक्रमको कुरा हामीले गरेका हौं। अहिलेको समस्याबाट जनतालाई मुक्ति दिलाउँदै समाजवादी क्रान्ति सफल पार्ने खालको कार्यक्रमको कुरा हामीले गरेका हौँ। 

एमालेबाट विद्रोह गर्नुको उद्देश्यमध्येको एक यो पनि हो। जनताले देख्ने, बुझ्ने, काम गर्नुपर्‍यो। कार्यक्रम बनाउनुपर्‍यो, त्यसैअनुसारको पार्टी र संगठन बनाउनुपर्‍यो।

​आज एकदुईवटा राम्रा कुरा गरेकै कारण जनताले नयाँ पार्टीलाई किन रोजे त भन्दा पुरानो पार्टीले गर्न सकेनन् भन्ने नै हो नि। यी सबै कुरालाई हामीले देखेका छौं, भोगेका र बुझेका छौँ। त्यसकारण अब साँच्चै हामीले गरेनौं भने हाम्रो खैरियत छैन भन्ने निष्कर्ष हाम्रो हो। 

अब हामी जस्तो छौं यस्तो रहन हुँदैन है भनेर हाम्रो प्रत्येक बैठकमा छलफल हुन्छ। यिनै कुरालाई फोकस गरेर हामीले दस्तावेज पनि तयार गरेका छौं। त्यसकारण महाधिवेशनले हामीमा नयाँ ऊर्जा भर्छ भन्नेमा विश्वस्त छौँ। 

तपाईँले यसो भन्दै गर्दा अध्यक्ष माधव नेपाल त सत्तासाझेदार दलहरूसँग भागबन्डाको बार्गेनिङमै व्यस्त देखिनुभएको छ नि ? 

त्यस्तो होइन। पहिलो कुरा त सरकार नै हाम्रो प्राथमिकतामा छैन। तपाईँले बार्गेनिङको जुन आरोप लगाउनुभयो, यो पनि जसरी बाहिर आएका छन्, त्यस्तो होइन। 

सरकारको एउटा घटक दल भइसकेपछि, एकले अर्काको अस्तित्व स्विकारिसकेपछि पाउने कुरा माग्नु त स्वभाविक हो नि। त्यो अधिकारको कुरा हो। मानौं खाना खान लाइनमा बसिसकेपछि कसैले खाने कसैले हेर्ने त हुँदैन। गठबन्धनको मर्म नै त्यो हो।  

फेरि हामीले धेरै देऊ भनेको कहाँ हो र। आफ्नो भागमा परेको जति हो त्यो देऊ भनेको हो। त्यसमा पनि कञ्जुस्याइँ र अपमान गरिएपछि हामीले प्रतिवाद गरेको हो। 

विपक्षीसँग निकटता बढाउनुको कारण पनि यही हो ? 

होइन, हामी सधैँ वामपन्थी सहकार्यका पक्षमा छौं। त्यसकारण हाम्रो प्राथमिकता भनेकै अहिलेकै सरकार हो। 

हाम्रा अध्यक्षले कांग्रेस सभापति भेट्नुभएको कुरालाई अनावश्यक उचालियो। हाउस बन्द हुने स्थिति थियो, जताको समस्यामा छलफल बहस र हल हुन नसक्ने अवस्था,  भ्रष्टाचारका विषय यत्रतत्र आइरहेका वेला हाम्रो पार्टीको पनि निकासका लागि केही भूमिका हुनुपर्छ भन्ने थियो, यो कुरा हामीमा गढ्यो। त्यसकारण यही सन्दर्भमा भेट्नुभएको कुरालाई अनावश्यक उचालियो। 

फेरि एउटा दलको अध्यक्षले अर्को दलको अध्यक्षलाई भेट्नु, देशको यत्रो विद्यमान समस्याबारे छलफल गर्नु, यो त अपराध होइन नि !   

जसपा नेपाल फुट्दै गर्दा नेकपा समाजवादी पनि विभाजन हुन लागेको हल्ला थियो‚ यथार्थ के थियाे ? 

त्यो खेल नभएको होइन। जसपा नेपालमाथि जुन षड्यन्त्र भयो, त्यसको शिकार हामी पनि झन्डै भएकै हौं। त्यसका लागि अमुक व्यक्तिहरू लागेकै हुन् तैपनि फुटाउन खोज्ने शक्तिभन्दा हामी बढी एक भयौं/रह्यौं। फलस्वरूप हामी एक छौं र रहन्छौं।  

पार्टीभित्रकै कुनै न कुनै पक्षको साथ थियो होला र त फुटाउन चाहनेहरूले खेल्ने अवसर पाए होलान् नि होइन र ? 

हो पार्टीभित्रै पनि केही थिए। विभिन्न प्रलोभनबाट उहाँहरू प्रभावित हुनुभएको थियो तर नेतृत्व एक हुँदा त्यो हुन पाएन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.