सरकारकै कारण स्थायी निकास भएन : सांसद डाँगी

|

काठमाडौं : वर्षायाम सुरु हुन लागेसँगै मेलम्ची खानेपानी आयोजना बन्द गर्ने तयारी गरिएको छ। मेलम्ची खानेपानी विकास समितिले यही जेठ ३१ गतेदेखि बन्द गरिने जानकारी दिएको छ। 

तर, मनसुन सुरु नभएमा पानी बन्द नगरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक निर्देशक रत्न लामिछानेले जानकारी दिए। उनले भने, ‘यही जेठ ३१ गतेबाट सुरूङमा पानी पठाउन बन्द गर्ने मन्त्रालयमा छलफल भएको छ,तर मनसुन सुरु नभई पानी परेन भने चाहिँ केही समय ठूलो पानी नपर्दासम्म पानी बन्द हुँदैन।’ 

राज्यले दीर्घकालीन पानीको व्यवस्थापन गर्न नसक्दा अस्थायी रूपमा पानी ल्याउने र वर्षात सिजन सुरु भएपछि बन्द गर्नुपर्ने परिस्थिति छ। जल तथा मौसम विज्ञान विभागले वर्षाको मनसुन यही जुन १३ अर्थात् जेठ ३१ गतेदेखि नेपाल प्रवेश गर्ने आँकलन गरेको छ।

यद्यपि, मनसुन भित्रिने सरदर मितिभन्दा केही दिन तलमाथि पर्नेछ। महाशाखाका मौसमविद् रोजन लामिछानेले मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको छ।

त्यसैले आयोजनामा क्षति नपुगोस् भनेर बन्द गर्न लागिएको हो।  सन् २००१ मा सुरु भएको आयोजना दुई दशकपछि अर्थात् पहिलोपटक २०७८ चैत १५ गते काठमाडौं उपत्यकामा पानी वितरण थालिएको थियो।

तर, २०७८ साल असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुर्‍यायो। क्षति भएको ९ महिनापछि अर्थात् २०७९ वैशाख ११ गते अस्थायी रूपमा फेरि पानी काठमाडौं ल्याइयो। 

सरकारले पहिला जस्तो बाढीबाट क्षति हुन नदिन भन्दै २०७९ जेठ १७ गते मेलम्चीको पानी ल्याउन बन्द गरेको थियो। बर्खा सकिएपछि पनि समयमा पानी आउन सकेन। बन्द गरेको ६ महिनापछि मात्र मेलम्चीको पानी काठमाडौं आयो। क्षति मर्मतपछि गत मंसिर २३ गतेदेखि पानी वितरण भएको थियो।

फेरि मेलम्ची खानेपानी विकास समितिले गत बर्खामा पनि मेलम्चीको पानी ल्याउन संरचना मर्मत गर्ने भन्दै गत जेठ ५ गतेदेखि १५ गतेसम्म अर्थात् १० दिन पानी पठाउन बन्द गर्‍यो। उक्त संरचना मर्मतपछि उपत्यकामा पानी आयो। विकास समितिले बर्खामा पनि पानी आउने जनाएको थियो तर क्षति हुन नदिन भन्दै पुनः बन्द गरियो।

नभन्दै गत वर्षको बाढीले पनि आयोजनामा क्षति पुर्‍यायो। क्षति मर्मतपछि अहिले भने पानी वितरण भइरहेको छ तर अस्थायी रूपमा मात्रै। मेलम्ची खानेपानी आयोजनाको दातृ निकाय एसियाली विकास बैंक (एडिबी) ले दीर्घकालीन व्यवस्थापनका लागि सरकारलाई मेलम्ची खानेपानीको हेडवर्क्स सार्न सुझाव दिएको छ।

तर,यो सुझाव एक वर्ष पुग्न लाग्दा पनि सरकारले केही निर्णय गर्न सकेको छैन। मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले दीर्घकालीन रूपमा काठमाडौंमा पानी ल्याउनुपर्ने हो उक्त सुझावअनुसार हेडवर्क्स सार्नु नै पर्ने बताउँदै आएका छन्।

नदीतिरै नफर्काउन संघर्ष समितिको चेतावनी

समितिले पानी बन्द गर्ने भनिरहँदा यता मेलम्ची खानेपानी बाढी पीडित संघर्ष समिति र त्यस क्षेत्रमा क्रियाशील राजनीतिक दलहरूले हिजो संयुक्त विज्ञप्ति जारी गर्दै सुरूङ प्रवेश गराइएको पानी यस वर्षको वर्षा याममा निरन्तर पथान्तरण गर्न र नदीतिर नफर्काउन चेतावनी दिएका छन्।

संघर्ष समिति,हेलम्बु गाउँपालिका समिति नेपाली कांग्रेस, हेलम्बु गाउँपालिका कमिटी नेकपा (एमाले), हेलम्बु गाउँपालिका कमिटी नेकपा (माओवादी), हेलम्बु गाउँपालिका समिति राष्ट्रिय स्वतन्त्र पार्टी, हेलम्बु गाउँपालिका समिति राष्ट्रिय प्रजातन्त्र पार्टीले जारी विज्ञप्तिमा मेलम्ची खानेपानी आयोजना र यसबाट प्रभावित क्षेत्रमा २०७८ साल असार १ र साउन १६ र १७ गते आएको भीषण बाढीका कारण आयोजनाको मुख्य हेडवर्क्सभन्दा तल्लो तटीय क्षेत्रका मुख्य सडक मार्गमा क्षति पुगेको उल्लेख छ।

त्यस्तै, झोलुंगे पुल, पुल पुलेसा, सिँचाइ कुलो, पाटी पौवा, मठमन्दिर, हेलम्बु इलाका प्रहरी कार्यालय, हेलम्बु गाउँपालिका २ नं वडा कार्यालय, नागरिकका घर गोठमा क्षति पुगेको भनिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘नागरिकका जीविकोपार्जनसँग जोडिएको हजारौँ रोपनी खेतीयोग्य फाँटहरू, विद्यालय, क्याम्पसका पूर्वाधार तथा दर्जनौँ व्यावसायिक फार्म ट्राउट, कुखुरा, च्याउ फार्म, घट्ट, मिल, हाते कागज, काष्ठ, ब्लक, स–मिल, फर्निचर, पसल, होटल, रिसोर्ट इत्यादि तहसनहस हुनुका साथै नागरिकको दैनिकी जीवन कहालीलाग्दो रहेको सर्वविदितै छ।’

तर, पनि राज्यले यस्तो परिस्थितिलाई सहजता, समाधान उन्मुख र नागरिकका चोटहरूमा मलमपट्टी गर्न केही पहल नभएको उनीहरुको गुनासो छ।

‘केही वर्षदेखि हिउँद सुरूवातसँगै तामझामका साथ पानी काठमाडौँ प्रवेश गराउने र जब मनसुन सुरू हुन्छ त्यसपश्चात् पानी पुनः नदीमै फर्काउने र तटीय क्षेत्रको जोखिम ख्याल (वास्ता) नगर्ने प्रवृत्ति र मानसिकताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, तसर्थ सुरुङ प्रवेश गराइएको पानी यस वर्षको वर्षायाममा निरन्तर पथान्तरण गर्न र नदीतिर नफर्काउन बाढीपीडित संघर्ष समिति, यस क्षेत्रमा क्रियाशील राजनीतिक दलका तर्फबाट विनम्रतापूर्वक संयुक्त अपिल गर्दछौँ, ’विज्ञप्तिमा उल्लेख छ।

७० अर्बभन्दा बढी खर्च हुँदा पनि आएन पानी

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले राज्यले बिनाआधार पूर्वाधारहरूमा लगानी गर्दा अर्बौं लगानी खेर गएको बताएकी छिन्। त्यसैले पूर्ण अध्ययन गरेर मात्र लगानी गर्नुपर्ने माग गरिन्।

उनले आज भएको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै मेलम्ची खानेपानी विषयमा पनि कुरा उठाइन्। उनले ७० अर्बभन्दा बढी मेलम्चीमा खर्च भइसकेको तर ६ महिना मात्रै पानी आउने गरेको बताइन्।

उनले भनिन्,‘राज्यले बिना आधार पूर्वाधारहरूमा लगानी गरिरहेको छ, मेलम्ची खानेपानीमा हालसम्म ७० अर्बभन्दा बढी खर्च भइसकेको छ तर, काठमाडौंवासीले अझैसम्म पानी पाउन सकेका छैनन्, वर्षको ६ महिना अझैसम्म पनि बन्द गर्नुपर्ने स्थिति छ।’

कसरी होला समस्या समाधान?

मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समिति र त्यस क्षेत्रमा क्रियाशील राजनीतिक दलहरूले यो अनुरोध र अपिललाई कमजोरी ठान्दै जबरजस्ती नदीतिरै फर्काउने प्रयत्न गरिएमा आगामी लामो समयदेखि उठाउँदै आएका मागहरूको सम्बोधन नगरी पुनः पानी पथान्तरण गर्न असम्भव हुने चेतावनी दिएका छन्।

तर, यस वर्ष पनि पानी नदीतिर नफर्काए आयोजनामा ठूलो क्षति पुग्ने समितिका कार्यकारी निर्देशक लामिछानेले बताए। ‘नदीतिर नफर्काउन माग त आएको छ, तर पानी नफर्काए आयोजनामा क्षति पुग्छ, त्यसैले पानी बन्द गरी नदीतिरै फर्काउनुपर्ने बाध्यता नै छ,’उनले भने।

उनीहरूको मागको विषयमा राज्यले धेरै हदसम्म पूरा गरिसकेको उनले जानकारी दिए। ‘जुन उहाँहरूको माग बजेटले पनि सम्बोधन गरेको छ,’ उनले भने, ‘तर उहाँहरूलाई जानकारी छैन जस्तो छ, बाँकी माग पनि राज्यले सम्बोधन गर्छ, सम्भव पनि छ,त्यसैले माग पूरा भएपछि त्यहाँको समस्या समाधान हुन्छ।’

वर्षाको समयमा पुन: मेलम्ची पानी बन्द गरिने भएपछि उपत्यकामा फेरि खानेपानीको समस्या देखिने निश्चित छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.