|

काठमाडौँ :  गत जेठ १० गते सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा दोषी ठहर भएका एक जना इन्जिनियर घरमै मृत फेला परे। 

सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल झुण्डिएको अवस्थामा भेटिए। उनको घरमा सुसाइड नोटसमेत फेला परेको थियो। उनले छाडेको सुसाइड नोटमा 'आफ्नो मृत्युमा कसैको हात छैन, अरुलाई दोष लगाउनु पर्दैन' भन्ने उल्लेख थियो।

कागेश्वरी मनहरा नगरपालिका–५ थलीमा मंगलवार बिहान  कृष्ण नगरकोटी मृत भेटिए। बिहान ५ बजे घाँटी रेटिएको अवस्थामा नगरकोटीको शव थली ओरालोनजिक बन्दै गरेको ढुंगाको पर्खालको छेउमा भेटिएको थियो।

नगरकोटीको शव भेटे लगत्तै प्रहरीले उनका छोरालाई पनि दक्षिणकाली पुगेर आत्महत्या गर्न लागेका वेला घाइते अवस्थामा उद्धार गर्‍यो। केही समयदेखि घर छाडेर उनीहरू विभिन्न ठाउँमा बस्दै आएका थिए। 

कृष्णले पारिवारिक अवस्था, गरिबीलगायतले जिन्दगीबाट दिक्क लागी आत्महत्या गरेको खुलेको छ। उनले छोरालाई पनि आत्महत्या गर्न सिकाएका पाइएको छ। छोरालाई उनले मुखमा कपडा राखी ब्लेडले घाँटी काट्ने तरिका सिकाएर २ वटा ब्लेड र १२५ रुपैयाँ गाडी भाडासमेत दिई  पठाएका थिए। 

'दक्षिणकाली नगरपालिका–१ को जंगलमा गई आत्महत्या गर्नु, म पनि कुनै स्थानमा गई आत्महत्या गर्छु', कृष्णले भनेको कुरा उल्लेख गर्दै छोराले प्रहरीमा बयान दिएका छन्। 

गत मंसिरमा  धनकुटा नगरपालिका–१ निगालेमा एक पुरुषले श्रीमती र छोराको हत्या गरी आत्महत्या गरे। ३५ वर्षीय टिकाराम गुरुङले राति श्रीमती ३६ वर्षीया भीमा र छोरा १० वर्षीय आयुष गुरुङको हत्या गरी आत्महत्या गरेका थिए। अत्यधिक मादक पदार्थ सेवन गर्ने उनी काम्ने समस्याको उपचार गराइरहेका थिए।

यस्तै,  जेठ २३ गते काठमाडौँ महानगरपालिका–७ चाबहिलस्थित सरस्वती नगरमा एक पुरुषले पेट्रोल छर्केर आफैँलाई आगो लगाएपछिको घटनामा ५ जना घाइते भए। 

बुधबार ५५ वर्षीय चञ्चलबहादुर सिंहले आफ्नै शरीरमा आगो लगाउँदा उनीसहित परिवारका ५ जना घाइते भएका हुन्। घरायसी झगडा र मादक पदार्थ सेवन गरेर सिंहले घरमै आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ। 

बुबाले छर्केको पेट्रोलका कारण शरीर जलेर उनका दुई छोरीहरू गम्भीर घाइते भएका छन्। २४ र १६ वर्षीया छोरीहरू गम्भीर घाइते भएका हुन्।

यी केही उदाहरण मात्र हुन्। समाजमा हरेक दिन केही न केही कारण आत्महत्या गर्ने र ज्यान लिने क्रम रोकिएको छैन। जब मान्छे पारिवारिक रुपमा, सामाजिक रुपमा एक्लिएको महसुस गर्छ उसले आत्महत्याको बाटो रोज्ने गरेको प्रहरीले बताउँछ।

लागुऔषध तथा मदिरा सेवन, करिअरको तनाव, परिवारको टर्चर, सामाजिक तथा आर्थिक जटिल अवस्था जस्ता विषयले मान्छेहरूले योजनाबद्ध तथा आवेगमा मृत्युवरण गरिरहेका छन्।

प्रहरीका अनुसार आफन्तको मृत्यु वा बिछोड, मानसिक तथा मनोसामाजिक स्वास्थ्य समस्या,  यातना वा हिंसा,  सहयोगी व्यक्तिको कमी, इमानमाथि प्रश्न, दीर्घ रोग, व्यापार तथा परीक्षामा असफलता, बेरोजगारी तथा आर्थिक समस्या आत्महत्याका कारक हुन्।

नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीका अनुसार निरासा बढ्दै जानु, विवाहेत्तर सम्बन्ध, उच्च महत्वकांक्षाले पनि घटना भइरहेका छन्। उनले किशोरावस्था वा युवाहरूको अवस्थामा हेर्दा पढाइमा असफला र प्रेम जीवनको उतारचढावले आत्महत्या बढाएको बताए। 

‘सामाजिक सञ्जालबाट सम्बन्धमा बस्ने र अत्याधिक विश्वास गरी अन्तरंग विषय पार्टनरलाई सार्वजनिक गर्ने अनि खटपट हुने बितिक्कै सामाजिक सञ्जालमा सार्वजनिक गरिदिन्छु भनेर धम्की दिने, हलिदिने जस्ता कुराले पनि सुसाइड गर्ने क्रम बढेको छ’, किशोरावस्था र युवाहरूको आत्महत्याको कारणबारे प्रवक्ता कार्कीले भने।

यस्तै, वृद्ध अवस्थामा भने आर्थिक असफलता, एक्लोपन, पारिवारिक कलहले गर्दा उनीहरूले मृत्युको बाटो अंगाल्ने गरेको कार्कीले बताए।

आत्महत्यासम्बन्धी घटनाको अवस्था?

२०७५/७६ मा ५ हजार ७५४ वटा आत्महत्याका घटना भएका छन्। प्रहरीको तथ्यांकअनुसार ७६/७७ मा ६ हजार २४१, ७७/७८ मा ७ हजार ११७, ७८/७९ मा ६ हजार, ७९२ र ७९/८० मा ६ हजार ९७४ जनाले आत्महत्या गरेका छन्।

रोकथामका उपाय

- अत्यन्तै दुःखी, चिन्तित र पीडित भएको व्यक्ति र ऊ तपाईँका लागि महत्वपूर्ण व्यक्ति हो भन्ने महसुस गराउनुस्।

-मानसिक समस्याका बिरामीलाई चिकित्सकमा पुर्‍याउनुस्।

-सामान्यतया मानसिक समस्याका लक्षण देखिनासाथ बिरामीलाई उचित मानसिक परामर्श र उपचार गर्नुस्।

-मानसिक विचलन जो सुकैलाई पनि हुन सक्छ। उनीहरूको कुरा सुनौँ। यो सामान्य हो भन्दै उपेक्षा नगरौँ।

​-सकेसम्म आफूलाई व्यस्त बनाउनुस्।

​-आफ्नो समस्या नजिकका साथी, परिवारलाई बताउनुस्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.