|

काठमाडौं :  शरीरको कुनै पनि अङ्गमा अनावश्यक मासु पलाउनुलाई ट्युमर भनिन्छ। मष्तिष्कमा अनावश्यक मासुको डल्लो पलाउनुलाई नै ब्रेन ट्युमर भनिन्छ।

ब्रेन ट्युमर भएपछि मानिसको दिमागमा कोशिकाहरु चाहिनेभन्दा धेरै बढ्ने गर्दछन् र फैलने गर्छन्। ब्रेन ट्युमरको अवस्थालाई विश्लेषण गर्दा प्रारम्भिक अवस्था र जटिल अवस्थाका रुपमा हेर्न सकिन्छ। प्रारम्भिक अवस्थाको ब्रेन ट्युमर मष्तिष्कमा सुरु हुन्छ। कहिलेकाहीँ यी ट्युमरहरू फुटेर मस्तिष्क र मेरुदण्डको अन्य भागहरूमा फैलिन सक्छन्।

सेकेन्डरी अर्थात् मेटास्टाटिक ब्रेन ट्युमरलाई घातक ट्युमरहरू भनिन्छ, जसले शरीरको अन्य ठाउँमा क्यान्सरका रूपमा उत्पन्न हुन्छ र विस्तारै मष्तिष्कसम्म फैलिन्छ। यस खालको ब्रेन ट्युमर प्राथमिक ब्रेन ट्युमरभन्दा चार गुणा बढी जटिल हुन्छ। ब्रेन ट्युमरका कारण ब्रेन ट्युमर तथा क्यान्सर किन हुन्छ भन्ने ठोस कारण अझै पत्ता लाग्न सकेको छैन।

त्यसैले यस वर्षको अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवसको सन्देश पनि ब्रेन ट्युमर जोखिमको कारण पत्ता लगाउनु भन्ने छ। ब्रेन ट्युमर हुनुको एउटा कारण यो जेनेटिक असरबाट हुने गर्छ। शरीरका कोषिकाहरु सामान्य रुपमा नभएर असामान्य ढङ्गबाट बढ्दै गएको अवस्थामा ब्रेन ट्युमरको समस्या आउने गर्दछ।

कतिपयलाई पुर्ख्यौलीका आधारमा पनि भएको पाइन्छ। मानिसको उमेर बढ्दै जाँदा शरीरका अङ्गहरू क्रमशः कमजोर हुने क्रमसँगै ब्रेन ट्युमरको सम्भावना पनि बढ्दै जाने गर्दछ। हेपाटाइटिस, एड्सजस्ता रोग लागी कमजोर भएका व्यक्तिको लिम्फोमा ट्युमर हुने उच्च सम्भावना रहेको छ। ब्रेन ट्युमर हुनुको अर्को कारण खराब विकिरणलाई पनि लिन सकिन्छ।

एक्स रे, सिटिस्क्यान गराउँदा निस्कने विकिरण हानिकारक मानिन्छ। ब्रेन ट्युमरको उपचारमा धेरै प्रयोग हुने प्रविधि भनेको एसआरएस अर्थात् ट्याक्सी रेडियो सर्जरीलाई लिने गरिन्छ। यसले कतिपय ब्रेन ट्युमरलाई शल्यक्रिया नगरी सुकाइदिन्छ तर उच्च डोजको विकिरण हुने भएकाले शरीरका अन्य भागमा प्रत्यक्ष असर गर्दछ र पछि क्यान्सरको जोखिम बढाउँछ।

अनुसन्धानबाट यस्तो अवस्था पाँच प्रतिशतमा आएको देखिन्छ। तर यो प्रविधि निकै प्रचलित रहेको छ। चोटपटक लागेर पनि टाउकोमा ट्युमर पलाउन सक्छ। दिमागको इन्फेक्सनका कारण पनि ट्युमर हुनसक्छ। मोटोपन भएका व्यक्तिमा ब्रेन ट्युमर हुने जोखिम अझ बढी रहन्छ। पछिल्लो समय धेरै मोबाइल फोन प्रयोग गर्नेहरूमा पनि यो समस्या देखिएको छ। बच्चा पेटमा रहेदेखि वृद्धावस्थासम्म ट्युमरको सम्भावना रहन्छ। अझ खासगरी बच्चाहरूमा यो झन् जटिल रहेको पाइन्छ।

किनकी उनीहरुले आफूभित्र भएको समस्या राम्ररी भन्न नसक्ने हुँदा पछि झन् जटिल अवस्था सिर्जना भएको छ। उनीहरुको टाउकोको आकार बढ्यो, उमेरअनुसारको गतिविधि देखिएन भने मात्रै अभिभावकले चिकित्सक कहाँ ल्याउँछन्, त्यतिबेला उनीहरुको अवस्था गम्भीर बनिसकेको हुन्छ। बच्चाको शरीर कमजोर हुने भएकाले पनि झन् जटिल समस्या आउने गर्दछ।

मानिसमा सयभन्दा बढी प्रकारका ब्रेन ट्युमरहरू हुन सक्छन्। मुख्य रुपमा तीनलाई दुई किसिमबाट हेर्न सकिन्छ। एउटा नबढ्ने (बेनाइन) र अर्को बढ्ने (म्यालिग्नेन्ट)। बेनाइन ट्युमरहरु नफैलिने वा बिस्तारै बढ्ने खालको हुन्छन्। तर कहिलेकाहीँ तिनीहरूले मष्तिष्कको भागहरूलाई क्षति पुर्‍याई गम्भीर समस्या ल्याउन सक्छ।

वेनाइनको पनि पहिलो र दोस्रो स्टेजका विरामीको उपचारबाट रोगको पूर्ण रुपमा निको गर्न सकिन्छ भने म्यालिग्नेन्टलाई क्यान्सर भन्न मिल्छ। ब्रेन ट्युमरका तेस्रो र चौथो स्टेजका विरामीलाई क्यान्सर भइसकेको हुँदा पूर्ण रुपमा निको पार्न सकिंदैन। म्यालिग्नेन्ट ट्युमरहरु दिमागको अरु भागमा फैलिन सक्छ।  तिनीहरू सामान्यतया छिटो बढ्छन्। अन्य क्यान्सरभन्दा मष्तिष्कको क्यान्सर घातक मानिन्छ। त्यस्ता विरामीको उपचारपछि पनि पुनः पलाउने सम्भावना बढी हुन्छ।

शल्यक्रियासँगै किमोथेरापी र रेडियोधर्मी गर्दागर्दै पनि अर्को ठाउँमा क्यान्सर देखिन सक्ने सम्भावना उच्च हुन्छ।

यस्ता देखिन्छन् लक्षण

ब्रेन ट्युमर भएमा सुरु सुरुमा टाउको दुख्ने समस्या हुन्छ। टाउको दुख्नु ब्रेन ट्युमरको सबैभन्दा प्रमुख र सुरुआती लक्षण हो। ब्रेन ट्युमर भएको मानिसलाई टाउको दुख्ने क्रम दिनहुँ बढ्दै जान्छ, औषधि खाँदा पनि ठीक हुँदैन। अचानक बिहान उठ्ने बित्तिकै आँखामा अँध्यारो हुने, चक्कर पनि आउँछ र चक्कर या बान्ता आउने जस्तो लगातार भइरहन्छ भने यो पनि ब्रेन ट्युमरको लक्षण हुन सक्छ।

ब्रेन ट्युमर तीव्र गतिमा फैलिन्छ। यसले शरीरमा छट्पटाहट पैदा गर्छ। टाउको दुख्नुका साथै छट्पटाहट महसुस हुन्छ भने तुरुन्तै अस्पताल जानुपर्छ। कतिपयलाई छारे रोग वा पटकपटक बेहोस हुने पनि हुन्छ। राम्ररी सुन्न नसक्ने, गन्ध थाहा नपाउने, राम्ररी नदेख्ने, हिँड्दा पनि लर्बराएर हिँड्ने जस्तो हुन्छ।

दिमागको स्मरण शक्ति कमजोर बन्दै जान्छ र व्यक्तित्वमा परिवर्तन आउन थाल्छ भने पनि यो ब्रेन ट्युमरको लक्षण हुन सक्छ। ब्रेन ट्युमरको लक्षण थाहा नपाउँदा कतिपयलाई साइकेटिकको औषधि खुवाउने वा मानसिक रोगको उपचार गराउने गरिन्छ। यसले गर्दा पनि त्यस्ता विरामीको समयमा उपचार हुन नसकी पछि जटिल समस्या आउने गरेको छ।

कसरी गरिन्छ उपचार ?

मानिसको शरीरमा क्यान्सरका लक्षण देखिने गरे पनि बेवास्ता गरेका कारण समयमै रोगको सिकार भइसकेका बारे थाहा पाउँदैनन् र समयमै उपचार हुन पनि सक्दैन। विरामीलाई समयमै अस्पताल ल्याउन सकिएमा यसको उपचार पनि हुन सक्छ। सिटीस्क्यान, एमआरआई, पेट स्क्यानजस्ता परीक्षणबाट ब्रेन ट्युमर तुरुन्तै थाहा हुन्छ।

यी परीक्षणबाट कुन तहको रहेछ भन्ने झण्डै ९५ प्रतिशत थाहा लाग्दछ। ब्रेन क्यान्सर पुष्टि भएपछि हामीले थप उपचार गराउनु पर्ने हुन्छ। थप उपचार भनेको रेडियो थेरापी र किमोथेरापी नै हो। ट्युमरको अवस्था हेरेर रेडियो थेरापी वा किमोथेरापी कुन दिने वा दुवै दिने भन्ने निर्णय गरिन्छ। ब्रेन ट्युमरको उपचार धेरै किसिमकबाट गर्न सकिन्छ। औषधि नदिई सामान्य परीक्षणबाट पनि निको पार्न सकिन्छ।

निराशाजनक छैन नेपालको अवस्था

ब्रेन ट्युमरको उपचार काठमाडौँलगायत देशका दुई/तीनवटा शहरमा मात्रै सीमित छ। ब्रेन ट्युमरका विरामीको शल्यक्रियादेखि थेरापीलगायतका कार्यहरू गर्न वीर अस्पतालमा गत वर्ष राष्ट्रिय ब्रेन ट्युमर केन्द्र स्थापना भएको छ तर बजेटको अभावमा आवश्यक जनशक्ति र उपकरणको व्यवस्था अझै हुन सकेको छैन।

यद्यपि, ब्रेन ट्युमरको उपचारको स्थितिलाई हेर्दा नेपालको अवस्थालाई नराम्रो भन्न मिल्दैन। दक्षिण एसियामा भारतपछि नेपालको अवस्था निकै राम्रो छ। यद्यपि नेपालको स्वास्थ्यको आधार ३० वर्षअघिकै छ, खासै सुधार हुन सकेको छैन। वीर अस्पतालमा रहेको सुविधा कम्तीमा प्रदेश स्तरमा विस्तार हुन आवश्यक छ। ब्रेन ट्युमरको उपचार निकै महँगो पनि हुने भएकाले विपन्न वर्गका मानिसले उपचार गराउन समस्या हुने हुँदा राज्यले नै सहयोग गर्नुपर्ने हुन्छ।

हाल सरकारले क्यान्सरका बिरामीलाई रु एक लाख सहयोग गरेको छ, यसलाई उल्लेख्य रुपमा बढाउन आवश्यक छ। वीर अस्पतालमा दैनिक तीन/चार जना बिरामीको उपचार गर्ने गरिन्छ। एउटा शल्यक्रिया गर्न कम्तीमा पाँच घण्टा लाग्छ। अहिले पनि शल्यक्रियाका लागि बिरामीले चार/पाँच हप्ता कुर्नुपर्ने वाध्यता रहेको छ।

अहिले वीर अस्पताल र ट्रमा सेन्टरमा रहेका जम्मा छ जना न्यूरो सर्जनले बिरामीको बढ्दो चापलाई धान्न मुस्किल छ। नेपालभर कूल एक सय १५ न्यूरो सर्जनमध्ये यतिबेला एक सय १० जना स्वदेशमा रहेको अवस्था छ।

वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, भरतपुर क्यान्सर अस्पतालमा मात्रै शल्यक्रिया गर्न सकिने पूर्वाधार रहेको छ। अहिले जसरी ब्रेन ट्युमरको समस्या बढ्दैछ, त्यसअनुसार राज्यले आवश्यक जनशक्ति र पूर्वाधार प्रदेश स्तरसम्म विस्तार गर्न सकिन्छ।

जनताले पनि समयमै चिकित्सकसँग परामर्श गरी उपचार गराउनतर्फ ध्यान दिन पनि उत्तिकै आवश्यक छ।

(वीर अस्पतालको स्नायुरोग विभाग प्रमुख र नर्भिक इन्टरनेशनल अस्पतालको न्यूरो सर्जरी विभाग प्रमुख प्रा. डा. झासँग गरिएको कुराकानीमा आधारित)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.