|

काठमाडौं : पोलियो विरुद्धको आइपिभी खोप लगाउन छुटेकालाई संचालन गरिएको विशेष खोप अभियानमा लक्ष्यअनुसार जम्मा ६० प्रतिशत बालबालिकाले मात्रै खोप लगाएको पाइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ १३ गतेदेखि २६ जेठसम्म यो खोप लगाउन छुटेका बालबालिकालाई लक्षित गरेर विशेष खोप अभियान सुरु गरेको थियो।

जसमा विसं २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका १४ लाख ६० हजार ६१२ जना बालबालिकालाई अभियान सञ्चालन गरी पोलियो विरुद्धको आइपिभी (इनएक्टिभिटेड पोलियो भ्याक्सिन)  खोप अभियान सञ्चालन गर्ने भएको थियो।

तर, यो खोप अभियानमा हाल सम्मको प्राप्त विवरणअनुसार जम्मा ६० प्रतिशत बालबालिकाले खोप लगाएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा अभियान गौतमले जनाएका छन।

‘अत्यधिक गर्मी तथा अन्य कारणले केही ठाउँमा खोप अभियाननै स्थगित भएको थियो त्यसरी स्थगित भएका ठाउँमा खोप लगाउन बाँकी पनि हुनसक्छ भने कतिपय ठाउँको राम्रोसँग रिपोर्ट नआइपुगेको पनि हो तर अहिलेसम्म लक्षित समूहका बालबालिका मध्ये जम्मा ६० प्रतिशतले मात्रै यो खोप लगाएको पाइएको छ।’

नेपालमा २०७१ सालदेखि आइपिभी खोप सञ्चालन गरिएको थियो। बीचको दुई वर्ष रोकिए पनि त्यसपछिका वर्षहरूमा यो खोप नियमित खोप कार्यक्रममा पर्दै आएको छ। त्यही दुई वर्ष रोकिएको समयमा लगाउन नपाएका बालबालिकालाई हाल यो खोप अभियान सुरु गरिएको थियो।

नेपालले सन् २०१४ मै पोलियोमुक्त राष्ट्रको रूपमा प्रमाणपत्र पाइसकेको छ तर दक्षिण एशियाली मुलुकहरू पाकिस्तान र अफगानिस्तानमा अहिले पनि पोलियोका बिरामी देखिएका कारण अझै पनि नेपालमा जोखिम कायमै रहेको सरोकारवालाहरू बताउँछन्।

नेपालमा पछिल्लोपटक सन् २०१० मा रौतहटमा पोलियोका बिरामी भेटिएका थिए। सन् २०१० पछि नेपालमा हालसम्म पोलियोका बिरामी भेटिएका छैनन्।

पोलियोका ३ प्रकारमध्ये टाइप वन, टाइप टु र टाइप थ्रीमध्ये मुखबाट दिइने ओरल पोलियो भ्याक्सिन (टाइप वन र टाइप थ्री) मुखबाट खुवाइने पोलियो थोपा (ओपिभी) खोप नियमित रूपमा सञ्चालन भइरहेको छ। 

टाइप टू नेपालमा लामो समयदेखि नदेखिए पनि यसको मृत पोलियो परजीवी मिसिएको आइपिभी भ्याक्सिन लगाउन थालिएको थियो। विश्व स्वास्थ्य संगठनले नै सो खोप प्रयोग गर्न विश्व समुदायलाई आह्वान गर्दै आएको छ।

पोलियो रोग पोलियो भाइरसबाट हुने एक सरुवा रोग हो। यो रोग लागेमा हातखुट्टा लुलोपक्षघात हुनुको साथै मृत्युसमेत हुनसक्छ। पोलियो रोग लागेपछि यसको उपचार सम्भव छैन। पोलियो रोगको संक्रमण रोक्ने एक मात्र प्रभावकारी उपाय भनेको तालिकाअनुसार पोलियो रोगविरुद्ध बेलैमा खोप‍ लगाउनु नै हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.