|

काठमाडौं : अछामको पञ्चदेवल विनायक नगरपालिका वडा–९ र दैलेखको आठबिस नगरपालिका वडा–४ जोड्ने झोलुंगे पुल। मुनी अनवरत बगिरहेको छ कर्णाली नदी। यही झोलुङे पुल हुँदै दैनिक सयौँ नागरिक ओहरदोहर गर्छन्। र गर्छन् ग्रामीण क्षेत्रमा खाद्यान्न लत्ताकपडा र औषधि बोक्ने खच्चडहरू। 

हरेक दिन यो दैनिकी चलिरहन्छ। किनभने नेपालका धेरै ग्रामीण क्षेत्रमा अझै पनि सडक पुगेको छैन। जसमा खच्चडहरूले नै सामान ढुवानी गरिरहेका छन्। हरेक समय उस्तै रहदैँन। जसरी आइतबार रहेन। सामान बोकेर झोलुङ्गे पुल तरिरहेका खच्चडहरू पुल चुडेर फस्न बाध्य भए।

उक्त कारूणिक तस्वीर र भिडियोहरू आइतबार दिनभर नेपाली सञ्चारमाध्यम र सामाजिक सञ्जालमा चर्चामा रह्यो।  करिब ७ घण्टामा उद्धार गरिएका खच्चडमध्ये २ वटाले कर्णालीमा नै आफ्नो अन्तिम सास फेरे। 

उक्त उद्धार कार्यमा अछामस्थित नेपाली सेनाको गोरख बक्स गणको टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासी खटिएका थिए। कोही पुलमा गएर अड्किएका खच्चडलाई सहजता दिलाउँदै थिए। तर, ती सबै खच्चडहरू एकाएक गर्दै कर्णालीको भेलमा खस्दै थिए। ती खसेका खच्चडको उद्धार गर्न डुंगाको प्रयोग गरिएको थियो।

हरेक खच्चडलाई बचाउन कम्मर कसेर कर्णाली नदीमा डुंगा खियाइरहेका थिए : कृष्ण माझी, महेन्द्र माझी र प्रेम माझी।

उनीहरूले एक एक गरी खच्चडहरूलाई कर्णालीको वेगमा ११ खच्चडको उद्धार गरे। कृष्ण माझी बिहान खेतमा काम गरिरहेका थिए। त्यही बेला एक/दुई जना स्थानीय कर्णाली पुलतिर दौडिए। खेत र उक्त पुलको दुरी झण्डै १५ मिनेटको छ। उनी पनि के भएको रहेछ भनी पछिपछि गए।

उनी त्यहाँ पुग्दा कारूणिक दृश्य देखे। उनी त्यो दृश्यबारे भन्छन्, ‘झोलुंगे पुलमा तड्पिरहेका, पीडाले सहन नसेर कराउँदै गरेका खच्चडहरू थिए।’ उक्त दृश्य उनी देख्न सकेनन्। स्थानीयहरू पनि ती दृश्य हेर्न सकिरहेका थिएन किन की खच्चडहरूको छटपटाहट कारुणिक थियो।

अब कसरी उद्धार गर्ने? स्थानीयहरू सल्लाह गरे। झोलुंगे पुल नै चुडिएकाले सहज तरिकाले उनीहरूलाई निकाल्ने अवस्था थिएन। त्यसपछि योजना बन्यो-जाली काटेर खच्चड नदीमा झार्ने र निकाल्ने ! त्यसको लागि कृष्ण,महेन्द्र र प्रेम तयार भए। त्यसपछि उनीहरू डुङ्गा लिएर नदीमा पसे।

कसैले पुलमा जाली काट्दै नदीमा खसाले। उनीहरू तीन जनाले हतार हतार डुङ्गाको माध्यमबाट ती खच्चडहरू नदि किनारा लगाए। ‘पहिलो कुरा त झोलुंगे पुलको जाली काट्न कठिन काम हो। त्यसमाथि कर्णालीको भेलमा खच्चडहरू निकाल्न सहज पक्कै थिएन्’, उद्धारमा खटिँदाको अनुभव र कठिनबारे थाहाखबरलाई कृष्णले सुनाए। 

उनका अनुसार खच्चडलाई उद्धार गर्दा मुख डुब्न दिनुहुँदैन थियो। यदि खच्चडहरूले डुबेर पानी पिउन थाले जीवित उद्धार गर्न सकिँदैन। पुल चुडिएर खच्चडहरू फसेपछि निकै पीडाबोध आफूलाई भएको उद्धारमा खटिएका अर्का महेन्द्र बताउँछन्।

‘हिजो म यो घटना घट्दा नजिकै थिएँ, त्यहाँ गएर हेर्दा खच्चड साह्रै तड्पिएका थिए, ’उनले भने,‘त्यो देख्नै सकेनौँ, त्यही भएर जसरी पनि उद्धार गर्नुपर्छ भनेर हामी लाग्यौँ,  उद्धार पनि भयो,यसले खुसी तुल्याएको छ।’

उनका अनुसार ती खच्चड अछाम दानाहरू लिनको लागि दैलेखको बजार गइरहेको थिए। कठिनका बाबजुत उनीहरूले १३ खच्चडमध्ये ११ वटाको उद्धार गरे। एक वटा पुलमै मर्‍याे भने अर्को एकको नदीमा खस्दा मरेको उनको उद्धारकर्ताको भनाइ छ।। 

आइपरेका घटनामा सधैं एक जुट 

खच्चड उद्धारमा मात्रै होइन्,कोही नदीमा दुबे वा सवारीसाधन नदीमा खसे यसैगरि उनीहरू खटिन्छन्। आठबिस नगरपालिका ४ का कृष्ण (२४) नदी नजिकै घर छ। उनी बचपनदेखि नै कणार्ली नदी र डुंगासँग साइनो बसेको छ। र त केही घटना घटिहाल्छ की उनी उद्धार गर्न लागिपर्छन्। 

‘म बचपनदेखि नै यहाँ पानीसँग खेल्दै हुर्केको हुँ। त्यही भएर कोही नदीमा बगेमा खोजतलास गर्ने। उद्धार गर्नेमा म सधैं खट्छु,’उनले भने। उनी पछिल्लो समय भने कामको लागि भारत जाने गरेका छन्। ‘घरको काम पर्दा म गाउँमै हुन्छु,त्यसबेला यस्ता केही घटना घट्यो भने उद्धारमा खटिने गर्छु, यो हाम्रो कर्तव्य पनि हो’, उनले भने। 

आठबिस नगरपालिका-४ का महेन्द्र(२४) पनि अहिले मात्र नभई विगतदेखि नै यसरी उद्धारमा खट्दै आएका छन्। ‘यही छालमा बसेको कारण आइपरेका यस्ता घटनामा उद्धार पहिलो देखी गर्दै आएका छौँ। १३ वर्षअघि बस पल्टिएको थियो। ठूलो जनधनको क्षति भयो। हामीले त्यसबेला उद्धारका खटिएका थियौँ’, उनले भने।

खच्चडको उद्धार पछि धेरै जनाले स्याब्बासी दिएको उनी सुनाउँछन्। ‘मान्छे होस या पशुपन्छी बचाउँदा होस् स्याब्बासी दिन्छन्’, उनले भने,‘जिवितै खच्चड उद्धार गर्दा एकदम खुसीको महसुस भएको छ, तर,यस्तो घटना कहिलै नदोहोरियोस्।’

स्थानीय निरज कुमार माझीले तीन जनाको प्रशंसा गर्दै स्थानीयहरूको दैनिक वारपारमा डुङ्गा चलाएर सहयोग गर्दै आएको सुनाए। उनले भने, ‘उहाँहरूले नदीमा फालिएका खच्चडहरूलाई सकुशल नदी किनारा लगाउन ठूलो सहयोग गर्नुभयो।‘

‘छिटो पुल बनाइदिए सहज हुने थियो’

पुल चुडिएसँगै दुई जिल्लाबीच आउजाउ पनि बन्द भएको छ। अहिले स्कुल जान विद्यार्थीहरूलाई सकस परेको छ।  यही समस्या भएकाले छिटो पुल बनाउन कृष्ण माग गर्छन्। उनी भन्छन्,‘कर्णालीबासीका पीडा,कसले देख्छ र?, छिटो पुल बनाइदिए सहज हुने थियो।’ अहिले डुंगाको सहारामा स्थानीयहरू वारपार गरिरहेको कुमारको भनाइ छ। ‘विद्यार्थीहरू स्कुल जान पाएका छैनन्। अर्को झोलुंगे पुल चढ्न दुई तीन किमी हिँड्नुपर्छ।  वर्षातमा डुङ्गा चल्दैन’, उनले भने।

राज्यले शहरमा मात्रै नभइ विकट ठाउँलाई पनि प्राथमिकतामा राखेर बलियो पूर्वाधारका संरचनाहरू बनाए यस्ता घटनाहरू पुन: नदोहोरिने स्थानीयहरुको अपेक्षा छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.