यमनविरुद्धको खेलमा एन्फाले १ सय नम्बरको जर्सी दिने

|

दमाम : नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान एवं गोलरक्षक किरणकुमार चेम्जोङले ऐतिहासिक १ सय खेलको कीर्तिमान कायम गर्दै छन्।

फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत मंगलवार यमनविरुद्धको खेलमा किरणले राष्ट्रिय टोलीबाट एक सयौँ खेल खेल्दै छन्।

खेल साउदी अरेबियाको दमामस्थित प्रिन्स मोहम्मद बिन फहद रंगशालामा नेपाली समयअनुसार राति पौने १२ बजे शुरु हुनेछ। अहिलेसम्म कुनै पनि नेपाली खेलाडीले राष्ट्रिय टिमबाट १ सय अन्तरराष्ट्रिय खेल खेलेका छैनन्।

१६ वर्षभन्दा लामो अन्तरराष्ट्रिय फुटबल करियरमा किरणले अघिल्लो यूएईविरुद्धको खेलसम्म ९९ क्याप जितिसकेका छन्।

यसै सन्दर्भमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले किरण चेम्जोङलाई उनको राष्ट्रिय कीर्तिमानी खेलमा एक सय नम्बरको जर्सी दिएर सम्मान गर्ने भएको छ।
यो खेल र अवसरका लागि एन्फाका महासचिव किरण राई पनि दमाम आइपुगेका छन्।

नेपाली टोलीका टिम म्यानेजर उत्तमराज भण्डारीले किरणको विशेष खेलमा एन्फाले विशेष तयारी गरेको जानकारी दिए। 

‘हामीले किरणलाई प्रशंसा पत्र, मेडल र एक सय नम्बरको जर्सी दिनेछौँ’, उनले भने, ‘देशका लागि खेल्ने खेलाडीका लागि हामीले पनि सम्मान गर्नैपर्छ।’

उनले म्याचकै दौरान सम्मान गरिए पनि कति वेला गर्ने तय भइनसकेको बताए। ‘खेल शुरु हुनुअगाडि गर्ने कि हाफ टाइममा गर्ने भन्ने विषयमा छलफल भइरहेको छ’, उनले भने, ‘यो सम्मानले खेलाडीको मनोबल बढ्नेछ।’

धनकुटाको एउटा सामान्य परिवारमा जन्मिएर उमेर समूहदेखि सिनियर राष्ट्रिय टिममा निकै जमेका खेलाडी हुन्- किरण चेम्जोङ।

‘नेपाली राष्ट्रिय झण्डामुनि रहेर राष्ट्रको प्रतिनिधित्व एक सय खेलसम्म गर्न पाउँदा निकै खुशी लागेको छ,’ किरणले भने, ‘देशको जर्सी लगाउँदा खुशी लाग्छ र देशको जर्सी लगाउनु प्राउड मोमेन्ट हो, म देशको लागि खेल्दै छु फाइट गर्नुपर्छ भन्ने भावना आउँछ।’ 

३४ वर्षीय किरणले कहिलेसम्म र कति समय खेल्छु भन्ने टुङ्गो नभएको बताए। उनले आफ्नो स्वास्थ्यले साथ दिउन्जेल खेलिरहने बताए।

‘मैले यति नै खेल्नेछु भन्ने कुनै क्याल्कुलेशन गरेको छैन,’ उनले भने, ‘सबै कुरा हेल्थ हो, मेरो हेल्थ राम्रो भएन भने मैले प्रेडिक्ट गरे पनि हुँदैन। देशका निम्ति हेरौँ कतिसम्म खेल्न सकिन्छ?’ 

आफ्नो १ सयौँ खेललाई अविस्मरणीय बनाउन आफू र आफ्नो टिमले सक्दो मेहनत गर्ने उनले बताए। छनोटको आफ्नो अन्तिम खेलमा नेपालले यमनविरुद्ध अंककै लागि खेल्ने दृढता उनले व्यक्त गरे।

नेपालको नतिजा नआउँदा सबैलाई दुःख लागिरहेको उनले बताए। उनले दुःख भन्दा पनि नेपाली फुटबलको वास्तविक स्थिति बुझेरमात्र टिप्पणी गर्न आग्रह गरे।

‘हामी रिजल्ट मात्रै हेछौँ, त्यो कसरी आयो भन्नेतर्फ सोच्दैनौँ’, किरणले भने, ‘टिममा स्थिरता छैन, खेलाडी कम्तिमा १ वर्षसम्म कन्टिन्यू भएका छैनन्, फेरि हामीसँग बाहिर प्रोफेशनल खेल्ने खेलाडी कम छन्। त्यसले पनि प्रभाव पार्छ।’ 

नेपाली टिमका किरण र रोहित चन्दबाहेक कहिलेकाहीँ मनिष डाँगीले मात्र नेपालबाहिर अरु देशमा फुटबल खेलिरहेका छन्। 

फुटबल प्रतियोगिता र उपाधि

धनकुटाको राजारानीमा एक सामान्य परिवारमा जन्मिएका किरणले स्कुलदेखि नै फुटबल खेल्न थालेका थिए। त्यति वेला घरमा रेडियोमा फुटबलका समाचार आउँदा चासो दिएर सुन्ने किरणलाई उपेन्द्रमान सिंहको गोलकिपिङले लोभ्याएको थियो।

खेल्ने वातावरण अनुकूल थिएन, तै पनि उनले प्रयास गरिरहेका थिए। १४ वर्षको उमेरमा इन्टर स्कुल मायोज कप प्रतियोगिता खेल्न काठमाडौँ आएका उनीमाथि राजुकाजी शाक्य, उपेन्द्रमान सिंहलगायतको आँखा पर्‍यो।

एन्फाले उनलाई तत्कालै यू–१६ छनोटका लागि बोलायो र त्यसमा उनी छनोट भए। किरण यू–१६, यू–१७ र यू–१९ हुँदै सिनियर राष्ट्रिय टिमसम्म पुगेका हुन्। 

मछिन्द्र क्लबबाट करियर शुरु गरेका किरणले सन् २००८ मा एएफसी च्यालेन्ज कप छनोटमा मकाऊविरुद्ध नेपालको सिनियर टिमबाट डेब्यु गरेका थिए।

भियतनामको नोमपेनस्थित नेशनल ओलम्पिक स्टेडियममा सन् २००८ मे २४ मा मकाऊविरुद्ध पहिलो रोजाइमा खेलेका उनी २४ मिनेटपछि नै घाइते भएर मैदानबाट बाहिरिनु परेको थियो।

त्यसपछि झण्डै ३ वर्ष राष्ट्रिय टिमबाट बाहिर रहेका उनले मिहिनेत गरेर राष्ट्रिय टिममा पुनरागमन गरे। त्यसपछि भने पछि फर्केर हेर्नुपरेको छैन। भुटानविरुद्ध खेलेको दुई मैत्रीपूर्ण खेलबाट उनी खेलमा फर्किएका थिए। दुवै खेल नेपालले जितेको थियो।

नेपाली राष्ट्रिय टिमबाट भने उनले सन् २०१६ मा एएफसी सोलिडारिटी कप जितेका थिए। जुन नेपालले एएफसीको आधिकारिक प्रतियोगिता जितेको पहिलो प्रतियोगिता हो। यसैगरी किरणले घरेलु मैदानमा भएको थ्रि नेशन्स कप उपाधि दुई पटक जितेका छन्।

३ देशका छुट्टाछुट्टै लिग जित्ने खेलाडी

किरणले नेपाल, भारत र माल्दिभ्सको गरी ३ वटा देशको राष्ट्रिय लिगको उपाधि जितेका छन् । ती देशबाट व्यक्तिगत अवार्डसमेत उनले जितेका छन्। उनी ३ फरक देशमा लिग जित्ने पहिलो र अहिलेसम्मका एक्लो नेपाली खेलाडी पनि हुन्। उनले थ्रि स्टारलाई नेपालको ए डिभिजन लिग च्याम्पियन बनाए।

माल्दिभ्सको धिवेही प्रिमियर लिगमा टीसी स्पोर्ट्स र माजिया एस एण्ड आरसीलाई विजेता बनाए भने भारतको आई लिग भने मिनर्वा पन्जाबमा हुँदा उनले जितेका छन्। 

किरणले राष्ट्रिय टिममा प्रवेश गर्दा टोलीमा रहेका विकास मल्ल, रितेश थापा हुन् या त्यसपछिका विकेश कुथु, विशाल श्रेष्ठलगायत गोलकिपर किरणकै छायाँमा परे।

हाल पनि अभिषेक बराल र विशाल सुनार वैकल्पिक गोलकिपरका रुपमा टिममा रहेका छन्। किरण हाल इन्डियन सुपर लिग (आईएसएल) मा पञ्जाब एफसीमा अनुबन्धित छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.