|

हेटौँडा : बारा र मकवानपुर जिल्लाको सिमानामा रहेको चुरियामाई सुरुङमार्ग पुनःनिर्माण सकिएको छ। २०७८ साल वैशाख १९ गते सम्झौता भएर सोही वर्ष साउनमा थालिएको पुनःनिर्माण २०८० माघ मसान्तमै सम्पन्न भइसकेको हो।

तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले शुरु गरेको १०६ वर्ष पुरानो सुरुङमार्गको पुनःनिर्माण सम्पन्न भएपश्चात स्थानीय सरकारलाई हस्तान्तरण गर्ने तयारी प्रदेश सरकारले गरेको छ।

बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत यातायात पूर्वाधार निर्देशनालयका इञ्जिनियर एवं प्रवक्ता हरिप्रसाद ओझाका अनुसार पुनःनिर्मित चुरियामाई सुरुङमार्ग हेटौँडा उपमहानगरलाई हस्तान्तरण गर्ने तयारी रहेको जानकारी दिए।

त्यसका लागि यातायात पूर्वाधार निर्देशनालयले २०८१ जेठ ९ मै पत्र पठाइसकेको प्रवक्ता ओझाले बताए। यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेशका कामु निर्देशक इन्जिनियर पुष्करप्रसाद पोखरेलको हस्ताक्षरसहित पत्र पठाइएको प्रवक्ता ओझाले बताए।

निर्देशनालयबाट मर्मत/जीर्णोद्धार सकिएपछि हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१५ स्थित चुरियामाई सुरुङमार्गको संचालन तथा व्यवस्थापन गरी पर्यटन प्रवर्द्धन गर्न आवश्यक देखिएको र त्यसका लागि स्थानीय सरकार उपयुक्त देखिएको भन्दै निर्देशनालयबाट हस्तान्तरण गरी लिन र संरक्षण, संचालन र व्यवस्थापनको प्रक्रिया प्रस्तावसहित पत्र पठाएको प्रवक्ता ओझाले बताए। 

हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेका अनुसार चुरियामाई सुरुङमार्गको जिम्मेवारी लिने विषयमा छलफल भइरहेको बताए। उनका अनुसार पुनःनिर्माण सम्पन्न भए पनि बाँकी केही निर्माण भइसकेपछि हेटौँडा उपमहानगरले जिम्मा लिने जानकारी दिए।

प्रवक्ता न्यौपानेले प्रदेश सरकारले चुरियामाई सुरुङमार्गको हस्तान्तरण गरेर उपमहानगरले जिम्मेवारी लिएपश्चात आवश्यक व्यवस्थापन प्रदेशको ऐतिहासिक सम्पदा रहेको यो सुरुङमार्गको संरक्षण गरी सशुल्क रुपमा पर्यटन प्रवर्द्धन र ऐतिहासिक यातायात पूर्वाधार अध्ययन केन्द्रको रुपमा सञ्चालन गर्ने बताए।

माउन्टेन इन्फ्रा कम्पनी लिमिटेड स्युचाटार काठमाडौँसँग ३ करोड ३६ लाख १३  हजार रुपैयाँमा सम्झौता गरिएको उक्त सुरुङमार्ग निर्माण सम्पन्न हुन्जेलसम्म ३ करोड ७५ लाख ७९ हजार रुपैयाँ खर्च भएको प्रवक्ता ओझाले जानकारी दिए।

सुरुङमार्गको लम्बाइ २२५ मिटर, चौडाइ साढे २ मिटर र उचाइ ३ मिटर रहेको छ।

चुरियामाई सुरुङमार्गको इतिहास

अहिलेको बागमती प्रदेशको राजधानी हेटौँडा र मधेश प्रदेशलाई जोड्ने ५ सय मिटरको यो सुरुङमार्ग विसं १९७४ सालमा राणाकालमै खनिएको थियो। 

चुरियामाई सुरुङमार्ग राजा त्रिभुवन तथा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा नेपाली सेनाका इञ्जिनियर डिल्लीजङ्ग थापाको डिजाइन र प्रयत्नमा नेपाली प्रविधि प्रयोग गरेर खनिएको थियो।

करिब ५ सय मिटर लामो यो सुरुङको एकापट्टीको भाग पुरिएर करिब २८० मिटर मात्र बाँकी रहेको थियो। तत्कालीन समयमा चुरे पहाड छेडेर तराई र काठमाडौँ जोड्नु निकै महत्त्वपूर्ण थियो। 

विसं १९७४ मा बाराको अमलेखगञ्जलाई मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीसँग जोड्ने सडक बनाउने वेलामा तराईबाट काठमाडौँ सवारी आवागमनका निम्ति निर्मित उक्त सुरुङमार्गले त्यो समयमा जनजीवन सामान्य बनाएको जानकारहरू बताउँछन्। 

पहाड खोपेर बनाइएको सुरुङमा चुनासुर्की प्रयोग गरिएको छ। सुरुङमार्गको दुवैतर्फका भित्तामा हार मिलाएर ढुंगा राखिएको छ, खोपाहरू कुँदिएका छन्। 

सुरुङमार्ग पुनःनिर्माणपछि सर्वसाधारणलाई अवलोकनका लागिसमेत खुला गरिने जनाइएको छ। उक्त मार्गबाट विसं २०२० सालसम्म सवारी आउजाउ हुने गरेको जानकारहरूको भनाइ छ। 

जानकारका अनुसार प्रजातन्त्र पुनःस्थापनापछि त्रिभुवन राजपथ बनेर ठूला–ठूला सवारीसाधनहरू भित्रिएपछि त्यो सुरुङ सानो भयो। सुरुङमार्गको छेउमा विष्फोट गराएर भत्काइयो भने त्यहीँ सडक बनाउँदा सुरुङको आधा भाग नष्ट भएको थियो। 

सडकछेऊ देखिएको सुरुङको मुख थुनिएको थियो तर बारातर्फबाट मन्दिरनजिक सुरुङको मुख्य भाग भने सग्लै रहेको थियो। सुरुङको केही भाग नष्ट भएपछि सडकपारीको अर्को भागलाई भने कंक्रिटले बन्द गरिएको थियो। 

नेपालका हरेक भूभागलाई राम्रोसँग बुझेका स्विस टोनी हेगनले सन् २००४ मा लेखेको पुस्तक ‘द हिमालयन किङ्डम अफ नेपाल’मा सुरुङमार्गबारे स्पष्ट पार्दै नेपालभन्दा ठूलो भारतले सुरुङ प्रविधि भित्र्याउन नसकेको वेला नेपाल सफल भएकोमा खुशी व्यक्त गरेका छन्।

त्यो समयमा बाराको अमलेखगञ्जसम्म रेल चल्ने गरेको थियो। रेल पछिसम्मै चले पनि सुरुङमार्ग भने बन्द भयो।

उक्त मार्ग निर्माणताका अमलेखगञ्जबाट मकवानपुरको भीमफेदीसम्म मोटर बाटो पुगेको जानकारहरु बताउँछन्। भीमफेदीबाट काठमाडौँ जाने मोटरबाटो नहुँदा त्यतिवेला राजा र राणाहरूले बोकाएरै भए पनि साना गाडी काठमाडौँ पुर्‍याएका थिए।

अमलेखगञ्ज–भीमफेदी मार्गको बारा र मकवानपुरको सिमाना चुरे खण्डमा भने मोटर उक्लन निकै गाह्रो थियो।

ठाडो उकालो भएकाले मोटर उक्लन नसक्ने र उक्लिहाले पनि सामान धेरै लैजान नसक्ने, समय र इन्धनको खर्चसमेत बढी हुने भएपछि तत्कालीन राणा सरकारले विकल्पका रुपमा त्यहाँ सुरुङ खनेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.