बैतडी : वाई वाई यू-१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा समूह बी को पाँचौँ खेलमा कैलाली विजयी भएको छ।
कैलालीले लगातार दोस्रो खेल जित्ने क्रममा बझाङलाई १०४ रनले हरायो। यसअघि पहिलो खेलमा कैलालीले अछामलाई पराजित गरेको थियो।
कैलालीले दिएको २१४ रनको लक्ष्य पछ्याएको बझाङ २५ ओभर ३ बलमा १०९ रनमा समेटियो। उसका लागि हिमाल दौल्यालले सर्वाधिक १९ रन बनाए।
कैलालीका नरेन साउदले ४ विकेट लिए।
यसअघि परशुराम रंग मैदानमा पहिला ब्याटिङ गरेको कैलाली ३५ ओभरमा २१३ रनमा समेटियो। नरेन साउद र कृष साउदले अर्धशतक बनाए। नरेनले ७१ रन र कृषले ५१ रन बनाए।
अलराउन्ड प्रदर्शन गर्दै टोलीलाई जिताउने कैलालीका नरेन साउद म्यान अफ द म्याच चुनिए।
दोस्रो जितसँगै कैलाली ४ अंक जोड्दै फाइनलनजिक पुगेको छ। भोलि हुने कञ्चनपुरसँगको खेल जिते कैलाली फाइनल पुग्नेछ। अन्यथा कञ्चनपुर फाइनल पुग्ने स्कोरर लोकेश जोशीले जानकारी दिए।
समूह बी बाट शीर्ष स्थानमा पुग्ने टोलीले फाइनलमा बैतडीसँग खेल्नेछ।
समूह ए बाट बैतडी शतप्रतिशत नतिजा तथा लिग चरणका सबै ३ खेल जितेर फाइनलमा पुगिसकेको छ।
जेठ २० गते शुरु प्रतियोगितामा क्यान आबद्ध प्रदेशका ८ जिल्ला सहभागी रहेको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीले बताए।
सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरेर प्रतियोगिता सञ्चालन भइरहेको छ। फाइनल असार १ गते हुनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।