कुखुरापालक किसान भन्छन्–सरकारले वास्ता गरेन

|

काठमाडौं : नेपाल अण्डासहित समग्र पोल्ट्री क्षेत्रमा आत्मनिर्भर रहेको छ। व्यावसायिक रूपमा किसानहरूले खैरो अण्डा उत्पादन गर्ने हाइलाइन, लाह्म्यान, एचएचएन, हासेक्स, नोभोजेन आदि जातका कुखुरा पाल्दै आएका छन्। 

आत्मनिर्भर हुँदा पनि यो व्यवसाय धराशायी बन्दै गएको सरोकारावाला बताउँछन्। सरकारले यस व्यवसायको संरक्षण र प्रवर्द्धनमा चासो नदेखाउँदा कुखुरापालक किसानहरूले लामो समयदेखि लागतसमेत उठाउन नसकेको तर्कसहित अहिले अण्डाको मूल्य बढाइएको छ। 

नेपाल लेयर्स कुखुरापालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेल, कोभिड महामारी सुरु भएदेखि विकराल अवस्था सिर्जना भई पोल्ट्री किसानहरू विस्थापित हुने क्रम बढेको बताउँछन्। उनका अनुसार, कोभिड सुरु हुनु अघिसम्म देशभर ५५-६० लाख कुखुरा थिए, अहिले ५० प्रतिशत घटेको छ।

लगभग ३२ लाख अण्डा दिने कुखुरा पालन भइरहेको छ भने दैनिक २७ देखि २८ लाख अण्डा उत्पादन हुन्छ।

नेपालको जनसंख्या हेर्दा वार्षिक रूपमा प्रतिव्यक्ति ५५ देखि ६० वटा अण्डा खपत हुन्छ। देशमा उत्पादन भएको अण्डा, मासु बाहिर पठाउने अवस्था भने नरहेको पोखरेल   बताउँछन्। ‘किसानले बैंकको ब्याज धान्न नसक्दा खोरहरू बन्द भए, उनले भने-सरकारले पोल्ट्रीलाई बेवास्ता गर्यो, सकारात्मक नीति बनाउन सकेन, जसकारण आत्मनिर्भर भइसकेर पनि पोल्ट्री फार्महरू भट्टाभट बन्द हुने अवस्थामा पुगे।’

बैंकको ब्याज, बजार नीतिको अभाव, दानाका लागि आउने कच्चा पदार्थमा लाग्ने भन्सार मूल्य वृद्धि जस्ता कारण किसानले लागत उठाउन लामो समयदेखि कुरिरहेकाले अण्डाको मूल्य वृद्धि गरिएको पोखरेलको दाबी छ। ‘सरकारले अब पनि नीति परिवर्तन गरेर किसानलाई राहत नदिने हो भने पोल्ट्री व्यवसाय इतिहास बन्छ’ पोखरेलले भने।     

सरकारले आगामी बजेटमा पशुपन्छी पालनको व्यवस्था मिलाउने बताए पनि स्पष्ट सम्बोधनसमेत गरेको छैन। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशुपन्छी प्रवद्र्धन कार्यक्रमलाई सुचारु रुपले  सञ्चालन गरी अपेक्षित प्रतिफल प्राप्त गर्न सहयोग पुर्‍याउने उद्देश्यले पशुपन्छी तथा मत्स्य प्रवर्द्धन कार्यक्रम सञ्चालन कार्यविधि २०७८ बनाएको छ तर यसले पोल्ट्री क्षेत्रलाई राहत दिन सकेको छैन।

कार्यविधिले मासु मिसन कार्यक्रमअन्तर्गत पाडा, बंगुर, बाख्रा प्रवद्र्धन कार्यक्रम राखेपनि पोल्ट्रीलाई समावेश गरेको छैन। 

संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनका अनुसार एक वयस्क व्यक्तिलाई बार्षिक न्यूनतम १४ किलो मासु र ४८ गोटा अण्डा आवश्यक पर्दछ। आर्थिक वर्ष २०७९ ८० सम्मको उपलब्धि हेर्दा प्रतिव्यक्ति प्रतिवर्ष अण्डा र मासुको उपलब्धता न्यूनतम आवश्यकताभन्दा बढी रहेको आर्थिक सर्वेक्षणले देखाएको छ। हाँस र लेयर्सको संख्यामा वृद्धि हुँदा अण्डा उत्पादनमा २०.८ प्रतिशतले बृद्धि भई प्रतिव्यक्ति प्रतिवर्ष अण्डाको उपलब्धता ५५ पुगेको छ। 

उनका अनुसार, अहिले किसानले अण्डाको मूल्य ठूलोको ५००, मिडियमको ४६०–४७५ र सानो अण्डाको ४५५ रुपैयाँ प्रतिक्रेट पाउँछन्। औसत लागत मूल्य प्रतिगोटा १६ रुपैँया ५७ पैसा अर्थात ४९७.१ रुपैयाँ प्रतिक्रेट रहेको भन्दै पोखरेलले किसानले प्रतिगोटा १६ रुपैयाँ ६० देखि ७० पैसाको दरले क्रेटको ५०१ रुपैयाँसम्म पाउँछन्।

‘कोभिड कालदेख अहिलेसम्म किसानले लागत मूल्य पाउन सकेका थिएनन् बल्ल केही राहत भएको छ’ उनले भने। तर बजारमा आइपुग्दा उपभोक्ताले एक क्रेट अण्डाको ५८० रुपैयाँसम्म तिर्नुपरेको छ। किसानको रेटमा, ढुवानी, क्रेट, डिलर, सव–डिलर हुँदै  उपभोक्ताले प्रतिगोटा २० देखि २२ रुपैँयासम्म खाइरहेका पोखरेलले बताए। 

नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसी कुखुरा पाल्ने किसानले लामो समयसम्म नाफा नपाएको, किसान विस्थापित हुनुपरेको, गर्मीसँगै लाग्ने रोगहरूका कारण कुखुरा मर्ने, अण्डाको उत्पादनमा गिरावट हुने लगायतका कारण मूल्य बढाएर किसानलाई राहत दिइएको बताउँछन्। 

अण्डाको उत्पादन झण्डै आधा कम भएको भन्दै उनले सरकारी मापदण्डमा तोकिएको ग्रेडिङ साइजअनुसार ७ क्रेटमा १२ किलो ८ सय भन्दा माथिको अण्डालाई ठूलो, ११ किलोग्रामभन्दा तलको मिडियम भनी छुट्याउने गरिएको बताए। सानो साईजको अण्डा धेरै उत्पादन नहुने र बजारसम्म खासै नपुग्ने केसीको भनाइ छ। अण्डा उत्पादक संघले एक महिना अगाडी अण्डाको औसत मूल्य ठुलो क्रेटको ४८०, मिडियमको ४५५ देखि ६० रुपैँया तोकेको अध्यक्ष केसीले बताए। 

तर, यो मूल्य लागतका आधारमा नतोकी बजारको मागका आधारमा तय गरिएको केसी बताउँछन्। ‘लागतका आधारमा मूल्य निर्धारण गर्ने अवस्था छैन, बजारको माग र सप्लाईले नै तय गर्ने हो’, उनले भने–‘लागत मूल्य बढे पनि उत्पादन धेरै भई बिक्रि हुने अवस्था आएन भने निक्कै कम मूल्यमा पनि बेच्नुपरेको छ। त्यसकारण लागतसँग मूल्य निर्धारणले खासै सरोकार राख्दैन।’

किसानले अण्डा उत्पादनमा सबैभन्दा बढी खर्च दानामा गर्नुपर्छ। कुल खर्चको झण्डै ६५ प्रतिशतसम्म खर्च दानामा र त्यसबाहेक औषधि, भ्याक्सिन, चल्लामा खर्च गर्छन्। दानाका कच्चा पदार्थबाहेक नेपाललाई चाहिने पोल्ट्रीजन्य उत्पादन नेपालमै उपलब्ध हुन्छ। नेपाल पोल्ट्री व्यवसायमा आत्मनिर्भर हुनुको पछाडि उपभोक्ताको खाने बानी बढेका कारण रहेको केसी बताउँछन्।

‘मान्छेहरूले पहिले बिरामी हुँदामात्र अण्डा खाने चलन थियो, अहिले बिहान चियाको ठाउँमा स्वस्थ रहन अण्डा बढी खान थाले, यसरी जति खपत बढ्यो, त्यही आधारमा मूल्य बढ्दै गएको हो’ उनले भने।

अण्डामा गुणस्तरीय प्रोटिन, भिटामिनहरू, खनिज तत्वहरूका साथै चिल्लो पदार्थ पनि पाइन्छ। पन्छीपालन नीति २०६८ अनुसार, नेपालमा आधुनिक कुखुरा पालनको सुरुवात वि.सं.२०१४ सालमा पहिलोपटक ब्लाक मिनोर्का, रोड आइल्यान्ड रेड, न्यू ह्याम्पसायर र ह्वाईट लेगहर्न जातका कुखुराको आयातबाट भएको हो।

कृषकहरूलाई उन्नत चल्ला बितरण गरी मासु तथा अण्डा उत्पादन वृद्धि गर्न यो कार्यक्रमको थालनी भएको थियो।  वि.सं.२०१७ सालमा परवानीपुर बारामा सेन्ट्रल हयाचरी स्थापना भई न्यू हम्पसायर जातका माउ चल्लाहरू आयात गरी चल्ला उत्पादनको शुरुवात गरिएको थियो। निजी क्षेत्रको अग्रसरतामा उन्नत नश्लका लेयर्स र ब्रोइलर चल्लाहरू आयात तथा बिक्री वितरण २०१९ सालबाटै सुरु भए पनि वि.सं.२०४० पछि पन्छीपालनमा व्यावसायीकरण प्रकृयाले गति लिएको उक्त नीतिमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.