पाँच वर्ष : १४ हजार ५३८ बस दुर्घटना
पाँच वर्ष : १४ हजार ५३८ बस दुर्घटना
काठमाडौँ : कपिलवस्तुको बुद्धभूमि नगरपालिका-४ झडुलामाईमा बस र पिकअप ठोक्किँदा एकजनाको मृत्यु भयो। आठजना घाइते भए।
काठमाडौँबाट सुर्खेत जाँदै गरेको क प्र ०२-००१ ख ०५२५ नम्बरको बस र लु १ च ९२८४ नम्बरको पिकअप मंगलबार बिहान करिब साढे ५ बजे ठक्कर खाँदा पिकअपका चालक कपिलवस्तुका हिरालाल बढईको मृत्यु भयो।
पिकअपमा च्यापिएका बढईलाई दुई घण्टापछि निकालिएको इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक वीरबहादुर सुनारले जानकारी दिए। रूपन्देहीको सैनामैना नगरपालिका-१० सालझण्डीमा बस दुर्घटना हुँदा ४३ जना घाइते भए।
दाङबाट काठमाडौँका लागि छुटेको रा १ ख २७८३ नम्बरको बस गएराति ११ बजेर ५० मिनेटमा सालझण्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु १ ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किएको हो।
दुर्घटनामा बस चालक र यात्रुसहित ४३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए। हरेक दिन यस्ता दुर्घटनाका खबर मिडियाबाट आइरहेकै छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी हरि ओली राजमार्गमा हुने सवारी दुर्घटनाको मुख्य कारण द्रुत गति नै रहेको बताउँछन्।
हाम्रा सडकहरू सामान्यतया ६० किलोमिटर प्रतिघण्टा हुने भए पनि ७०/ ८० किलोमिटरमा सवारी गुडाइरहेका हुन्छन्। ओलीका अनुसार सडक दुर्घटना न्युनिकरण गर्न ठाउँ-ठाउँमा खटिने प्रहरीका अगाडि सुस्त देखिए पनि अन्य बेला चालकले नियम मान्दैनन्। जति सक्दो तीव्र गतिमा कुदाउँछन्।
मध्यक्षेत्रको बुटवल-नारायणगढ सडक खण्डमा निर्माणको काम भइरहेको छ। सवारी जाम र सडकको दुरावस्थाले सवारी चालक थाकिसकेका हुन्छन्। बुटबलबाट अगाडि राजमार्गमा सवारीको रफ्तार बढ्ने भएकाले दुर्घटना हुने गरेको सडक सुरक्षाविज्ञ आशिष गजुरेल बताउँछन्।
सामान्यतया एक चालकले २५० किलोमिटर चलाउन नपाउने भनिए पनि नेपालमा यसको कुनै मापदण्ड लागू नभएको गजुरेलको भनाइ छ।
‘लामो दुरीका सवारीमा दुई चालक आवश्यक पर्छ। त्यो नियम भए पनि व्यवहारमा लागू भएको छैन। निरीक्षण गर्ने प्रविधि छैन। 'चालकले रातभर चलाए पनि प्रहरीका अगाडि भर्खर चलाएको हुँ भनेर झुट बोल्छ’, उनले भने, ‘सरकारले लामो दुरीका सवारीमा दुईजना चालक राखे पनि यसले प्रभावकारी काम हुन सकेन।'
सडकको अवस्था र हाम्रा सवारी साधनको अवस्थाले पनि सवारी दुर्घटनामा कुनै कमी नभएको उनले बताए।
पाँच वर्षमा १४ हजार ५३८ बस दुर्घटना
बितेको पाँच वर्षमा साना र ठूला गरेर करिब १ लाख १६ हजार ९९९ दुर्घटनाहरू भएका छन्। जसमा बस करिब १४ हजार ५३८ दुर्घटनामा परेका छन्। नेपाल प्रहरीले दिएको तथ्यांक अनुसार ८०/८१ को वैशाख मसान्तसम्म १ हजार ९४२ बस दुर्घटना भएका छन्।
७९/८० मा २ हजार ८५० बस दुर्घटना भए। त्यस्तै, ७८/७९ मा २ हजार ७८६ बस दुर्घटना भएका छन्। ७७/ ७८ मा १ हजार ७१९, ७६/७७ मा २ हजार ६०७ र cfj ७५/ ७६ मा २ हजार ६३३ वटा दुर्घटना भएका छन्।
१४ हजारले गुमाए ज्यान
बितेको पाँच वर्ष र चालु वर्षको वैशाख मसान्तमामा साना ठूला दुर्घटनामा करिब १४ हजार ७६८ जना नागरिकले ज्यान गुमाएका छन्। त्यस्तै दुर्घटनाबाट गम्भीर घाइते हुनेको संख्या ४० हजार ३८० रहेको छ।
‘निगरानी गर्ने प्रविधि भएन’
सडक दुर्घटनाको मुख्य कारण नै असुरक्षित सडक हो। यद्यपि आज देशका सडक हेर्ने हो भने धेरै नै स्तरोन्नति भएको छ t/ पर्याप्त छैन। सवारी साधनको अस्वस्थ प्रतिस्पर्धा, बिनाट्रायल सवारी चालक अनुमतिपत्र वितरण, अनुशासनको कमी नै आजको मुख्य समस्या रहेको गजुरेल सुनाउँछन्।
‘सवारी चालकको मानसिक अवस्थाबारे हामीले सोचिरहेका छैनौँ। नियमअनुसार सवारीलाई वर्षमा चारपटक जाँच गर्नुपर्ने भन्ने छ तर हामीकहाँ यस्तो केही पाउँदैनौँ। सवारी जाँचलाई एकदमै कडाइ गर्न जरुरी छ। सवारी चालकको प्रभावकारी नियमन नै आजको आवश्यकता हो’, उनले भने।
तपाईंको ईमेल गोप्य राखिनेछ ।