|

हेटौँडा : संस्कृत पठनपाठन ठप्प रहेको अवस्थामा मकवानपुरको पूर्वी क्षेत्रमा अवस्थित एउटा गुरुकुलमा अध्ययनरत अधिकांश विद्यार्थी दलित समुदायका रहेका छन्।

यहाँ अध्ययनरत विद्यार्थीहरु विहान बेलुकी नित्यकर्म गर्नुका साथै कक्षा कोठामा स्वरमा स्वर मिलाएर मन्त्रोच्चारण गरेर पढ्न थाल्छन्। 

उनीहरुको मन्त्रोच्चारणले झट्ट सुन्दा स्कुल छेउबाट हिँड्ने बटुवाहरुलाई कुनै मन्दिरमा पूजापाठ भइरहेको भान पर्ने गरेको भए पनि त्यसो नभएर हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१८ स्थित वैदिक संस्कृत गुरुकुलका विद्यार्थीहरुले पूजापाठ नभएर पढाइका क्रममा मन्त्रोच्चारण गरेका हुन्। 

हेटौँडा बजारबाट करिब १६ किलोमिटर पर रहेको गुरुकुलका कक्षा कोठामा प्रवेशपश्चात मन्त्रोच्चारण गर्ने यी विद्यार्थीहरुमा ब्राह्मणमात्र छैनन्, अधिकांश दलित समुदायका छन्।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१८ मा रहेको गुरुकुलमा १४ जना दलित विद्यार्थीहरु संस्कृत पढिरहेका छन्। उनीहरुले संस्कृत ब्राह्मणले, पाली बौद्ध धर्मावलम्बी जनजातिले र किरात ग्रन्थ किरात समुदायकै मानिसले मात्र पढ्नुपर्छ भन्ने रुढीवादी र परम्परागत चिन्तनलाई चुनौती दिएका छन्। 

ज्ञान आर्जन गर्न कुनै जात, धर्म, लिंग र सम्प्रदायले छेक्दैन भन्ने गतिलो उदाहरण हेटौँडाको यो गुरुकुलले प्रस्तुत गरेको छ। दलित समुदायका विद्यार्थी रुचिपूर्वक संस्कृत अध्ययन गरिरहेका छन्। संस्कृत अध्ययन गर्ने विद्यार्थीहरु मकवानपुरका मात्र छैनन्, उदयपुर, बारा र सर्लाहीका विद्यार्थी पनि छन्। 

गुरुकुलमा अध्ययन गर्ने मकवानपुरको बकैयाका अरुण सुनार, मकवानपुरगढीका सुभद विक, लालबन्दीका जेनीश बराईली‚ बारा पथलैयाका श्रवण कालिकोटे,  उदयपुरका सुभम विक, सर्लाहीका सागर सेन्चुरी, पठनकुमार सेन्चुरी, सुरज विक, राजकुमार विक, सर्वन कालिकोटे, प्रज्वल धनुकी, करण रसाईली र सम्राट दुरौली पढ्छन्। 

हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१८ मा रहेको ज्योति माविको पुरानो भवनमा २ महिनादेखि संस्कृत पाठशाला सञ्चालन हुँदै आइरहेको छ।

वैदिक वानप्रस्थ आश्रमद्वारा सञ्चालित उक्त आश्रममा अहिलेसम्म १७ जना विद्यार्थीहरु अध्यनरत छन्। १७ जना विद्यार्थीहरुमध्ये १५ जना दलित र २ जनामात्रै गैरदलित रहेका छन्। 

मुलुकका केही संस्कृत पाठशालामा दलित विद्यार्थीलाई प्रवेश नगराइएको अवस्थामा उक्त पाठशालामा अधिकांश दलित विद्यार्थीहरुलाई समावेश गरिएको आश्रमका अध्यक्ष खेटराज दुलालले बताए।

‘गुरुकुलको उद्देश्य के हो भने हाम्रो सम्पूर्ण भाषाको जननी भनेकै संस्कृत भाषा हो। संस्कृत भाषा केवल ब्राह्मणमा मात्रै सीमित भएको हुनाले संस्कृत सबैले पढ्न पाउनुपर्छ भनेर हामीले विद्यालय स्थापना गरेका हौँ,’ उनले भने, ‘ब्राह्मण, क्षेत्री कोही जातिको भेदभाव हुँदैन। यहाँ विद्यारुपी सागर समान ढंगले वहन्छ।’ 

कक्षा ६ देखि पढाई हुने गुरुकुललाई हेटौँडा उपमहानगरले स्वीकृति दिएको छैन। स्वीकृतिका लागि उपमहानगरपालिकाको शिक्षा एकाईमा पत्र पठाईएको गुरुकुलका प्रधानाध्यापक खगेन्द्र कोइरालाले जानकारी दिए।  

अहिले संस्कृत पढाउने ३ जना र शिक्षणबाट सेवानिवृत्त भएका स्थानीय शिक्षकहरुले पढाउने गरेको प्रधानाध्यापक कोइरालाले बताए।

अंग्रेजी, ज्योतिष विज्ञान, नीतिशास्त्र, वेद, गणित, रुद्रीजस्ता विषयका पढाइ भइरहेको छ। हालैमात्र स्थापना गरिएको  गुरुकुल स्थानीयहरुको सहयोगमा संचालन भइरहेको छ। विद्यालयको आफ्नै आर्थिक स्रोत केही पनि छैन। 

हेटौँडा—१८ का वडाध्यक्ष अनिल बानियाँले उक्त वेद विद्यालय वडाको ड्रिम प्रोजेक्टको रुपमा रहेको बताएका छन्। 

‘स्कुललाई हामीले भवन उपलब्ध गराएको र अझै थप व्यवस्थित गर्न वडाले बजेट छुट्याउने छ‚’ उनले भने‚ ‘दलित समुदायलाई अगाडि बढाउन र संस्कृत भाषाको संरक्षण गर्न नेपालमै दलित पढाउने वेद विद्यालयको रुपमा स्थापना गरिएको हो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.