अवस्था हेरेर थप एक लाख स्वयंसेवक पनि खटाइने
अवस्था हेरेर थप एक लाख स्वयंसेवक पनि खटाइने
काठमाडौं : यसवर्ष मनसुन सुरू भइसकेको छ। मनसुनका कारण भएको वर्षाले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-२ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्।
गत बुधबार रातिदेखिको वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा ६ वटा पुल बगाएको छ। पुल बगेपछि यातायातका साधन सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
यस्तै, संखुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्तिमा गाउँमा मंगलबार पहिरोले तीन घर बगाएको छ। अविरल वर्षासँगै गएको पहिरोले आङ्लास्थित कोक्तिमा गाउँका मणिप्रसाद राई, राम प्रसाद राई र दिलबहादुर राईको घर पहिरोले बगाएको हो।
पहिरोबाट जिल्लाका विभिन्न ठाउँमा ९ घर विस्थापित भएका छन्। खाँदबारी नगरापलिका –४ सेकाहामा चार घर पहिरोबाट विस्थापित भएका छन्। पहिरोले चिचिला गाउँपालिकामा ५ घर पहिरोको उच्च जोखिममा परेका छन्।
चिचिला वडा नम्बर १ र २ मा ५ घर पहिरोले उच्च जोखिममा परेको प्रहरीले जनाएको छ। जिल्लामा बाढी पहिरोले के कति क्षति भयो भन्ने विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
पहिरोले उत्तर दक्षिण कोशी सडकमा समेत क्षति पुगेको छ। कालोपत्र गर्न ठिक्क पारिएको ४ किलोमिटर सडकमा क्षति पुगेको उत्तर दक्षिण कोशी सडक आयोजनाले जनाएको छ। यो कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथाङ्का सडक खण्डमा पर्छ। पानीले सडकमा करिब १ करोडको क्षति पारेको सडक कार्यालयले जनाएको छ।
यो मनसुनमा १८ लाख नागरिक प्रभावित हुने
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २३औँ बैठकले १८ लाख १ हजार मानिस प्रभावित हुनसक्ने प्रक्षेपण गरेको छ।
मनसुनजन्य विपदबाट ८३ हजार घर परिवार प्रत्यक्ष प्रभावित हुनसक्ने र १८ हजार घर परिवारलाई उद्धार तथा राहत दिनुपर्ने आँकलन गरिएको प्राधिकरणले जनाएको छ।
कुन प्रदेशमा कति क्षति?
मनसुनमा कोशी प्रदेश र मधेश प्रदेश बढी प्रभावित हुने अनुमान गरिएको छ। तेस्रोमा लुम्बिनी प्रभावित हुने प्राधिकरणको अनुमान छ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले मनसुन अवधिमा कोशीमा एक लाख १३ हजार परिवारका झण्डै पाँच लाख मानिस विपद्बाट कुनै न कुनै रूपमा प्रभावित हुने अनुमान गरिएको बताए।
बढी पानी पनि सोही क्षेत्रमा पर्ने र बाढीपहिरो तथा डुबानका घटना हुनसक्ने अनुमान गरिएको उनले बताए। कोशीमा २२ हजार घर प्रत्यक्ष प्रभावित हुने तथा ५ हजार परिवारलाई राहत र उद्धार गर्नुपर्ने अवस्था आउनसक्ने अनुमान गरिएको छ।
त्यसपछि मधेश प्रदेशमा ९८ हजार घरपरिवारका चार लाख ३० हजार मानिस प्रभावित हुने अनुमान गरिएको छ। कुल २० हजार प्रत्यक्ष प्रभावित हुने तथा चार हजार घर परिवारलाई राहत र उद्धार गर्नुपर्ने अवस्था आउन सक्ने प्राधिकरणको आँकलन छ।
तेस्रोमा लुम्बिनी प्रदेशका ७७ हजार घरका तीन लाख ३६ हजार पाँच सय ५८ व्यक्ति प्रभावित हुने अनुमान छ। उक्त प्रदेशमा १५ हजार परिवार प्रत्यक्ष प्रभावित हुने र तीन हजारलाई उद्धार र राहतको आवश्यकता पर्नसक्ने अनुमान गरिएको प्राधिकरणले जनाएको छ।
बागमती प्रदेशमा ३३ हजार तीन सय ७१ घर परिवारका एक लाख ४६ हजार, गण्डकी प्रदेशका २५ हजार घर परिवारका एक लाख १० हजार पाँच सय ५४, कर्णाली प्रदेशमा ११ हजार पाँच सय ४८ घर परिवारका ५० हजार चार सय ६४ मानिस प्रभावित हुने अनुमान गरिएको छ।
यस्तै, सुदूरपश्चिम प्रदेशमा ५३ हजार घर परिवारका दुई लाख ३३ हजार एक सय ९० व्यक्ति कुनै न कुनै रूपमा विपद्बाट प्रभावित हुने र त्यसमध्ये पाँच हजार घर परिवार प्रत्यक्ष प्रभावित भई एक हजार पाँच सय घरलाई प्रत्यक्ष राहत र उद्धार गर्नुपर्ने अवस्था आउन सक्ने अनुमान छ।
विपद् व्यवस्थापनको तयारी कस्तो?
विभिन्न विश्लेषणका आधारमा उक्त अनुमान गरी सोहीअनुसार प्रतिकार्यका लागि राष्ट्रिय योजना बनाएर विपद् व्यवस्थापनको पूर्वतयारी गरिरहेको प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले बताए।
यसपटक सरकारले गृह मन्त्रालयमा ‘कमाण्ड सेन्टर’ स्थापना गरी विपद् व्यवस्थापन कार्य अघि बढाएको छ। विपद् क्षेत्रमा आधा घण्टामा टोली पुग्नेगरी तयारी गरिएको गृहमन्त्रालयले जनाइसकेको छ।
भट्टराईका अनुसार विपद्मा उद्धारका लागि करिब ३१ हजार सुरक्षाकर्मी परिचालन हुने बताए। उनका अनुसार नेपाली सेनाबाट १० हजार ८ सय ४७, सशस्त्र प्रहरीका ९ हजार ९ सय २४ र नेपाल प्रहरीका १० हजार ५ सय ८५ जना सुरक्षाकर्मीहरू खटिनेछन्। १ लाखभन्दा बढी स्वयंसेवक पनि उद्धारका लागि खटिने भट्टराईले बताए।
उनले विपद्मा क्षतिपूर्ति दिन सहयोगका लागि ६ अर्ब ७८ करोड मौज्दात रहेको र तत्कालका लागि खानाको लागि दुर्गममा २ हजार २ सय ३४ टन र उपत्यका र तराईका लागि ५ हजार १ सय ३३ टन चामल मौज्दात रहेको जानकारी दिए।
नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले उद्धारमा खटिन थप ४ सय प्रहरीलाई थप तालिम दिएको पनि बताए।
विपत्तिका घटना बढ्ने विज्ञको चेतावनी
गत जेठ २२ गते जलवायु विज्ञहरूले विपद्जन्य हानि तथा नोक्सानीका कारण नेपालले विगत ८ वर्षमा करिब साढे १८ करोड अमेरिकी डलर बराबरको नोक्सानी भोगेको बताएका थिए।
बाढी, पहिरो, समुद्री आँधी लगायतका घटनाहरू बढीभन्दा बढी वृद्धि हुने उनीहरूले बताए। कार्यक्रममा बोल्दै जलवायु विज्ञ एवं प्रकृति रिसोर्स सेन्टरका निर्देशक प्रविनमान सिंहले आगामी दिनमा बाढी, पहिरो लगायतका घटनाहरूमा वृद्धि हुने बताएका थिए।
उनले जलवायुजन्य विपद्का कारण मानवीय र आर्थिक क्षतिका साथै सामाजिक, सांस्कृतिक क्षेत्रमा पनि बढी असर परेको बताए।
निर्देशक सिंहले बाढीका कारण प्राकृतिक सौन्दर्यतामा पनि असर परेको जिकिर गरे। उनले बाढीका कारण बसाइँसराइका समस्यासमेत बढेको र बाढीले घरायसी काममा महिलाहरूको बोझ झनै थपिएको स्पष्ट पारे।
गत वर्ष ४९३ को मृत्यु, ५ अर्ब बढीको क्षति
विसं २०८० मा विपद्जन्य घटनाबाट ४९३ जनाको मृत्यु भएको छ। विपद्जन्य घटनामा परेर ३१ जना बेपत्ता भएका छन् भने एक हजार ६ सय १६ जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेका अनुसार कुल ६ हजार चार सय चार विपद्जन्य घटना भएकामा त्यसमा परेर ८० हजार सात सय १६ परिवार प्रभाभावित भएका थिए। विपद्जन्य घटनाका कारण कुल पाँच अर्ब ४२ करोड ५६ लाखको क्षति भएको छ।
गत वर्ष पहिरो, बाढी, डुङ्गा दुर्घटना, चट्याङ, सर्पदंश, आगलागी, भारी वर्षा, गैरप्राकृति विपद्, हुरीबतास, भूकम्प, फ्लु, जनावर आक्रमण, हिमपहिरो, डढेलो, हिमपात लगायतका घटना भएका थिए।
गत वर्ष कात्तिकमा गएको जाजरकोट भूकम्पबाट सबैभन्दा बढी एक सय ५५ जनाको मृत्यु भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ। त्यसपछि धेरै क्षति आगलागीका कारण भएको सहसचिव पाण्डेले जानकारी दिए।
मुलुकभर २०८० मा वैशाख १ देखि चैत ३० गतेसम्म आगलागीका चार हजार ६१ घटना भएका थिए। त्यसमा परेर एक सय ६ जनाको मृत्यु भएको थियो पाँच सय ६ जना घाइते भएका थिए। कुल पाँच हजार एक सय ३० परिवार प्रभावित भएका थिए। आगलागीबाट दुई अर्ब ५२ करोडभन्दा बढीको क्षति भएको थियो।
यसैगरी, गत वर्ष दुई सय ५० वटा चट्याङका घटना भएका थिए। त्यसमा परेर ४६ जनाको मृत्यु भएको थियो भने दुई सय २८ जना घाइते भएका थिए। जनावरको आक्रमणबाट ४५ जनाको मृत्यु तथा दुई सय ७८ जना घाइते भएका सहसचिव पाण्डेले बताए।
गत वर्ष उच्च उचाइका कारण १५, पहिरोमा परेर ५०, बाढीबाट १८, सर्पदंशबाट २०, हिम पहिरोबाट १२ र वन डढेलोबाट ११ जनाको मृत्यु भएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।