काठमाडौं : संसारभर व्यापक रूपमा अटिजम स्पेक्ट्रम डिसअर्डर (एएसडी) बढ्दै गएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले प्रतिसयमा एकजना बालबालिकालाई अटिजम देखिएको उल्लेख गरेको छ। नेपालमा भने अटिजम भएका व्यक्तिहरूको यकिन तथ्यांक छैन।
तर, पछिल्लो समय अटिजम भएका व्यक्तिहरू बढेका चिकित्सकहरू बताउँछन्। मनोविद् डा. गंगा पाठक अटिजम भएको ६ महिनामा थाहा हुने भए पनि अभिभावकहरूले तीन चार वर्षमा मात्रा थाहा पाएको बताउने गरेका बताउँछिन्।
अघिल्ला पुस्ताको तुलनामा अहिले बालबालिकाको दैनिक जीवनमा इलेक्ट्रोनिक स्क्रिनमा पहुँच बढी छ। धेरै समय स्क्रिन (मोबाइल, टिभी, ल्यापटप) मा व्यस्त हुँदा मेलानोप्सिन–एक्सप्रेसिङ न्यूरोन्स र गामा–एमिनोब्युटिरिक एसिड न्यूरोट्रान्समिटर घट्ने अध्ययनहरूले देखाएका छन्।
प्रारम्भिक जीवन (२ वर्षभन्दा कम उमेर) मा भाषा एवं बोलिचालको विकासमा कमी र अटिस्टिकमा जस्तै व्यवहारमा इलोक्ट्रोनिक मिडियाको प्रयोगको प्रभाव सम्बन्धमा गरिएको अध्ययनबाट हरेक दिन ३ घण्टासम्म टिभी हेर्ने बालबालिकामा भाषामा ढिलाइ, एकोहोरिने, ध्यान दिन नसक्ने जस्ता समस्या देखिए।
आफ्नो काममा बच्चाले हस्तक्षेप नगरोस् भन्दै बाबुआमा स्वयं मनोरञ्जन र व्यस्त राख्ने साधनको रूपमा स्क्रिनलाई बालबालिकाको साथी बनाइरहेका छन्।
प्रविधिको बढ्दो प्रयोगले निम्त्याएका समस्या थाहा पाएर पनि ठूलै मान्छेले समेत आफ्नो बानी सच्याउन नसक्दा शारीरिक र मानसिक स्वास्थ्य जोखिम निम्त्याइरहेका छन्।
राष्ट्रिय रणनीति बनाउने तयारी
बालबालिकादेखि वृद्धवृद्धा समेतले मोबाइल, ल्यापटप, टिभीलाई आफ्नो समय बिताउने सहारा बनाइरहेका छन् जसले गर्दा आँखाको समस्या, हात, गर्धन, ढाड दुख्ने, नसामा समस्या हुनेदेखि मानसिक स्वास्थ्यमा र स्वभावमै नकारात्मक असर गरेको छ।
यही जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारले नै मोबाइलको प्रयोग घटाउने उद्देश्यसहित डिजिटल अटिजमका विषयमा राष्ट्रिय रणनीति बनाउने तयारी गरेको छ। यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रारम्भिक छलफल गरेको छ।
कार्यालयकी शाखा अधिकृत सविना खतिवडाका अनुसार, लामो समयसम्म स्क्रिन (मोबाइल ल्यापटप, टिभी) मा बस्ने बानीले विशेषगरी बालबालिकामा मानसिक स्वास्थ्यमा समस्या (मेन्टल्ली डिसअर्डर) देखापरेको, अटिजमका लक्षण जस्तै : एकोहोरो हुने, दोहोरो कुरा नगर्ने, लामो समयसम्म पनि नबोल्ने समस्या बढेको र किशोरावस्था, वयस्कदेखि वृद्धावस्थाका व्यक्तिहरूमा समेत डिप्रेसन लगायतका मानसिक र शारीरिक समस्याहरू बढेकाले अब यस विषयमा हस्तक्षेप गर्न आवश्यकता ठानिएको छ। यसले भयावह रूप लिनुअघि प्रारम्भिक अवस्थामै रणनीति बनाउन आवश्यक ठानेर सरकारले स्वास्थ्य र साइबर दुवै दृष्टिकोणबाट योजना बनाई अगाडि लैजाने तयारी गरेको उनले बताइन्।
डिजिटल अटिजमका सम्बन्धमा हालसम्म कुनै अध्ययन एवं तथ्यांक संकलन गर्ने काम भएको छैन। यद्धपि सामाजिक पक्षलाई नियाल्दा लगभग सबैको दैनिक जीवनमा यो समस्या बढ्दो देखिएकाले अब तथ्यांक संकलन गरेर रणनीति बनाउन लागिएको खतिवडाले बताइन्। तर, मोबाइलको लत हटाउने कुरामा सरकारले कानुन नै बनाइदिएर मात्र हुँदैन। यसका लागि व्यक्ति स्वयं र घरपरिवारबाटै सचेत हुन जरुरी देखिन्छ।
सरकारले विशेष उपाय अपनाउन सुझाव प्रदायकका रूपमा काम गर्नुपर्नेमा जोड दिँदै सरोकारवालाहरूले डिजिटल अटिजमसम्बन्धी राष्ट्रिय रणनीति बनाउन दिशानिर्देश गर्ने बताएका छन्। सरकारीस्तरबाट जनचेतना र शिक्षामार्फत जानुपर्ने उनीहरूको सुझाव छ।
अन्तर्राष्ट्रिय स्तरमा भएका अध्ययनलाई आधार मान्ने हो भने डिजिटल अटिजमले मानव सभ्यताले सिकाउँदै आएका कुरा तथा सामाजिक संस्कारहरूमा बाधा सिर्जना गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव डा. कृण्णहरि पुस्कर बताउँछन्।
डिजिटल अटिजमले व्यक्ति, परिवार, समाज हुँदै देशलाई नै प्रभाव पार्न खोज्ने भएकाले बाह्य गतिविधि र घुमफिर जस्ता कार्य गरेर मोबाइलको प्रयोगमा कमी ल्याउन सकिने उनको भनाइ छ।
मन्त्रालयले पनि कार्यक्रम ल्याउने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले डिजिटल अटिजमका विषयमा मन्त्रालयले पनि कार्यक्रम ल्याउने योजना बनाएको बताए। ‘यो समस्या विस्तारै बढ्दै गएको छ,’ उनले भने, ‘यस विषयमा सरकारले पोलिसी ल्याउनुपर्ने देखिएको छ।
मन्त्रालयले आगामी वर्ष यससम्बन्धी कार्यक्रम गर्ने प्रस्तावसमेत गरेको छ।’ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. दिपक काफ्लेले सरकारको तर्फबाट नीति नियमहरू बनाउन आवश्यक भएपनि डिजिटल अटिजमबाट जोगिन प्रत्येक मानिसले आफूलाई अनुशासनमा राख्नुपर्नेमा जोड दिए।
कठिनाइ झेल्दै अटिस्टिक बालबालिका र अभिभावक
अटिजम भएका बालबालिकाका सहितका व्यक्तिलाई विभिन्न खालका शारीरिकसँगै व्यावहारिक कठिनाइहरू भोग्नुपरेको छ भने अभिभावकहरूले पनि सामाजिक तथा मानसिक तनावको अवस्थाबाट गुज्रनुपरेको गुनासो गर्ने गरेका छन्।
अटिस्टिक बालबालिकाको उपचारदेखि पढाई, लालनपालन सम्ममा आइपर्ने जटिलता कम गराउन सरकारी स्तरबाटै सहजीकरण भइदियोस् भन्ने अपेक्षा बढ्दो छ।
अटिजम भएकासहित सबै मानिसले शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धमा उच्चस्तरको आनन्दा लिने अधिकार रहे पनि अटिस्टिक व्यक्तिहरू अझै पनि, स्वास्थ्य सेवा, शैक्षिक सुविधा, समुदायमा सहभागी हुने अवसरहरूबाट वञ्चित हुनुका साथै भेदभावको सिकार बन्नुपरेको प्रति विश्व स्वासथ्य संगठन डब्ल्युएचओले चिन्ता व्यक्त गर्दै आएको छ।
अटिजम भएकालाई पनि अन्य सामान्य व्यक्तिलाई झैँ स्वास्थ्य समस्याहरू हुने गर्दछ। यद्यपि, उनीहरूलाई अटिजम वा अन्य घटनाहरूसँग सम्बन्धित विशिष्ट खालको स्वास्थ्य–सेवाको आवश्यकता पर्न सक्छ। शारीरिक निष्क्रियतासँगै व्यावहारिक कठिनाइले हुनसक्ने कमजोर अवस्थाका कारण उनीहरू हिंसा, चोटपटक र दुव्र्यवहारको बढी जोखिममा पर्ने गर्दछन्।
के हो अटिजम?
विज्ञहरूका अनुसार, अटिजम मस्तिष्कको विकासका क्रममा उत्पन्न असन्तुलनबाट देखिने समस्या हो, जसलाई ‘न्युरो डेभलोपमेन्ड डिसअर्डर’ पनि भनिन्छ।
मस्तिष्कमा स्नायु कोषहरूको सञ्जालले राम्रोसँग काम नगर्दा सामाजिक क्रियाकलाप, सञ्चार, सिप र कल्पाना शक्तिको विकासमा बाधा पुग्छ जसले गर्दा अटिजम भएकाहरूले फरक व्यवहार, स्वभाव र क्रियाकलाप गर्छन्।
अटिजम भएका बालबालिकाको शारीरिक अवस्था सामान्य देखिए पनि सामाजिक तथा सञ्चारसम्बन्धि सीप सिकाइको क्षमता कम हुन्छ।
लक्षण
चिकित्सकहरूका अनुसार, अटिजम भएका बालबालिकाले अरूसँग घुलमिल नहुने या एक्लै खेल्न मन पराउने, कसैसँग दोहोरो कुराकानी नगर्ने, आँखा जुधाएर बोल्न नसक्ने, सामाजिक क्रियाकलापमा रुची नराख्ने, एउटै कुरामा मात्रै ध्यान दिइरहने, वस्तुहरूप्रति अनौठो लगाव, बोलाउदा प्रतिक्रिया नदिने, आफ्नो भावना व्यक्त गर्न नसक्ने र अरुको भावना नबुझ्ने लक्षण देखाउँछन्।
यस्तैगरी, उमेरअनुसार बोलीको विकास नहुने, अरुले भनेकै वाक्य वा शब्द दोहोर्याउने, आफूलाई चाहिएको वस्तु बोलेर नभई औँलाले इशारा गरेर नदेखाउने, घाउचोट र दु:खाइमा असामान्य बेवास्ता गर्ने वा अत्यधिक प्रतिक्रिया दिने, उफ्रने, हल्लिरहने, मच्चिने, कुर्कुच्चा या औँलाले मात्रै टेकेर हिँड्ने, अनौठा आवाजहरू निकाल्ने जस्ता लक्षण अटिजम भएका व्यक्तिमा देखिन्छ।
उपचार
मनोविद् रूपमा काम गरिरहेकी डा गंगा पाठकका अनुसार, अटिजमका स्पष्ट औषधि उपचार छैन। डायग्नोसिस गरेर कुन अवस्थाको अटिजम हो भन्ने पत्ता लगाइन्छ। यसको लामो प्रक्रिया हुन्छ। यसका लागि थेरापीमार्फत उपचार गर्ने गरिन्छ।
फिजियोथेरापी, स्पिच थेरापी, अकुपेसनल थेरापी, संगीत चिकित्सा, कला थेरापी, व्यवहार थेरापी, प्राकृतिक चिकित्सा थेरापी आदि दिन सकिन्छ। ‘पहिलो काम भनेको सामाजिक अन्तरक्रिया नै हो’ उनले भनिन्। यस्ता थेरापीबाट अटिजम भएका बालबालिकाको शारीरिक तथा मानसिक क्षमताको विकास हुन्छ।
बच्चालाई मात्र नभई उनीहरूका अभिभावकहरूलाई तालिम दिएर कसरी बालबालिकासँग व्यवहार गर्ने भन्ने पनि सिकाइन्छ। उनका अनुसार, यो विधिबाट धेरै बच्चाहरू निको भएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।