|

काठमाडौं : सत्ता समीकरण परिवर्तनसँगै पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारमा ‘कमब्याक’ भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरूले आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गरिसकेका छन्। 

गत २१ फागुनमा सत्ता सीमकरण फेरिएपछि उपप्रधानसहति गृहमा रास्वपा सभापतिसमेत रहेका रवि लामिछानेले ‘कम्ब्याक’ गरे भने पार्टी उपसभापति डोलप्रसाद (डिपी) अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बने। 

यस्तै सहमहामन्त्री सुमना श्रेष्ठले शिक्षा, विज्ञान तथा प्रविधि र विराजभक्त श्रेष्ठले युवा तथा खेलकुद मन्त्रालय सम्हालिरहेका छन्। रास्वपाका यी चारै मन्त्रीहरूले पालैपालो आफ्नो १०० दिने प्रगति विवरण सार्वजनिक गरेका हुन्।  ​

सामान्यतयाः मन्त्रीले १०० दिनको समीक्षा गर्ने प्रचलन नभएपनि रास्वपाका मन्त्रीहरूले गरे।  तर उनीहरूले सार्वजनिक गरेका प्रगति विवरणको फेहरिस्त हेर्दा उत्साहित हुने ठाउँ देखिँदैन। धेरैजसो नियमित रुपमा हुँदै आएका स–साना प्रशासनीक कामहरूलाई मन्त्रीहरूले आफ्नो प्रगति विवरणको सूचीमा समेटेका छन्।

गृहमन्त्री लामिछानेले ३२ जेठमा सुनाएका उपलब्धिहरूमा आन्दोलित पक्षहरूसँग भएको सहमति, विभिन्न विषयमा अन्य मन्त्रालयलाई गरिएको पत्राचार तथा अनुरोध र सेवा लिन टोकन प्रणाली लागू गर्नुलाई समेटिएको छ। विदेशी पाहुनालाई प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको देखि फरार अभियुक्त पक्राउ गर्नुलाईसमेत उनले कार्यप्रगति मानेका छन्। 

श्रममन्त्री अर्यालको कार्यसम्पादन गृहमन्त्री लामिछानकोभन्दा धेरै भिन्न छैन। उनले राष्ट्रको भ्रमण दलमा सहभागी हुनु र ११२ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा गरेको सम्बोधनलाई मुख्य उपलब्धिमा सूचीकृत गरेका छन्। यसैगरी श्रम व्यवस्थापन सुधारका लागि कतारका मन्त्रीसँग गरेको वार्ता, कूटनीतिक पहल तथा भेटघाटलाई उपलब्धि भनेका छन्। 

शिक्षामन्त्री श्रेष्ठले ठोस कार्यसम्पादन भन्दा पनि विभिन्न निर्णय तथा नियमित हुने प्रशासनीक कामलाई प्रगति विवरणमा समेटेका छन्। उनले विभिन्न प्रतिवेदन सार्वजनिक, अन्य मन्त्रालयसँग गरिएको समन्वय तथा पोर्टल निर्माणको प्रक्रिया थाल्नुलाई पनि उपलब्धिको सूचीमा राखेका छन्।  

खेलकुदमन्त्री श्रेष्ठले नेपालले टी–ट्वान्टी विश्वाकप खेल्नुलाईसमेत आफ्नो कार्यप्रगति विवरणमा उल्लेख गरेका छन्। त्रिवि क्रिकेट स्टेडियममा स्कोरबोर्ड र फ्लडलाइट जडान गर्ने काम भइरहेकोलाई पनि उनले  कार्यप्रगतिको सूचीमा अटाएका छन्, जबकी उनी मन्त्री हुनुपूर्व नै उक्त प्रक्रिया अघि बढिसकेको थियो। 

राजनीतिक विश्लेषक डम्बर खतिवडा रास्वपा मन्त्रीहरूको काम विगतका मन्त्रीहरूको भन्दा फरक नरहेको औंल्याउँछन्। उनीहरूले नियमित हुने सानातीना प्रशानीक कामलाई प्रगति विवरणका रुपमा प्रस्तुत गरेको उनी बताउँछन्। 

‘नयाँ गरेजस्तो लाग्दैन, जसले देशको प्रणाली, अर्थतन्त्र र सम्बन्धित मन्त्रालयको क्षेत्रहरूमा कुनै ठूलो परिवर्तन आवस्’ उनी भन्छन्, ‘सिडिओले मैले आज यति वटा नागरिकता जारी गरेँ, वडा अध्यक्षले मैले आज यतिवटा रिफारिस पत्रमा हस्ताक्षर गरेँ भनेर त्यसैलाई उपलब्धि भन्ने र सानातीना प्रशासनीक कुरा टिपाउँदै जाने हो भने त के होला ! त्यो त हिजो राणाकालमा पनि हुन्थ्यो, पञ्चायतमा पनि हुन्थ्यो, ज्ञानेन्द्र शाहको शासनकालमा पनि हुन्थ्यो। यी त नियमित प्रशासनीक प्रक्रिया संसारको जुनसुकै सरकार र राज्यमा भइरहेको हुन्छ। त्यस भन्दाबाहेक त प्रगति विवरणमा केही देखिँदैन।’

बरु रास्वपाका मन्त्रीका कारण राजनीतिक संस्कार बिग्रेको खतिवडाको बुझाइ छ। ‘हामीकहाँ कुनै व्यक्ति संसदीय छानबिनको प्रक्रियाभित्र प¥यो या कुनै ठूलो आरोप लाग्यो भने राजीनामा दिने प्रचलन हो’, उनले भने, ‘त्यो राजनीतिक संस्कार बिग्रयो नि ! आफै गृह मन्त्रालयमा बसेर सहकारी ठगी काण्डमा स्वार्थ बाझिने गरी प्रहरीको आईजीपीमाथि नैतिक दबाब सृजना गरिन्छ भने लोकतान्त्रिक राज्य, विधिको शासको दृष्टिकोणले त्यो भन्दा धेरै के बिग्रिन्छ ?’  

पूर्वमुख्यसचिव बिमल कोइराला पनि नियमित रुपमा अघि बढ्ने कामहरूलाई रास्वपाका नेताहरू मन्त्रीहरूले प्रगति विवरणमा समेटिएको बताउँछन्। उनले भने, ‘उहाँहरू नै मन्त्री भएकाले यो चाहिँ भयो है भन्ने खालको केही देखिँदैन। सामान्य नियमति प्रक्रियाबाट अघि बढेकै कामहरू देखिन्छ।’ 

रास्वपा महामन्त्री डा. मुकुल ढकाल भने आफूहरूले सरकारमा रहेर केही महत्वपूर्ण काम सुरुआत गरेको तर परिणाम आउन सयम लाग्ने बताउँछन्। ‘हामीले केही महत्वपूर्ण काम सुरु गरेकै छौं। तर अहिले कतिपय इन्डेक्सहरू देखिन बाँकी छ। त्यसकारण त्यो अनुभूति आउन समय लाग्छ’, उनी भन्छन्, ‘प्राविधिका क्षेत्रमा, भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा काम गरिएको छ। हाम्रो योजना सफल भयो भने हामी एक–डेढ वर्षमा १० हजार करोडभन्दा बढीको भ्रष्टाचार नियन्त्रण हुन्छ। तर यी कुराहरू बुझउनेगरी प्रचार नभएको मात्र हो। हामीले कहाँबाट कसरी सिस्टमको रिफर्म र इम्प्लिमेन्ट गर्न सकिन्छ भनेर एउटा लेभलको ट्र्याक समात्न सकेका छौं।’  

रास्वपाले चाहेजसरी कार्यसम्पादन नभएको घुमौरो ढंगले स्वीकार्दै महामन्त्री ढकालले वास्तविक परीक्षण अब हुने बताए। ‘१०० दिनमा मन्त्रीहरूले पनि सिकाइको अनुभूतिको हिसाबले ट्रयाक समाउने थालेको रुपमा लिनुपर्छ’, उनले भने, ‘अबका दिनमा चाहिँ वास्तविक परीक्षण सुरु हुन्छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.