|

काठमाडौँ : हरेक वर्ष ५ प्रतिशतका दरले नेपालमा लागुऔषध प्रयोगकर्ताको संख्या वृद्धि भइरहेको सरकारी तथ्यांकले देखाएको छ। ​

लागुऔषध प्रयोगकर्तामा कमी आउनुको सट्टा प्रत्येक वर्ष ५ दशमलव ६ प्रतिशतले बढ्नुमा गरिबी मुख्य कारण रहेको बताइएको छ। रिकभरिङ्ग नेपालका कार्यक्रम व्यवस्थापक विकास गुरुङले प्रयोगकर्ता बढ्नुमा देशको गरिबी र बेरोजगार मुख्य कारक रहेको बताए। 

लागूऔषध प्रयोग एक मानसिक स्वास्थ्य समस्या भएको र यसको उपचार सम्भव रहेको भन्दै गुरुङले लागुऔषध प्रयोगकर्तालाई फौजदारी मुद्दा वा दण्डका विकल्पबारे सोच्नुपर्ने बताए।

उपचार विधि अपनाएको खण्डमा राज्यलाई वार्षिकरुपमा करोडौँ रुपैयाँ जोगिने गुरुङको तर्क रहेको छ। नेपालमा अधिकांश कारागार लागुऔषध प्रयोगकर्ताले भरिएका छन्। यस्तो अवस्थामा लागुऔषध सेवनको अवस्था र मात्रा हेरेर मात्रै दण्ड र साजय दिनु उपयुक्त हुने  त्यसक्षेत्रमा काम गर्नेहरूको भनाइ छ।

नेपालको लागूऔषध (नियन्त्रण) ऐन, २०३३ र लागुऔषध नियन्त्रण राष्ट्रिय नीति, २०६३ ले लागूऔषध प्रयोग (दुर्व्यसन) लाई स्वास्थ्य समस्याको रुपमा मान्यता दिएको छ। फौजदारी मुद्दा÷दण्डको विकल्पको रुपमा उपचार सिफारिस गरेको छ।

गुरुङ् भन्छन्, 'लागुऔषध प्रयोगकर्तामाथिको उपचारले त्यसको प्रयोग, व्यक्ति र समुदायलाई हुने क्षति र लागुऔषधसम्बन्धी अपराध न्युनिकरण हुन्छ। उपचारलाई प्राथमिकता दिनु भनेको लागूऔषध प्रयोगकर्ताहरूको स्वास्थ्य, सामाजिक सुधार गर्नका लागि प्रभावकारी रणनीति पनि हो।' 

सरकारी तथ्यांक अनुसार नेपालमा ७५ प्रतिशतभन्दा बढी लागूऔषध प्रयोगकर्ता १५ देखि २९ वर्ष उमेर समूहका छन्। गृह मन्त्रालयको तथ्यांक हेर्दा नेपालका जेलमा हरेक पाँचमध्ये एक जना लागुऔषध मुद्दाका छन्। 

कुल लागुऔषध प्रयोगकर्तामध्ये ९७ प्रतिशतलाई कम्तीमा एकपटक प्रहरीले पक्राउ गरेको र पक्राउ परेकामध्ये ३२ प्रतिशतलाई फौजदारी मुद्दा लगाइएको गृह मन्त्रालयकै तथ्यांक छ। लागुऔषध नियन्त्रण ब्यूरोले मात्रै ०८० अषाढदेखि चैत्र महिनासम्म उक्त कसुरमा ३ हजार १५७ फौजदारी मुद्दा अदालतमा दायर भएको जानकारी दिएको छ। 

लागुऔषध प्रयोगकर्ताका हकमा गरिएका व्यवस्थाबारे सचेतना नहुनुले मुख्य चुनौती थपेको छ। लागुऔषध प्रयोगकर्ता बागमती र कोशी प्रदेशमा सबैभन्दा बढी देखिएका छन्।

गृह मन्त्रालयको प्रतिवेदन अनुसार २०७६ मा देशभर अनुमानित १ लाख ३० हजार ४ सय २४ जना लागूऔषध प्रयोगकर्ता रहेका थिए। कुल लागुऔषध प्रयोगकर्तामध्ये ७ प्रतिशत महिला प्रयोगकर्ता पाइएको छ। प्रयोगकर्तामध्ये पनि ६९ प्रतिशत अर्थात ९० हजारभन्दा बढीले सुईद्वारा लागूऔषध प्रयोग गरेका देखिएको छ।  

सन् २००७ मा ४६ हजार ३०९ जना लागूऔषध प्रयोगकर्ता भएकोमा सन् २०१३ मा बढेर ९१ हजार ५ सय ३४ पुगेको थियो। उक्त संख्या सन् २०२० मा १ लाख ३० हजार ४२४ पुगेको छ। यो दर हरेक वर्ष ५.०६ प्रतिशतले वृद्धि हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.