|

काठमाडौँ: पाखुरी बजाएर खानका लागि आफ्नै जमिन थियो। ठूलो जंगल फाँडेर बस्ती बसाएका थिए, उनका पुर्खाले। दाङको समथर मैदानमा थियो उनका पिता पुर्खाको घर। तर जमिन्दारहरूले उनीलगायत धेरै थारूका जमिन खोसिदिए।

आफ्नै जमिनबाट बिमुख बनाइए हजारौँ थारू परिवार। २०२४ सालतिरको कुरा हो यो। त्यतिबेला नेपालमा निर्दलीय पञ्चायतीे शासन थियो। त्यो शासनको शिकार भए सोझा दंगाली थारूहरू र धपाइए आफ्नै भूमिबाट। 

कहाँ जाने केही टुंगो थिएन उनीहरूको। कुनै  गन्तव्य थिएन। लालाबाला, महिला, केटाकेटीसहितको त्यो हजारौँको क्याराभान जस्तो थारूहरूको लस्कर आफ्नै घरबाट बेघर बनेर बर्दियातिर हिँडेको थियो।

त्यही थारूहरूको क्याराभानमा सहभागीमध्येका एक भोलिराम थारूका छोरा हुन्, सन्तकुमार थारू, जसले बुधबार बिस्तार भएको देउवा सरकारमा पशुपंक्षी विकास मन्त्रालयको बागडोर सम्हालेका छन्।

मन्त्री भएपछि कस्तो लागिरहेको छ त? भन्ने थाहाखबरको जिज्ञासामा उनी एकछिन् रोकिए अनि बोले, ‘सानोमा कुनै दिन मन्त्री पनि बन्न सक्छु भन्ने सोचेकै थिइनँ। ठूलो हुँदै गएपछि जनयुद्धमार्फत माओवादी राजनीतिमा लाग्दा देश परिवर्तनका लागि नीति निर्माण तहमा पुग्नुपर्छ भन्ने लागिरहन्थ्यो।’ 

थारूले दुई पटक भएका संविधानसभाको निर्वाचनमा प्रत्यक्षतर्फ विजय हासिल गरे। बर्दियाको निर्वाचन क्षेत्र नं. ३ बाट चुनाव लडेका उनले २०६४ को चुनावमा नेपाली कांग्रेसका पर्शु चौधरीलाई झण्डै तेब्बर मतले जितेका थिए। पर्शु चौधरीको मत आठ हजारको हाराहारी थियो भने थारूको मत २४ हजार बढी थियो। 

दोस्रो पटक २०७० मा  भएको संविधानसभाको निर्वाचनमा पनि थारू सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भए। नेपाली कांग्रेसकी मालती चौधरीलाई चार हजार ३०० मतले पछि पार्दै उनले जीत हात पारेका थिए।

मरे शहीद, बाँचे समाज परिवर्तनको यात्रामा 
०३६ भदौ १५ गते बर्दियाको जोगीगाउँमा जन्मिएका थारू क्याम्पस पढ्दापढ्दै ०५३ सालमा माओवादी जनयुद्धमा भूमिगत बनेका थिए। भारतको रूपेडियामा रहेको रामजानकी इन्टरकालेजमा पढेका उनले आईए पास गरेका छन्। जनयुद्धमा लागेपछि उनले औपचारिक पढाइलाई निरन्तरता दिन सकेनन्।

बाँचे देशको व्यवस्था परिवर्तन गर्ने र मरे शहीद हुने अभिलाषा बोकेर युद्धमा लागेका थारू तत्कालीन जनमुक्ति सेनाको जीत स्मृति व्रिगेडको २४ नम्बर बटालियन कमिसार बन्न पुगे। उनले आफ्नै योजनामा केही लडाइँ लडे।

म्याग्दीको बेनी र रुकुमको खारा तथा नवलपरासीको रम्भापुर भिडन्त उनको जीवनका चर्चित युद्धमोर्चाहरू हुन्। बर्दियाकै लालपुर मोर्चा उनलाई आजसम्म पनि बिझाउने मोर्चा हो। यो मोर्चामा कमाण्डर जीतसहित २५ जना बढी साथी शहीद भएका थिए। त्यति धेरै शहादत भएर पनि पूरै सफलता हात पाउन नसकिएको मोर्चा भएको हुनाले पनि उनलाई त्यो पल बिझाइरहन्छ।

शासकवाट उत्पीडनमा परेका थारू समुदाय, मजदुर र किसान वर्गका लागि केही सम्झिन योग्य काम गर्न चाहन्छन् उनी। उनले थाहाखबरलाई आफ्नो योजना सुनाए, ‘मैले गरेको कामले उनीहरूको जीवनमा केही सुधार होेस् भन्ने उद्देश्यले इमान्दारीपूर्वक काम गर्नेछु।’ 

०२४ सालमा जमिन्दारको उत्पीडनमा परेर आफ्नो भूमि छोडी बुरान (०२४/०२५ सालतिर जमिन्दारको उत्पीडन सहन नसकी दाङबाट जमिन छोडेर बर्दिया गएकाहरू त्यो घटनालाई बुरान भनेर चिन्छन्।) जानुपरेको तीतो यथार्थ उनका बुबाले उनलाई बेलाबेला सुनाउँछन्।

उनी आफैँ त त्यस्तो उत्पीडनमा परेनन् तर उनका पुर्खाले व्यहोर्नुपरेको त्यो पीडाको क्षतिपूर्ति कतै न कतैबाट असुलउपर गर्न चाहन्छन् उनी।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.