अहिलेसम्म मेलम्चीमा ३१ अर्ब ३४ करोड खर्च

|

काठमाडौँ : मेलम्ची खानेपानी आयोजना शुरू भएको दुई दशकपछि उपत्यकामा पहिलो पटक पानी झर्दा खुशी देखिन्थे उपत्यकावासी। काकाकुल उपत्यकामा मेलम्ची खानेपानी आएपछि खानेपानीको अभाव अन्त्य हुने अपेक्षा उनीहरुले राखेका थिए।

तर उपत्यकामा पानी झरेको ३ वर्षसम्म पनि उपत्यकावासीहरू दीर्घकालीन रूपमा प्यास मेट्न नपाएपछि मेलम्ची आयोजनाप्रति गुनासो र आक्रोश पोख्न थालेका छन्। यो वर्षातमा पनि मेलम्ची खानेपानी बन्द गरिँदै छ।

यही वेला मेलम्ची खानेपानी आयोजनाको दातृ निकाय एशियाली विकास बैंक (एडीबी) ले मेलम्ची खानेपानी आयोजनालाई २ अर्ब रूपैयाँ अनुदान दिने भएपछि उपत्यकावासीको आक्रोश झन् बढेको छ।

जोरपाटीमा भेटिएका चावहिलका मिलन अधिकारी थाहाखबरसँग भन्छन्, ‘मेलम्ची खानेपानी काठमाडौँमा झरेपछि खुशी थियौँ, अब चाहिँ खानेपानी किन्न नपर्ला भन्ने लागेको थियो तर उपत्यकामा पानी ल्याएर समस्या हटाउनुभन्दा पनि अपूरो काम गरेर मेलम्ची आयोजनाको नाममा नेतालगायत त्यहाँ आबद्ध सबैले पैसा कुम्ल्याउनमात्र लागि परे।’ 

वेला वेला मेलम्ची खानेपानीको नाममा अनुदान लिनकै लागि हालसम्म दीर्घकालीन रूपमा सरकारले पानी नल्याएको उनको भनाइ छ।

रातोपुलका रितेश श्रेष्ठले पनि सरकारले नचाहेकै कारण मेलम्चीको पानी हालसम्म दीर्घकालीन रूपमा ल्याउन नसकेको बताए।

‘मन्त्री, नेताहरू मेलम्ची पानीको नाममा जनतालाई उल्लु बनाइरहेका छन्,’ उनले भने, ‘कमिशन, भ्रष्टाचार गर्नकै लागि अनुदान लिने अनि पानी भने नल्याउने गरिएको छ, अब त मेलम्चीको पानी मज्जाले पिउन पाइन्छ भन्ने आशै हरायो।’ 

पटक पटक बन्द गरिने मेलम्ची पानीको नाममा २ अर्ब अनुदान दिने र लिने समाचार प्रकाशनपछि यसको सामाजिक सञ्जालमै चर्को आलोचना र विरोध भइरहेको छ। सामाजिक सञ्जालमा अनुपम याक्खा आक्रोश पोख्छन्, ‘हैन यो मेलम्ची खानेपानी आयोजनाले चाहिँ पैसा खाने मात्रै हो? जनतालाई पानी खुवाउने कहिले हो?’

एसबी राई मेलम्ची खानेपानी नेताहरूको लागि दुहुनो गाई बनेको तर्क गर्छन्। उनले भनेका छन्, ‘यो मेलम्ची खानेपानी नेताहरूको लागि दुहुनो गाई बनेको छ, यही मेलम्ची खानेपानी आयोजनाले देश नै लिलाम बनाउने भयो।’ 

राजकुमार गौतमले मेलम्चीलाई ‘लुटी खाने भाँडो बनायो दलाल तन्त्रले’ भन्दै आक्रोश पोखेका छन्। दिनेश बस्नेत पनि भन्छन्, ‘मेलम्चीलाई एक पैसा ऋण तथा अनुदान नदिए हुन्छ, मेलम्चीको नाममा सयौँले महल बनाए तर मेलम्ची बनेन।’

राजेश कार्कीले पनि मेलम्ची खानेपानी आयोजना कमाइखाने भाँडो मात्रै बनाइएको भन्दै आक्रोश पोखे। उनले भने, ‘मेलम्ची पानी १२ मासे लैनो गाई रहेछ‚ दिएको दियै छ तर जनताले चाहीँ पिउन नपाउने!’

दीर्घकालीन व्यवस्था गर्न नसक्दा पटक पटक पानी बन्द

सन् २००१ मा शुरू भएको आयोजना दुई दशकपछि अर्थात् पहिलोपटक २०७८ चैत १५ गते काठमाडौँ उपत्यकामा पानी वितरण थालिएको थियो तर २०७८ साल असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुर्‍यायाे। 

क्षति भएको ९ महिनापछि अर्थात् २०७९ वैशाख ११ गते अस्थायी रूपमा फेरि पानी काठमाडौँ ल्याइयो। सरकारले पहिलाजस्तो बाढीबाट क्षति हुन नदिन भन्दै २०७९ जेठ १७ गते मेलम्चीको पानी ल्याउन बन्द गरेको थियो।

बर्खा सकिएपछि पनि समयमा पानी आउन सकेन। बन्द गरेको ६ महिनापछि मात्र मेलम्चीको पानी काठमाडौँ आयो। क्षति मर्मतपछि गत मंसिर २३ गतेदेखि पानी वितरण भएको थियो।

फेरि मेलम्ची खानेपानी विकास समितिले गत बर्खामा पनि मेलम्चीको पानी ल्याउन संरचना मर्मत गर्ने भन्दै गत जेठ ५ गतेदेखि १५ गतेसम्म अर्थात् १० दिन पानी बन्द गर्‍यो। संरचना मर्मतपछि उपत्यकामा पानी आयो। विकास समितिले बर्खामा पनि पानी आउने जनाएको थियो तर क्षति हुन नदिन भन्दै कुरा फेरेर फेरि बन्द गर्‍यो।

नभन्दै गत वर्षको बाढीले पनि आयोजनामा क्षति पुर्‍यायो। क्षति मर्मतपछि अहिले भने पानी वितरण भइरहेको छ तर अस्थायी रूपमा मात्रै। खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेका अनुसार आज (शुक्रवार) देखि मेलम्चीको पानी बन्द गरिने भनिएको थियो।

तर आज बन्द नगरिने, मेलम्ची नदीमा पानीको बहाव बढ्नासाथ जुनसुकै वेला बन्द हुने जानकारी उनले दिए। अघिल्ला वर्षहरूमा झैँ बाढीबाट आयोजनामा क्षति नपुगोस् भनी बन्द गर्न लागिएको उनको भनाइ छ।

हालसम्म ३१ अर्ब ३४ करोड खर्च!

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मेलम्ची खानेपानी आयोजना लागत अनुमान ३५ अर्ब ५४ करोड रहेकोमा हालसम्म ३१ अर्ब ३४ करोड ९ लाख रुपैयाँ खर्च भएको महालेखापरीक्षकको ६१औँ प्रतिवेदनमा उल्लेख छ।

आयोजना कार्यान्वयन निर्देशनालयमार्फत सञ्चालनमा रहेका आयोजनामध्ये थोक वितरण प्रणाली निर्माणतर्फ १०२.५६ किलोमिटर कार्य सम्पन्न गर्नुपर्नेमा ७९.२२ किलोमिटर (७७.२४ प्रतिशत) र वितरण सञ्जाल सुधारतर्फ १ हजार ७८१ किलोमिटरमध्ये १ हजार ६०५ किलोमिटर (९०.१२ प्रतिशत) कार्य सम्पन्न भएको प्रतिवेदनमा उल्लेख छ।

त्यसैले निर्माण कार्य समयमै सम्पन्न गरी खानेपानी वितरण तथा ढल प्रशोधन कार्य व्यवस्थित तथा सहज बनाउनुपर्ने सुझाव महालेखाले दिएको छ।

‘हेडवर्क्स सार्न अनुदान दिएको हो’

खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यका अनुसार आयोजनाको हेडवर्क्स सार्नको लागि एडीबीले २ अर्ब अनुदान दिएको हो। एडीबीले मेलम्ची खानेपानी आयोजना विकास समितिलाई बनोट तथा बाढी पहिरोको जोखिमका कारण हेडवर्क्स सार्न सुझाव दिएको थियो।

एडीबीले गरेको अध्ययन प्रतिवेदनका आधारमा आयोजनाको हेडवर्क्स अहिले भएको स्थानभन्दा करिब १ किलोमिटर माथि सार्न सुझाव दिएको छ। उपत्यकामा दीर्घकालीन रूपमा पानी ल्याउन हेडवर्क्स सार्नुपर्ने आवश्यक नै रहेको समितिका प्रवक्ता प्रवक्ता राजेन्द्रप्रसाद पन्त बताउँछन्।

उनका अनुसार अस्थायी रूपमा मात्रै ल्याउन पनि वर्षेनि मर्मत कार्यमा १८ करोड रूपैयाँ सकिन्छ। दुई पटक क्षति मर्मत गर्दा भने ३० करोड रकम खर्च भएको भइसकेको छ।

तर दीर्घकालीन रूपमा पाउन भने सरकारले ल्याउन अझै सकेको छैन। काठमाडौँ उपत्यकामा दैनिक ४३ करोड लिटर पानी माग रहेकोमा हाल मेलम्चीबाट दैनिक २० करोड लिटर हाराहारीमा पानी अस्थायी रूपमा वितरण भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.