|

बुटवल : बुटवल उपमहानगरपालिका–८ मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा बिहीवार साँझ भएको आगलागीबाट ५० करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। 

कम्प्लेक्सका सञ्चालक घनश्याम पाठकका अनुसार क्षतिको पूर्ण विवरण सङ्कलन भइरहेको छ भने आगलागीबाट ५० करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ।

बिहीवार साँझ लागेको आगो राति २ बजे मात्र पूर्णरुपमा नियन्त्रणमा आए पनि सबै सामान तथा भवन जलेर नष्ट भएको पाठकले बताए।

मेटल स्ट्रक्चरमा निर्माण गरिएको चारतले भवनको चौथो तलामा रहेको डेल्टा एजुकेशन मार्टको पश्चिमतर्फबाट साँझ साढे ६ बजेदेखि आगलागी शुरु भएको र करिब ८ घण्टापछि निभाइएको थियो। 

कम्प्लेक्समा स्टेशनरी, झण्डै दुई दर्जनभन्दा बढी विद्यालयका तयारी पोशाक, काँचो र तयारी कपडा पसल, खेलकुदका सामग्रीसहित नेपाली लुगा घर, जुत्ता बजार र खाद्यान्नको व्यवसाय सञ्चालनमा थिए।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुखसमेत रहेका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले कम्प्लेक्समा सञ्चालित सम्पूर्ण पसलमा रहेका सामानमा क्षति भएको बताए। 

पण्डितका अनुसार मोटरग्यारेज, दुईवटा पेट्रोल पम्प र बाक्लो बस्तीको बीचमा रहेको डेल्टा कम्प्लेक्सबाट अन्यत्र आगो फैलिनबाट जोगिए पनि कम्प्लेक्स भने पूर्णरुपमा ध्वस्त भएको छ।

आगलागी नियन्त्रणका लागि बुटवल उपमहानगरपालिका, देवदह, सैनामैना, सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक नगरपालिका, नवलपरासीको बर्दघाट र परासी, कपिलवस्तुको वाणगङ्गा तथा नेपाल आयल निगम भलवारी र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललगायतका १३ वारुणयन्त्र परिचालन गरिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.