अब लिने भनिएकाे 'बाेल्ड' निर्णय के हाे ?
अब लिने भनिएकाे 'बाेल्ड' निर्णय के हाे ?
काठमाडौँ : देशको वर्तमान चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबार धुमधामसँग दोस्रो स्थापना दिवस मनायो। प्रमुख दलका शीर्ष नेताहरू स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन रास्वपाको केन्द्रीय कार्यालय वनस्थली पुगेका थिए।
त्यही भीडमा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि थिए। अहिलेका प्रमुख तथा पुराना भनिएका दलहरूबाट पार नलाग्ने निष्कर्षमा पहिल्यै पुगेर नयाँ शक्ति निर्माणमा लागिरहेका उनले पुरानाहरूसँग बढी लसपस नगर्न रास्वपालाई पनि सुझाए।
रास्वपा अहिले नेकपा एमाले र माओवादी केन्द्रसहितको सत्ता समीकरणमा छ। यसलाई तात्कालिक कार्यनीतिको रूपमा लिएर देशलाई साँच्चिकै विकल्प दिन रणनीति नबनाउने हो भने रास्वपा हराएर जानेसमेत भट्टराईले औंल्याए।
‘एउटै सुझाव मैले उहाँहरूलाई भन्ने पनि गरेको छु, अब पुराना दलहरूसँगको सहकार्यलाई तत्कालीन कार्यनीतिक रूपमा लिनुपर्छ र वैकल्पिक नयाँ शक्तिहरूसँग सहकार्य गरेर देशलाई साँच्चिकै विकल्प दिन रणनीति बनाउनुपर्छ’, उनले भने, ‘यसरी सन्तुलन भयो भने ठिक हुन्छ। नत्र पुराना शक्तिहरूसँग बढी नै लसपस गर्न थालियो भने त्यसले रणनीतिमा नोक्सान गर्ने र हराउने खतरा हुन्छ भन्ने मेरो सुझाव छ।’
रास्वपा प्रमुख दलका शक्तिशाली नेताहरूलाई पाखा लगाउँदै गत आमनिर्वाचनबाट एकाएक राष्ट्रिय राजनीतिमा उदाएको दल हो। पुराना दल र नेताहरूसँग आजित भएका मतदाताले विकल्पका रूपमा उसलाई चुन्नु र ठूलै अपेक्षा राख्नु पनि स्वभाविक थियो तर १९ महिनाको अवधिमा दोस्रोपटक सत्तामा आसीन रास्वपाको अवस्था खस्कँदो देखिन्छ। सरकारबाहिर हुँदा तनहुँ–१ को उपनिर्वाचन जितेको उसले सत्तामा हुँदा इलाम–२ मा जमानतसमेत जोगाउन सकेन।
रास्वपा स्वयंले पनि आफ्नो अवस्था खस्कँदै गएको महसुस गरेको देखिन्छ। गत इलाम–२ को उपनिर्वाचनमा जमानत जफतपछि महामन्त्री मुकुल ढकालले पार्टीका प्रयासहरूमा कमी–कमजोरी रहेको कुरा चुनावी परिणामले इंगित गरेको बताएका थिए।
अहिले दोस्रो स्थापना दिवस मनाइरहँदा पनि महामन्त्री ढकालले रास्वपाको अगाडि गम्भीर र उच्च संवेदनशील प्रश्न खडा रहेको बताए छन्। उनले अब पार्टी जोगाउन उच्च सचेतनासहित जोखिम लिएरै भए पनि केही ‘बोल्ड’ निर्णय गरेर जानुपर्ने आवश्यकता औंल्याएका छन्।
महामन्त्री ढकालले भनेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टी जोगाउने वा नजोगाउने, हाम्रो औचित्य के हो ? गम्भीर र उच्च संवेदनशील प्रश्नका सामु हामी खडा छौँ। यो प्रश्न आइसक्यो र यो प्रश्न छ भनेर सार्वजनिक स्वीकारोक्ति गर्दै हामीमा केही परिवर्तन गरी अघि बढेनौँ भने हाम्रा गाह्रा दिन शुरू भए। पार्टी जोगाउने हो, नेपाली जनताको आशा भरोसा जगाइराख्ने हो भने हामीले उच्च सचेतना सहित जोखिम लिएरै भए पनि केही बोल्ड निर्णय गरेर जानुपर्छ। मलाई विश्वास छ, हामी त्यस्तो निर्णय गर्न कत्ति हच्किदैनौँ।’
महामन्त्री ढकाल पार्टीको दोस्रो स्थापना दिवसको केही दिनअघि मात्र समीक्षा यात्रा सकेर काठमाडौंँ आइपुगेका थिए। उनले आफूले भनेको ‘बोल्ड’ निर्णय के हो भनेर पनि त्यही समीक्षा यात्राको प्रतिवेदन सार्वजनिक भएपछि थाहा हुने बताए।
‘हिमाल, पहाड र तराईका गाउँटोलमा पुगेर महलदेखि वनमा बस्ने सबैखाले मान्छेलाई भेटेर पार्टीका बारेमा कुराकानी गरेको छ। त्यसैका आधारमा मैले प्रतिवेदन तयार पारेको छु, जसमा पार्टीको आन्तरिक समीक्षादेखि अब लिने लाइन, (सरकारलाई दिएको) समर्थनको बारेमा कस्तो नीति अवलम्बन गर्ने भन्नेसम्मका सबै कुरा त्यसैमा समेटेको छु’, उनले भने, ‘त्यो पहिला पार्टीमा नबुझाईकन बाहिर बोल्न मिल्दैन।’
हिजो आफैँले ‘नो नट अगेन’ भनेर अभियान चलाएको एमाले र माओवादीसँग सत्तामा रहेको रास्वपाले पछिल्लो समय असहज महसुस गर्दै लगेका ठानिएको छ।
हिजो आफैँले चर्को आलोचना गरेका पुराना दलहरूसँगको सत्ता साझेदारी तोड्नुपर्ने दबाव पनि रास्वपामा छ। त्यसबारे लिने आगामी रणनीतिलाई नै महामन्त्री ढकालले ‘बोल्ड’ निर्णय भनेको हुनसक्ने कतिपयको बुझाइ छ।
उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका सभापति रवि लामिछाने स्वयंले पनि नयाँ दल पुरानोसँग नगइदिए हुन्थ्यो भन्ने चाहना जनतामा भएको बताए। पार्टी स्थापना दिवसको अवसरमा शुभकामना दिँदै उनले नयाँ पुरानोभन्दा फरक भइदिऊन् भन्ने जनतामा भए पनि सरकारमा गएर आफूहरूले एउटा आधार तयार पारेको दाबी गरे।
‘हामी नयाँ राजनीतिक दल भएको हुनाले फरक भइदिए हुन्थ्यो, पुरानोसँग नगइदिए हुन्थ्यो, सरकारमा नगइदिए हुन्थ्यो भन्ने जुन आमचासो छ’, उनले भने, ‘तर हामीले एउटा आधार बनाएका छौं। किनभने २१ सिटले हामीले सदनमा एक वर्ष गजबको प्रतिपक्ष भएका हौं। सरकारमा भर्खर सय दिन जति भएको छ। गजबको ढंगले मन्त्रालयहरू चलाउने आधारहरू बनेका छन्।’
त्यत्ति हुँदाहुँदै पनि सभापति लामिछानेले भीरको बाटोमा सिस्नु समाउँदै हिँडिरहेको भन्दै रास्वपाको वर्तमान सहज नभएको स्पष्ट पारेका छन्। गन्तव्य भने स्पष्ट रहेको बताउँदै उनले भने, ‘कुरा बाटोको हो। बाटोमा त कहिले पहिरो जान्छ, कहिले ढुङ्गा खस्छ। आमनागरिक एवं रास्वपा परिवारका तमाम सदस्य शुभचिन्तकहरूको आशा र अपेक्षासहितका अग्ला अग्ला पहाडहरू काँधमा बोकेर हामी अहिले भीरको बाटोमा सिस्नु समाउँदै हिँडिरहेका छौं।’
खस्कँदो छ रास्वपाको साख ?
खासगरी राहदानी दुरुपयोग प्रकरण र सहकारी ठगी प्रकरणसँग जोडेर रास्वपाको आलोचना गर्ने गरेको पाइन्छ। राहदानी दुरुपयोग प्रकरणमा महान्यायाधिवक्ताको कार्यालयलाई मुद्दा नचल्ने निर्णय गराएको, सहकारी ठगी प्रकरणमा शुरुमा संसदीय छानबिन समितिको विपक्षमा भए पनि अन्ततः समिति बनेको तर छानबिनको दायरामा परे पनि गृहमन्त्रीबाट राजीनामा नदिएको भन्दै लामिछाने र उनको पार्टी रास्वपा आलोचित छ।
पछिल्लो समय पार्टीका एकपछि अर्को नेता विवादमा मुछिँदै गएपछि सिंगो रास्वपा नै पतनको दिशातर्फ गएको टिप्पणी हुने गरेका छन् तर यथार्थमा भने रास्वपा प्रतिगमनतिर पनि नफर्किएको र अग्रगमनतर्फ पनि उन्मुख नदेखिएको विश्लेषकहरूको बुझाइ छ।
राजनीतिक विश्लेषक झलक सुवेदी रास्वपा यथास्थितिमा देखिएको बताउँछन्। ‘रास्वपा खस्किसक्यो भनिहाल्न त मिल्दैन तर जुन गतिमा लोकप्रियता बढ्दो थियो, त्यो चाहिँ रोकिएको अर्थमा लिन सकिन्छ’, उनी भन्छन्, ‘वैचारिक बहसमा महत्त्वपूर्ण भूमिका खेलिरहेका शहरका केही बौद्धिक वर्गले रविलाई शुरुदेखि नै रुचाएका थिएनन्। त्यसकारण शहरको विमर्शमा चाहिँ रास्वपा कमजोर अथवा अलोकप्रिय भएको देखिन्छ। त्यसमाथि पछि उनी आफैँ राहदानी काण्ड, सहकारी काण्डहरूमा विवादमा आए। गृहमन्त्रीको रूपमा रहसिकेपछि अझ बढी आलोचना भएको देखिन्छ तर यसकै आधारमा मापन गरेर निष्कर्ष निकाल्ने वेला चाहिँ भइसकेको छैन।’
अर्का राजनीतिक विश्लेषक सुरेन्द्र लाभ पनि सुवेदीसँग सहमत देखिन्छन्। सत्तामोहले रास्वपा आलोचित बने पनि अहिल्यै उक्त दलको मूल्यांकन गर्न नमिल्ने उनको पनि मत छ।
‘अहिले रास्वपाले एकदमै राम्रो गरिरहेको छ वा नराम्रै गर्यो भन्न सकिन्न। अपेक्षा ठूलो भएको हुनाले त्यसअनुसार हुन नसकेकाले अलिकति गुनासो हो मान्छेको’, उनले भने, ‘तर नयाँ भएकै हुनाले परीक्षण हुन अझै पनि बाँकी छ। दुई वर्ष त केही होइन, बालक जस्तै हो। त्यसकारण ठ्याक्कै मूल्यांकन गर्ने वेला भएको छैन।’
तर अब रास्वपामा पनि पुराना दलहरूमा जस्तै सत्तामोह बढी देखिएकाले पार्टीलाई जोगाउन यसबाट बाहिर निस्कनुपर्ने विश्लेषक लाभ बताउँछन्। ‘रास्वपा पुरानाहरू जस्तै सत्तामोहमा लिप्त देखियो’, उनले भने, ‘यसलाई गम्भीरताका साथ लिएर सत्ताको मोहबाट बाहिर निस्कनुपर्छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।