|

म्याग्दी : म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ३ पिप्लेका भरतबहादुर मल्ललाई झण्डै ९ वर्ष अगाडि कतिपयले ‘पागल’ को संज्ञा दिए। मान्छेहरूले उनलाई 'नहुने काम गर्न लाग्यो, अब डुबेर मर्छ' पनि भने। तर, तिनै भरतबहादुर सफल पात्र बनेका छन्। सफलताका लागि कस्तो संघर्ष गर्नुपर्छ भनेर उदाहरण दिँदा उनीकै नाम आउँछ।

१० कक्षासम्म अध्ययन गरेका मल्ल १८ वर्षको उमेरमा रोजगारीका लागि साउदी अरब गएको बताउँछन्। त्यहाँ ६ वर्ष सवारी चालकको काम गरे अनि स्वदेशमै काम गर्ने अठोट लिएर स्वदेश फर्किए।

विदेशबाट फर्किएपछि उनले म्याग्दीमा झण्डै १४ वर्ष यातयात व्यवसाय गरे। तर गाउँका कच्ची सडकमा सवारी चलाउनु सजिलो थिएन। गाउँमा सवारी चलाउँदाका जोखिमबाट अघाएका मल्लले त्यसपछि व्यवसायिक कृषि फार्म सुरु गरे।

रघुगंगा नदीको छेवैमा रहेको जंगलमा करिब २२ रोपनी जमिनमा बयर र सिरुको झ्याङ फाँडेर उनले कृषि फार्म बनाएका छन् जुन म्याग्दीकै नमूना फर्म बनेको छ।

बगर यसरी भयो मलिलो

उमेरले ५२ वर्ष पुगेका मल्लले वर्षौँदेखि प्रयोग विहीन बनेको जग्गामा २०६५ सालमा खनजोत र मलजल गरी तरकारी खेती सुरु गरेका थिए। मलिलो माटो ल्याएर बालुवा र गिटीमात्र रहेको बगर पुरे अनि तरकारी खेतीका लागि उपयुक्त जमिन बनाए। यही बगर अहिले मल्लको जीवनको खुसी, सफलता र धन दिने ठाउँ बनेको छ।

२०६९ सालदेखि उनले कृषिसँगै व्यवसायिक बाख्रापालन पनि सुरु गरे। तरकारी र बाख्रापालनले मात्र मिहिनेत नपुगेको जस्तो लागेपछि कुखुरापालन, भैँसीपालन, खरायो पालन समेत थालेको उनी बताउँछन्।

मल्ल भन्छन, 'बहुआयामिक रुपमा कृषिमा लागेको छु। केही गर्न सक्दैन भनेर खिल्ली उडाउनेका अगाडि सफलताको पात्र बनेको छु। तरकारी खेतीसँगै बाख्रा,  कुखुरा, भैँसी, खरायो पनि पालेको छु। स्वरोजगार बनेको छु।'

टनेलमा लगाएको गोलभेँडा, घिरौँला, बन्दा, काउली, खुर्सानी लगायत मौसमी र बेमौसमी तरकारी बेचेर वार्षिक ३ देखि ५ लाखसम्म आम्दानी हुने उनले सुनाए। उनको कृषि फार्ममा अहिले ७२ वटा जमुनापारी जातका बाख्रा, २५ सय अण्डा दिने कुखुरा, १ जोडी अस्ट्रेलियन लुइस जातको कुखुरा, दुई वटा भैँसी,  ७० ओटा खरायो छन्।

मल्लले कुखुरा पालनबाट बार्षिक १५ लाख, बाख्रापालनबाट १८ देखि २० लाखसम्म आम्दानी हुने बताए। 'अहिले वार्षिक खर्च कटाएर २० देखि २२ लाख सम्म कमाई हुन्छ। सबै तयार गर्न झण्डै १ करोड भन्दा माथि लगानी भइसकेको छ।'

यो वर्षमात्र मल्लले ११ लाखको लगानीमा १५ सय कुखुराको चल्ला अटाउने गरी खोर बनाएका छन् भने फार्म नजिकै गलेश्वरमा होटल र मासु पसल पनि खोलेका छन्। फार्ममा आफै खट्छन् भने होटल र मासु पसल उनकी श्रीमती कुमारी मल्लले चलाउँछिन्।

कृषि फार्मबाट उनको परिवार बाहेक ५ जनाले रोजगारी समेत पाएका छन्। 'हिजो विदेशमा पसिना बगाइयो तर उपलब्धी खासै गर्न सकिएन', मल्लले भने, 'केही गरौँ भन्ने सोचले कृषिमा लागेको थिएँ, अहिले आफ्नै परिवारसँग बसेर सहज रुपमा दैनिकी चलाउन सकेको छु, अरुलाई पनि रोजगारी दिएको छु। यसैमा खुसी छु।'

ऋण खोजेर विदेश जानुभन्दा आफ्नै खेतबारीमा बाख्रापालन र तरकारी लगाएमा राम्रो कमाई गर्न सकिने उनी बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.