|

नेकपा माओवादी केन्द्रका हेडक्वार्टर सदस्य गोपाल किराती आफ्ना अभिव्यक्ति र व्यवहारले बेलाबेलामा चर्चामा आइरहन्छन्। किरात वर्कर्स पार्टीमा लागेर जातीय मुक्ति आन्दोलन गरिरहेका किराती २०६० सालमा माओवादीमा आवद्ध भएका हुन्। माओवादी आन्दोलनमा रोल्पावाद हावी भयो भन्ने किरातीले साउन पहिलो साता काठमाडौंमा चलेको पार्टीको एक साता लामो बैठकमा माओवादीको सर्वहाराकरण र एमालेको भण्डाफोर गर्ने कुरालाई जोडतोडका साथ उठाए। सोही बैठक र माओवादी आन्दोलनको सेरोफेरोमा रहेर किरातीसँग थाहाखबरकी आस्था केसीले गरेको कुराकानीः

स्थानीय तहको नतिजापछि तपाईले सशस्त्र संघर्षमा फर्किन सकिने कुरा उठाउनुभयो, के तपाईलाई चुनावबाट प्राप्त जनमतप्रति भरोसा छैन?

यो चुनावले मभित्र आक्रोश पैदा भएको छ। खेतालाले, ज्यामीले श्रम गरिसकेपछि ज्याला पाउनुपर्छ। माओवादी एउटा ज्यामी हो, नेपाली समाज परिवर्तनको खेताला हो, उसलाई उचित ज्याला दिइएन। हामी शान्तिपूर्ण प्रयासबाट क्रान्तिकारी परिवर्तनको रक्षा र विकास गरी थप क्रान्तिकारी परिवर्तन गर्न सक्नेछौं भनेर शान्तिपूर्ण आन्दोलनमा आएका हौं।

रुसमा लेनिनको पार्टीले शान्तिपूर्ण रुपमा चुनावमा भाग लियो। त्यसमा सफल हुन नसकेपछि हतियार उठाएको थियो। नेपालमै पनि माओवादी समर्थित संयुक्त जनमोर्चाले ०४८ सालमा चुनावमा भाग लियो। हराइदिएपछि ०५२ सालमा हतियार उठाउनुपर्‍यो। अब एक दुईवटा अरु चुनाव पर्खिनुपर्छ। त्यतिबेलासम्म पनि यस्तै हालत रहिरह्यो भने हतियारको जोहो पनि गर्नुपर्छ।

सचिवालय बैठकमा यो विषयमा कस्तो छलफल भयो?

आजको समयमा हामी निकै नै कठोर र मुश्किल घडीमा उभिएका छौं। माओवादी आन्दोलनले हासिल गरेका उपलब्धीहरुको रक्षा र भावी क्रान्ति कसरी गर्ने भन्नेमा प्रश्न उठ्यो। अध्यक्षले सुरुमा मौखिक प्रतिवेदन पेश गर्नुभयो र सबैका कुरा सुनिसकेपछि मात्र लिखित रुपमा आफ्नो कुरा प्रस्तुत गर्नुभयो। वैचारिक राजनैतिक क्षेत्रमा र संगठनको क्षेत्रमा माओवादी डायनोसर हुनबाट जोगिएको छ। मलाई यहीँ अनुभूति भएको छ।

पार्टी कसरी डायनोसर हुनबाट जोगियो त?

डायनोसर कसैले देखेको त छैन। जीवशास्त्रीहरुले अध्ययन गर्दा के पत्ता लगाए भने डायनोसर भन्ने एउटा निकै ठूलो जीव थियो रे। असाध्यै भयंकर जीव भएकोले भूगोलको प्रकृति, वातावरण सबैसँग त्यसले मेल खाएन, अनि लोप भयो भन्ने सुनिन्छ। आजपर्यन्त पनि डायनोसर एउटा ठूलो जनावरको प्रतीकको रुपमा रहेको छ।

मार्क्सवाद–लेनिनवाद–माओवादजस्ता मानव मुक्तिको सर्वोच्च विज्ञान लिएर हिँडेको पार्टीको कतै हालत खराब हुने त होइन भन्ने प्रश्न पछिल्लो समय धेरैको मनमा उठिरहेको थियो। वैचारिक राजनैतिक रुपले हाम्रो अबको कार्यदिशा के भन्ने प्रश्न उठेको थियो भने संगठनात्मक रुपले चार हजार जनाको केन्द्रीय सदस्य हुँदा संगठन निकै भद्दा बनेको थियो। चार हजार केन्द्रीय सदस्य रहेको पार्टीमा वडासम्म गन्दा बल्ल बल्ल चार हजार जनप्रतिनिधि जिताउन सकियो होला। यसरी हाम्रो पार्टी डायनोसर जस्तो बनेको थियो।

समाज, परिस्थिति, वातावरण, वस्तुस्थिति आदिसँग मेल खान नसक्ने जीव लोप हुनु स्वाभाविक हो। डायनोसर जस्तै ठूलो तर लोप हुने खतरामा माओवादी केन्द्र पुगेको थियो। अब त्यसो हुनबाट बच्यो भन्ने अनुभूति मलाई भएको छ।

बैठकमा उठेका अरु महत्वपूर्ण विषय के के हुन्?

प्रत्यक्ष निर्वाचित कार्यकारीमा यो बैठकले जोड दिएको छ। प्रदेशको मुख्यमन्त्री पनि प्रत्यक्ष निर्वाचित हुनुपर्छ।  पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्छ भन्ने हाम्रो वैठकको अर्को महत्वपूर्ण निर्णय हो। पहिलो हुनेले जित्ने जुन प्रणाली छ यो व्यक्ति केन्द्रित प्रणाली हो। उम्मेदवार तोकिनु अगाडि पार्टी अगाडि हुन्छ, उम्मेदवार तोकिइसकेपछि पार्टी पछाडि हुन्छ, व्यक्ति अगाडि आउँछ।

चुनाव जित्नका लागि गर्नुपर्ने खर्चको कुरै नगरौं, अत्यधिक खर्च हुने गरेको छ। अरु पार्टीका त कुरै नगरौं हाम्रै पार्टीबाट गाउँपालिका जितेका एकजनाले आफ्नो चुनावी खर्च ५५ लाख खर्च भएको बताए। यस्तो व्यवस्था कसरी जनताको लोकतन्त्र वा गणतन्त्र हुन्छ? यसकारण पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानका लागि हामीले बैठकवाटै निर्णय गरेका छौं।

तपाईंले बैठकमा के कुरा उठाउनुभयो?

माओवादीको सर्वहाराकरणमा जोड र संशोधनवादी एमालेको भण्डाफोर गर्नुपर्छ भनेर मैले कुरा उठाएँ, त्यसको सीधा संबोधन त हुन सकेन, आंशिक रुपमा संबोधन भएको छ। माओवादीको सर्वहाराकरण नहुने हो भने एमालेको भण्डाफोर गरेर केही काम छैन।

संशोधनवादको चिहानमा मार्क्सवादको जीवन हुन्छ। मार्क्सवादको चिहानमा संशोधनवादको चिहान हुन्छ। अस्तित्वमा रहन एकले अर्कोलाई निल्न र पचाउनुपर्छ। भर्खरै सम्पन्न स्थनीय तह निर्वाचनले के देखायो भने संशोधनवादी एमालेले माओवादीको ठूलो चिहान खनेको छ। हामी माओवादीलाई त्यो खाल्डोमा पुर्नको निम्ति एमालेले माओवादीलाई लास ठानेर घिसार्दैछन्। अब हामी घिसारिन मान्ने कि नमान्ने? तर अब हामीले नयाँ तयारी गरेर संशोधनवादीको चिहान खन्नुपर्छ। आफूलाई सर्वहाराको लाइनमा उभ्याउन नसक्ने हो भने माओवादी एमालेमा बिलय भए पनि हुन्छ।

माओवादीको सर्वहाराकरण भनेको कम्तीमा संगठनमा आउँदा जनवादी केन्द्रीयता लागू गर्नुपर्छ। छलफल गर्न लायक समितिहरु बनाउनुपर्छ। यति ठूला ठूला कमिटीहरु छन् कि को कहाँ हो थाहा नै छैन।

म एक नम्बरको इन्चार्ज छु। त्यहाँ ५०० बढी महाधिवेशन आयोजक समितिका कमरेडहरु हुनुहुन्छ। २०० बढी केन्द्रीय सल्लाहकारहरु हुनुहुन्छ। उहाँहरु को को हो भन्ने मलाई थाहा छैन। अनि कसरी छलफल गर्ने?

एमाले भन्दा माओवादी के के कुरामा फरक रह्यो त?

कम्युनिष्ट पार्टी बन्नका निम्ति मार्क्सवादका पाँच आधारभूत सिद्धान्त मान्न जरुरी छ। १. वर्गसंघर्ष अर्थात बलप्रयोगको सिद्धान्त, २. सर्वहारा वर्गको अधिनायकत्व ३.अन्तर्राराष्ट्रवाद ४. जनवादी केन्द्रीयता ५. निरन्तर क्रान्तिको सिद्धान्त। आज यी पाँच सिद्धान्तबाट एमाले च्यूत भएको छ। माओवादीसँग व्यवहारमा नभए पनि कम्तीमा कागजी रुपमा यी सिद्धान्त लेखिएका छन्। तर व्यवहारमा भने गोलमाल भएकै हो। भाइ एमाले जस्तै हुन खोजेकै हो। त्यसो हुँदा जनताले दाइ एमालेलाई नै जिताए। तर यो बैठकवाट माओवादी भाइ एमाले जस्तो होइन माओवादी जस्तै हुन पुगेको छ। 

यो सचिवालय बैठकले माओवादीलाई सचेतन धक्का दिएको छ। कोही लोभीपापी, अल्छी, ठगहरु रहेछन् भने तिनमा महाविपत्ति शुरु हुनेछ। हामी क्रान्तिकारीमा भने ठूलो उत्साह पैदा भएको छ। अब हामी छलाङमा जानेछौं। पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको स्मृति दिवशमा अध्यक्षले हामी माओवादी अरु पार्टी जस्ता होइनौं। जे पनि छिटो छिटो गर्छौं। आउने चुनावमा पहिलो पार्टी भइहाल्न पनि सक्छौं भन्नुभएको छ। त्यो सम्भव छ। 

जनयुद्धकै एक नेता मोहन वैद्यले त माओवादी केन्द्रले एमाले र कांग्रेससँग एकता गरे सुहाउँछ भन्नुभएको छ नि?

उहाँजस्तो नेताले अलिकति मुख सम्हालेर बोल्नुपर्छ। माओवादी केन्द्र कांग्रेस र एमालेसँग एकता गर्ने पार्टी होइन। कार्यगत एकता, गठबन्धन, सहकार्य भनेको पार्टी एकता होइन। ०६२/०६३ को जनआन्दोलनमा मनै नपरे पनि सहयात्री भइयो। गणतन्त्रसम्म ल्याइयो अब यसलाई जनताको गणतन्त्र बनाउने कि केही सम्भ्रान्त वर्गको गणतन्त्रमा सीमित राख्ने भन्नेमा हाम्रोबीचमा ठूलो संघर्ष छ। तर पार्टी एकताकै कुरा गर्ने हो भने एमाले र कांग्रेससँग माओवादीको एकता कसरी हुनसक्छ?

एमालेसँग पार्टी एकता गर्ने बारेमा माओवादीमा कुरा उठेको छ भन्ने पनि सुनिएको छ। के यो सत्य हो?

केही साथीहरु एमालेसँग पार्टी एकता गर्नुपर्छ भन्दै हुनुहुन्छ। निकै माथिल्लो स्तरको नेता हुनुहुन्छ उहाँहरु। यो (सचिवालय) बैठकमा देखापर्दै हुनुहुन्छ रे भनेर निकै उत्सुकताका साथ उहाँहरुलाई हेरियो। मैले केही समय अगाडि पुच्छर बन्ने प्रवृत्ति भनेर कडा लेख लेखेको थिएँ। आफै सोचेँर हो वा अध्यक्षसँगको सल्लाहमा हो अथवा मेरै लेखले काम गरेको पो हो कि यो बैठकमा उहाँहरुले त्यो कुरो उठाउनुभएन। त्यो कुरो आएको भए गज्जब हुन्थ्यो। बैठक अरु एक दुई दिन लम्बिन्थ्यो। तर जमेर बहस हुन्थ्यो। धेरै कुरामा क्लियर भइन्थ्यो। 

एमालेले चिहान खनेर खाल्डोमा पुर्नका लागि लैजाँदैछ भने किन हामीले उसँग एकता गर्नु? यतिबेला एमाले आफै ठूलो पार्टी बनेको छ। उसलाई माओवादी किन चाहिएको छ? अहिले एमालेलाई माओवादी यस अर्थमा मात्र चाहिन्छ कि माओवादीलाई सिध्याउन सकियोस्। आफै सिद्धिनका लागि कसैले पार्टी एकता गर्छ भने त्यो मुर्खतामात्र हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.