चालु आर्थिक वर्षको ११ महिनामा २० अर्बभन्दा बढीको आयात
चालु आर्थिक वर्षको ११ महिनामा २० अर्बभन्दा बढीको आयात
काठमाडौं : खाद्य सुरक्षाको मुख्य आधार धानको उत्पादन बढाई आधुनिकीकरण र व्यवसायीकरण प्रवर्धन गर्ने उद्देश्यले नेपालमा २०६१ सालदेखि राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव गरिँदै आएको छ।
केही वर्षयता धानको उत्पादन र उत्पादकत्व बढे पनि आन्तरिक खपत धान्न सकिरहेको छैन र हरेक वर्ष अर्बौँ रुपैयाँ धान, चामलको आयातमा विदेशिने गरेको छ। वार्षिक ४० अर्ब रुपैयाँभन्दा बढीको धान-चामल नेपाल भित्रन्छ। चालु आर्थिक वर्षमा पनि २० अर्बभन्दा धेरैको धान चामल आयात भइसकेको छ।
भन्सार विभागको तथ्यांक अनुसार ११ अर्ब रुपैयाँभन्दा धेरै रकम धानको आयातमा खर्च भएको छ। चालु आवको जेठ मसान्तसम्म ११ अर्ब ५५ करोड २५ लाख ७९ हजार रुपैयाँको ३० करोड ५३ लाख १० हजार ५२० किलो धान मुलुक भित्रिएको छ।
यसैगरी ८ अर्ब ६९ करोड ६ लाख ८५ हजार रुपैयाँको ८ करोड २७ लाख ६९ हजार ९८९ किलो अर्थात् ८२ हजार ७७० मेट्रिक टन चामल आयात भएको छ। धान र चामलसँगै धानको बिउ र कनिका समेत विदेशबाट ल्याउनुपर्ने बाध्यता छ। यो अवधिमा ८८ करोड, ६५ लाख २१ हजार रुपैयाँको धानको बिउ, ९ लाख २० हजार रुपैयाँ कनिका आयात गरिएको छ।
पछिल्ला वर्षहरूमा चामल आयात बढेको बढ्यै छ। सन् २००९ देखि २०२२ को अवधिमा चामल आयातको प्रवृत्ति यस्तो छ-
हरेक वर्ष धानको उत्पादन बढे पनि आत्मनिर्भर हुन नसक्दा आयात घटेको छैन। धानचामलको आयातमा ठूलो रकम विदेशिने गरेकोमा असन्तुष्टि समेत बढेको छ। प्रतिनिधिसभा सदस्य ईश्वरी घर्तीले ११ महिनामा २० अर्ब रुपैयाँभन्दा बढी रकम धान, चामल र बिउ आयात भएकोप्रति असन्तुष्टि जनाउँदै कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्नतर्फ सरकार केन्द्रित हुनुपर्नेमा जोड दिइन्। किसानले राज्यबाट अपेक्षित लाभ पाउन नसकेको बताउँदै उनले भनिन् ‘असार १५ को एक दिन खेतमा तमासा देखाएर मात्र उपलब्धि हुँदैन। वैज्ञानिक तथा उन्नत खेतीको विकास गरी, कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्नतर्फ केन्द्रित हुन सरकारलाई अनुरोध गर्दछु।’
धानविज्ञ राजेन्द्र उप्रेती उन्नत जातको धानको बिउ विकास, पर्याप्त सिँचाइको व्यवस्था, मलखादको उपलब्धता बढाउन सके उत्पादकत्व समेत बढ्ने र आत्मनिर्भर बन्ने अवस्था आउने बताउँछन्। विगत दुईतीन वर्षको अवधिमा १० लाख टनको हाराहारीमा धान चामल आयात भइरहेको भन्दै उनले नेपालमा हाल धानखेती हुने करिब १४ लाख हेक्टर जमिनमा प्रतिहेक्टर उत्पादकत्व १ मेट्रिक टन बढाउन सके आन्तरिक खपत धान्न पर्याप्त हुने बताए। हाल नेपालमा धानको उत्पादकत्व प्रतिहेक्टर ३.४ मेट्रिक टन छ।
धानको उत्पादन बढिरहेको छ तर किसानले फलाएको धान खान छाडेर मिठो-मसिनो, बासनादार, लंगग्रेन(लामो) चामल खाने प्रवृत्ति बढेकाले पनि आयात वृद्धिमा सहयोग पुगेको छ। ‘उपभोक्ताले खान मन पराएको चामल फल्ने धानको जात विकास गर्न सके आत्मनिर्भरताको पाटोमा जान सकिन्थ्यो’, धानविज्ञ उप्रेती भन्छन्, ‘यहाँ फल्ने धान कम आयस्रोत भएका उपभोक्ता, पहाडी क्षेत्रका उपभोक्ताले किन्छन् या जाँडरक्सी बनाउन प्रयोग हुन्छ। खाने चामल र धान भारतबाट किनेर ल्याइन्छ।’
उपभोक्ताको आवश्यकतालाई पहिचान गरेर त्यसअनुसारको जातहरू उपलब्ध गराउन सके धानमा आत्मनिर्भर हुनसक्ने भन्दै उप्रेती अन्य अन्नबाली, तरकारी, नगदे बाली समयमै लगाउत सक्नेगरी धानखेती गर्नुपर्नेमा जोड दिन्छन्। ‘मकै समयमै रोप्न धान छिटो निकाल्नु-काट्नुपर्छ, त्यसका लागि छोटो दिनमा पाक्ने (११०, ११५ वा १२० दिन) धानहरू चाहियो, ताकि किसानले असारमा रोपेर असोजमा काट्न सकुन्’, ‘उनले भने, ‘त्यसपछि हिउँदे बालीहरू आलु, तोरी वा मकै समयमै रोप्न सकियोस्।’
त्यस्ता जातको खोजीमा राज्यस्तरबाट अनुसन्धान बढाउनुपर्नेमा उनले जोड दिए। ‘छिटो पाक्ने, उपभोक्ताले खोजेको लामो, मसिनो, बासनादार चामल फल्ने धानको बिउ भित्र्याउन सके किसानले पनि नाफा पाउँछ। उपभोक्ताले पनि त्यही खान्छन्। यसतर्फ राज्यले सोच्न जरुरी छ। अन्यथा एक दिन गीत गाउने, हिलोमात्र खेलेर असार १५ को सान्दर्भिकता हुँदैन।
नेपाल कृषि अनुसन्धान परिषद् नार्कका धानबाली संयोजक डा.मथुरा यादव भने मुलुकलाई धानमा आत्मनिर्भर बनाउन प्रयासरत रहेको बताउँछन्। यसका लागि बर्खे धानभन्दा धेरै फल्ने चैते धानको उत्पादन क्षेत्रफल बढाएर दोब्बर गरिएको उनको भनाइ छ। मुलुकको खपत र उत्पादन क्षमतावीचको खाडल प्रतिहेक्टर एक मेट्रिक टन बढीको हाराहारीमा रहेको भन्दै उनले यसलाई विभिन्न उन्नत प्रविधि अपनाएर, मलखाद, सिँचाइ, रोगकिरा, झार व्यवस्थापन गरेर उत्पादन बढाउन सके धान चामलको आयात कम गर्न सक्ने सोचका साथ प्रयास भइरहेको उनले बताए।
यादवका अनुसार मुलुकमा धानको उत्पादकत्व ३.४ मेट्रिक टन प्रतिहेक्टर छ भने देशभर कुल खपत करिब २१ लाख मेट्रिक टन छ। उपभोक्ताले चामल खोजेको जातका धानका बिउ नहुँदा पनि आयात गर्नुपरेको छ। यसका बाबजुद किनेर खाने नेपालीहरूको क्षमता बढेको छ। ‘पहिलेजस्तो आफ्नो खेतबारीमा मकै, गहुँ वा जे फल्यो त्यही खान छाडे, सबैले भात, त्यसमा पनि मसिनो, बासनादार चामल खान थाले। यसले गर्दा धान चामल आयात गर्नुपरेको छ’, यादव भन्छन्, ‘नार्कले अहिले मिठो र मसिनो भएको र उत्पादन पनि बढाउने खालका धानको उत्पादनमा जोड दिइरहेको छ। सबै कुरा मिल्यो भने हामी धानमा आत्मनिर्भर हुन्छौँ।’
कुल उत्पादन ४.३३ प्रतिशतले बढ्यो, उत्पादकत्व कोशीमा धेरै, मधेशमा न्यून
चालु आर्थिक वर्षमा धानको कुल उत्पादन ४.३३ प्रतिशतले बढेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तराईमा धान लगाइएको क्षेत्रफल, रोपाइँको आँकडाका आधारमा उत्पादन अनुमान गरेको छ जसअनुसार, आव २०८०/८१ मा धानको कुल उत्पादन गत आवभन्दा ४.३३ प्रतिशतले वृद्धि भई ५७ लाख २४ हजार २३४ मेट्रिक टन पुगेको छ। यो विगत चार वर्षको औसत उत्पादनको तुलनामा ५.०८ प्रतिशतले बढी हो। कुल धानबाली भित्र्याइएको क्षेत्रफल गत आवको तुलनामा ०.६१ अर्थात् ८ हजार ८०० हेक्टरले कमी भई १४ लाख ३८ हजार ९८९ हेक्टर कायम हुन पुगेको छ।
धानबालीको औसत उत्पादकत्व गत आवको तुलनामा ४.९७ प्रतिशतले बढेर ३.९८ मेट्रिक टन प्रतिहेक्टर पुगेको छ, जुन गत चार वर्षको औसत उत्पादकत्वभन्दा ६.९२ प्रतिशतले बढी हो।
धानको उत्पादन कोशी प्रदेशमा धेरै छ भने कर्णाली प्रदेशमा न्यून छ। चालु आवमा उत्पादकत्वतर्फ कोशी प्रदेशमा ४.४३ मेट्रिक टन प्रतिहेक्टर रहेको छ। मधेश प्रदेश ३.४९ मेट्रिक टन प्रतिहेक्टरमा सीमित भई न्यून स्थानमा रहन पुगेको मन्त्रालयले जनाएको छ। मुख्य धानको तुलनामा विगतका वर्षमा जस्तै चैते धानको उत्पादकत्व धेरै छ।
उत्पादन र उत्पादकत्वका वृद्धिको हिसाबले लुम्बिनी प्रदेश अगाडि छ भने मधेश प्रदेश ऋणात्मक रहन पुगेको छ।
उन्नत जातको बिउको उपलब्धता र प्रयोग, रोग किराको प्रकोपमा कमि, बाढी पहिरोबाट धान बालीमा पर्ने नकारात्मक असरमा कमी, मलखादको उपलब्धतामा आएको सुधार, कृषि औजार र प्रविधिको प्रयोग र मौसमी अनुकुलताका कारण धान उत्पादन बढेको बताइएको छ। मधेशका केही जिल्लामा धान रोप्ने समयमा पर्याप्त वर्षा नभएका कारण समग्र मधेश प्रदेशको उत्पादन र उत्पादकत्वमा ह्रास आएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।