काठमाडौं : लगातारको वर्षापछिको पहिरोका कारण मुस्ताङका सबै नाका बन्द भएका छन्। मुस्ताङका लागि पोखरा–जोमसोम हवाई र बेनी-जोमसोम सडकमार्फत जोडिने भए पनि दुवै मार्ग बन्द हुँदा मुस्ताङमा नाका बन्द भएको हो।
बेनी-जोमसोम-कोरला कालीगण्डकी कोरिडोरमा रघुगङ्गा गाउँपालिका-२, बैसरीमा सडकमाथिबाट आएको पहिरोले गर्दा सडक अवरुद्ध भएको छ। बिहीबारदेखि नै पहिरो झर्न थालेपछि शुक्रबार फाट्टफुट्ट सवारी चलेको भए पनि शनिबार बिहानैदेखि भने पूरै बन्द भएको छ।
धेरै ठाउँमा पहिरो झरिरहेको हुँदा यात्रा गर्न निकै जोखिमयुकत भएकाले अहिले अत्यावश्यकबाहेक यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।
वर्षासँगै असार १५ देखि जोमसोम-पोखरा हवाई उडान पनि बन्द भएकाले जटिल प्रकारका बिरामी हुँदा उपचारका लागि लैजानसमेत समस्या हुन सक्ने मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार बेनी–जोमसोम सडकखण्डको म्याग्दीतर्फ रघुगङ्गा गाउँपालिका-२, तल्लो बैसरी र माथिल्लो बैसरीमा सडक अवरुद्ध भएको छ।
जोमसोम-बेनी खण्डको मार्फा खोलामा बाढी आउँदा सडक पटकपटक अवरुद्ध हुने गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।