|

काठमाडौँ : गत ४ दिनमा देशभर ५१ जना डेंगु संक्रमित थपिएका छन्। स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार चार दिन (असार १९ गतेदेखि २३ गतेसम्म)को अवधिमा ​डेंगुका ५१ जना नयाँ विरामी थपिएका हुन्।

योसँगै हाल देशभर डेंगु संक्रमितको संख्या १ हजार ४८३ जना पुगेको छ। अघिल्लो हप्तासम्म १ हजार ४३२ जना डेंगु संक्रमित थिए। 

इडिसिडीको तथ्यांकअनुसार हालसम्म मुस्ताङ, डोल्पा, हुम्ला र जुम्ला गरी चार जिल्ला बाहेक ७३ जिल्लामा डेंगु संक्रमण पुगि सकेको छ। जिल्लाअन्तर्गत काठमाडौँ र झापामा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ। काठमाडौँमा १६५, काठमाडौँको संक्रमणदर ११ प्रतिशत रहेको छ।

झापामा १२३ जनामा डेंगु पुष्टि भएको छ। त्यसैगरी चितवनमा ८६, मकवानपुरमा ६८, डोटीमा ४९, तनहुँ ५२, सिन्धुपाल्चोकमा ४६, ओखलढुंगामा ५०, भोजपुरमा ४६ र भक्तपुरमा ३५ जनामा डेंगु पुष्टि भएको छ।

प्रदेश स्तरमा हेर्ने हो भने बागमती प्रदेशमा ५०५ जनामा डेंगु पुष्टि छ। संक्रमितको संख्या हेर्दा बाग्मती प्रदेश डेंगु संक्रमणको अति जोखिममा परिसकेको छ। ५ सयभन्दा माथि संक्रमित भएको क्षेत्रलाई संक्रमणको अति जोखिम समूहमा राख्ने गरिएको छ। हाल बाग्मती प्रदेशको संक्रमण दर ३४ प्रतिशत भन्दा माथि रहेको छ।

यस्तै कोशीमा ३५२, गण्डकीमा २२६, लुम्बिनीमा १७१, सुदूरपश्चिममा १६१, मधेशमा ३८ र कर्णाली प्रदेशमा २० जनामा डेंगु पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो वर्ष अन्य वर्षको तुलनामा डेंगु संक्रमण बढी पुष्टि हुने आँकलन गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.