|

काठमाडौं :  इङ्ग्ल्यान्ड लगातार दोस्रो पटक युरोपेली च्याम्पियनसिपको फाइनल खेल्नबाट मात्र एक खेल टाढा छ। इङ्ग्ल्यान्डलाई आज राति नेदरल्यान्ड्सले उपाधि भिडन्तमा पुग्नबाट रोक्ने प्रयास गर्ने छ। यी दुईबिचको विजेताले आइतबार राति हुने फाइनलमा स्पेनसँग  उपाधिका लागि खेल्नेछ।

सन् १९९८ मा च्याम्पियन बनेपछि नेदरल्यान्ड्स युरोपेली च्याम्पियनसिपको फाइनलमा पुगेको छैन। पछिल्लो पटक नेदरल्यान्ड्सले सन् २००४ मा सेमिफाइनल खेलेको थियो। सन् १९६६ मा विश्वकप जितेको इङ्ग्ल्यान्ड अहिलेसम्म युरो च्याम्पियन बन्न

सकेको छैन। इङ्ग्ल्यान्ड र नेदरल्यान्ड्स दुवै टिम क्वाटरफाइनलमा पुनरागमन जित हासिल गरेर अगाडि बढेका हुन्। इङ्ग्ल्यान्डले स्विट्जरल्यान्डविरुद्धको अन्तिम आठमा मात्र होइन, स्लोभाकियाविरुद्धको प्रिक्वाटरफाइनलमा पनि हारको सँघारबाट उम्किएर

आफ्नो यात्रा कायम राखेको थियो। स्लोभाकियाविरुद्ध खेल सकिन केही सेकेन्ड बाँकी छँदा युड बेलिङ्घमले ओभरहेड किक मात्र गोल गरेपछि इङ्ग्ल्यान्डले सञ्जीवनी बुटी प्राप्त गरेको थियो। चालु प्रतियोगितामा इङ्ग्ल्यान्डका प्रशिक्षक गारेथ साउथगेट अन्तिम चारसम्मको यात्रामा आलोचित बनिरहेका छन्। उहाँमाथि बढी नै सावधानी अपनाएर प्रतिभाशाली इङ्ग्ल्यान्डको टिमलाई खुलेर खेल्न नदिएको आरोप छ। समूह चरणको खेलमा उनीमाथि आफ्नै समर्थकले प्लास्टिकको बोतल पनि फाले। इङ्ग्ल्यान्डले

सेमिफाइनलमा अहिलेसम्मकै सामना गरेका टिममध्ये सबभन्दा उच्च वरीयताको टिमविरुद्ध भिड्दै छ। प्रशिक्षक साउथगेटले आफ्ना खेलाडीको सही सदुपयोग गर्न सक्नुभएको छैन। लेफ्ट विन्ग ब्याकमा इङ्ग्ल्यान्ड दायाँ खुट्टा बढी चलाउने किरन ट्रिपरमा भर परेका छन्। उनी तेज गतिमा बलभित्र काट्न सक्ने खेलाडीका रूपमा चिनिन्छन्।

कप्तान ह्यारी केनको फिटनेसलाई लिएर पनि शङ्का छ। स्विट्जरल्यान्डविद्धको खेलमा उनको मांसपेशीमा खिचाव उत्पन्न भएको थियो। उनको स्थानमा मैदान छिरेका इभान टोनीले टाइब्रेकरमा गोल गरी इङ्ग्ल्यान्डको जितमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

नेदरल्यान्ड्ससँग पराजित भएमा साउथगेटको यो नै अन्तिम खेल हुने छ। यस प्रतियोगितापछि साउथगेटको करार सकिँदै छ। नेदरल्यान्ड्सका प्रशिक्षक रोनाल्ड कोम्यान आफ्नो टिमप्रति विश्वस्त छन्। उनले लगातार तेस्रो खेलमा अपरिवर्तित पहिलो रोजाइ मैदानमा उतार्ने सम्भावना धेरै छ। अग्रपङ्क्तिमा मेम्पिस डिपे, कोडी गाप्को र स्टिभ बर्जविन लयमा देखिएका छन्। गाप्को

सर्वाधिक गोलकर्तालाई प्रदान गरिने गोल्डेन बुटका प्रमुख दाबेदारका रूपमा अगाडि आएका छन्। उ तीन गोलसहित जर्जियाका जर्जेज मिखाउटाजे, जर्मनीका जमाल मुसियला र स्लोभाकियाका इभान स्रान्जसँग संयुक्त रूपमा सर्वाधिक गोलकर्ताको

सूचीमा शीर्ष स्थानमा छन्। यद्यपि अन्य तीन स्ट्राइकरको चुनौती चालु प्रतियोगितामा समाप्त भइसकेको छ। गाप्कोले चालु प्रतियोगितामा अझै दुई खेल खेल्नेछन्।  इङ्ग्ल्यान्डका लागि केन र बेलिङ्घमले दुई-दुई गोल गरेका छन् ।

पछिल्ला पाँच वर्षमा दोस्रो पटक यी दुई महारथी फुटबल टिम सेमिफाइनलमा भिड्दै छन्। सन् २०१९ मा भएको नेसन्स लिगमा नेदरल्यान्ड्सले इङ्ग्ल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले हराएको थियो। यसै गरी यी दुई टिमबिच भएको पछिल्ला आठमध्ये पाँच खेल ९० मिनेटपछि बराबरीमा सकिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.