|

बैतडी : घरमा हुने सुत्केरी शून्य बनाउन बैतडीको दशरथचन्द नगरपालिकाभित्र ‘उपमेयरको कोसेली’ कार्यक्रम सञ्चालन गरिएको छ।

‘उपमेयरको कोसेली’ सुत्केरीलाई लक्षित गर्दै सञ्चालन गरिएको दशरथचन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुवनप्रसाद जोशीले बताए। उनले भने, ‘सुत्केरी भएको समयमा थप पोषिलो खाने कुराको आवश्यकता पर्ने भएकाले यो विषयमा जानकारी दिन कोसेलीले महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ।’

घरमा हुने सुत्केरीलाई शून्य बनाउने, आमा र बच्चाको स्वास्थ्य पोषणमा सुधार ल्याउने, आमा र बच्चाको स्वास्थ्यका विषयमा घरपरिवारका सदस्यलाई जागरुक गराउने उद्देश्यसहित ‘उपमेयरको कोसेली’ वितरण गरिएको दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले बताइन्।

उनले भनिन्, ‘आमा र बच्चाको स्वास्थ्य र पोषणमा सुधार ल्याउन सुत्केरीलाई कोसेली दिन्छौं। नगरपालिकाले वितरण गरेको कोसेलीबाट घरपरिवारका सदस्यहरू पनि जागरुक होऊन् भनेर हामीले यो कार्यक्रम सञ्चालन गरेका हौं।’ 

नगरपालिकाभरी ४ सयभन्दा बढी सुत्केरीलाई यो वर्ष ‘उपमेयरको कोसेली’वितरण भइरहेको छ। सुत्केरीलाई कोसेली वितरणका लागि नगरभित्रका १३ ओटा स्वास्थ्य संस्थामा कोसेली पुर्‍याइएको छ।

‘उपमेयरको कोसेली’ भित्र हर्लिक्स, काजु, बदाम, दाल र नुन लगायतका खाद्य सामग्रीका साथै सरसफाइका सामग्री राखिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.